७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यकर्मीको समायोजन स्वेच्छिक गर्न माग



धनगढी । स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूले समायोजन स्वेच्छिक हुनुपर्ने माग गरेका छन् ।
कर्मचारी समायोजन अध्यादेश–२०७५ बारे स्थानीय तहका स्वास्थ्य संयोजकहरूको बैठकले समायोजन स्वेच्छिक हुन नसकेको जनाएको छ । उनीहरूले समायोजन गर्दा स्वतः एक तह बढुवा दिनुपर्ने पनि माग गरेका छन् ।
“कर्मचारी समायोजन अध्यादेश–२०७५’ को उपदफा (५) मा कर्मचारी समायोजन गर्दा तहगत दरबन्दी सृजना गर्नुपर्ने साथै दफा ७ को उपदफा ८ मा सेवाको तहमा समायोजन गर्दा सम्बन्धीत तहमा समायोजन गर्ने व्यवस्था रहेको छ” टीकापुर नगरपालिकाका स्वास्थ्य संयोजक बलबहादुर रावलले भने– “तर, त्यो अनुसार काम भएको छैन । उनले स्वास्थ्य सेवाको सबै तहमा तहगत दरबन्दी सिर्जना गरी समायोजन गर्न माग गरे ।”
यस्तै संघ, प्रदेश र स्थानीय तहका कर्मचारी शर्त, सेवा, सुविधा सम्बन्धी ऐन, कानून बनेपछि मात्र कर्मचारी समायोजन गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।
उनीहरूले स्थानीय र प्रदेशमा समायोजन भएका सम्पूर्ण स्वास्थ्यकर्मीको वृतिविकास तथा सरुवा गर्दा संघमा पनि प्रवेश गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
बैठकमा कैलालीका १३ वटै स्थानीय तहका स्वास्थ्य संयोजक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार