१३ बैशाख २०८१, बिहीबार

अतिक्रमण हटाउन संयुक्त अभियान



कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सरकारी जग्गामा भइरहेको अतिक्रमण खाली गर्न माग गर्दै प्रमुख राजनीतिक दलका भातृ संगठनहरूले संयुक्त अभियान थालेका छन् ।
महेन्द्रनगर नगर विकास समितिको जग्गामा प्रक्रिया मिचेर अवैधानिक तरिकाले निर्माण कार्य भइरहेको भन्दै भातृ संगठनहरूले संयुक्त अभियान अघि बढाइएको जनाइएको छ ।
उनीहरूले नगर विकास समितिका पदाधिकारीले लिजका नाममा अवैधानिक तरिकाले सरकारी जग्गा बेचेको भन्दै त्यसलाई खारेजीको माग समेत गरेका छन् ।
नगर विकासको जमिनमा अवैधानिक तरिकाले निर्माण भएका भवनहरूमा रातो रंगको चिन्ह लगाएर अतिक्रमणविरुद्ध सांकेतिक आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीका नेता चन्द्रकान्त भट्टले बताए । उनले नगर विकास समितिका केही व्यक्तिले मनोमानि ढंगले सरकारी जग्गा आफ्ना र केही व्यक्तिका नाममा राखेको भन्दै प्रक्रिया मिचेर गरिएका सम्झौता र खरिद बिक्री खारेज हुनुपर्ने बताए ।
यस्तै, नगर विकास समितिले प्रक्रिया मिचेर लिजका नाममा जग्गा दिएको र त्यसरी भइरहेका निर्माणलाई रोक्न तथा सरकारी जग्गा खाली गर्नका लागि आफूहरूले संयुक्त रूपमा अभियान थालेको युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले बताए ।
उनले यस्ता अवैधानिक अतिक्रमणलाई हटाउन सरकारलाई दवाव दिन आफूहरूले सांकेतिक आन्दोलन स्वरुप त्यस्ता घरहरूमा रातो चिन्ह लगाएको बताए । सरकारी जग्गामा भएको अतिक्रमण हटाउन सरकारले कुनै पहल नगरे आफूहरूले नै त्यस्ता घरहरू भत्काउने नेपाल तरुण दलका नेता महेन्द्र खड्काले बताए ।
यता, अवैधानिक तरिकाले बनेका घरहरू भत्काउन सरकारले वैधानिक बाटो देखाएर टार्न खोजेको भन्दै उनीहरूले जनाएका छन् । यसअघि, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समेत एक महिनाभित्र अवैधानिक तरिकाले बनेका भवन भत्काउन पुस ९ गते आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार