१३ बैशाख २०८१, बिहीबार

निर्माण भएको दुई सातामै कालोपत्रे भत्कियो



धनगढी । गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित सरस्वती माध्यामिक विद्यालय र गेटा आँखा अस्पताल जोड्ने सडक कालोपत्रे गरिएको दुई साता नपुग्दै भत्किएको छ ।
सरस्वती मावि र गेटा आँखा अस्पताल जोड्ने सडकखण्ड अन्तर्गत पुसको पहिलो साता तीन सय ६० मिटर सडक कालोपत्रे गरिएको थियो । स्थानीयका अनुसार विनोद कन्ट्रक्सन प्रालिले १८ लाख ९८ हजार चार सय २० रुपैंयाँको लागतमा सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो ।
सडक पूर्णरूपमा निर्माण नहुँदै भत्किन थालेपछि स्थानीय आक्रोसित बनेका छन् । सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको हु“दा सडक भत्किएको स्थानीयको आरोप छ । स्थानीयको आरोप छ– गोदावरी नगरपालिका प्रमुख, कर्मचारी र ठेकेदारको मिलेमतोमा सडकको गुणस्तर खस्केको हो । स्थानीय हेमराज खत्रीले सडक निर्माण हुने क्रममा नै स्थानीयले गुणस्तरीय काम नभएको भन्दै विरोध गरे पनि कर्मचारीले वेवास्ता गरेको बताए ।
स्थानीय पुस्करबहादुर बिष्टले जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीले कमिसन खाएर सडकको गुणस्तरमा ध्यान नदिएको आरोप लगाए । उनले ठेकदारले पहिलेदेखि सडकमा रहेको ग्राभेल खनेर गिट्टी नै प्रयोग नगरी त्यसमाथि कालोपत्रे गरिएको बताए । उनले भने– “नगरपालिकाका इन्जिनियरलाई पटकपटक गुणस्तरहीन निर्माण प्रयोग भइरहेको बारे जानकारी गराउ“दा उल्टै धम्काए ।”
चिसो मौसममा सडक कालोपत्रे गर्न प्राविधिक रूपमा उपयुक्त नहुने भए पनि नगरपालिकाका नगर प्रमुख, प्राविधिक र ठेकदारले त्यसलाई पनि ध्यान नदिएको स्थानीयले बताए । कर्मचारीको चरम लापरवाहीका कारण सडकको दुर्दशा बनेको स्थानीयको आरोप छ ।
स्थानीयले ठेकेदारले कालोपत्रेमाथि पुनः कालोपत्रे गर्दै गुणस्तरहीन काम गरेको भन्दै स्थानीयको तीब्र विरोध भएपछि ठेकदारले फेरि पिच गर्न थालेका छन् । स्थानीयले सो सडकखण्ड पुनः निर्माण हुनुपर्ने माग गरेका छन् । सडक पुनः निर्माण नभए गोदावारी नगरपालिका घेराउ गर्ने स्थानीयले चेतावनी समेत दिएका छन् ।
गोदावारी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउँदले पनि सडकको गुणस्तर खस्केको स्वीकारे । उनले तापक्रम पर्याप्त नहुँदा कालोपत्रेमा प्रयोग हुने निर्माण सामग्री सेट नभएर पिच फुटेको हुनसक्ने उनले बताए । नगर प्रमुख साउ“दले एक वर्षसम्म सडकको जिम्मा ठेकदार कै हुने भएकाले सो समयमा बिग्रेभत्केमा भुक्तानी रोक्का गर्ने बताए ।
सडक निर्माणमा जसको कमजोरी छ उसैबाट ब्यहोर्न लाउने भन्दै नगर प्रमुख साउँदले मापदण्ड बिपरित बनेको सडकलाई मापदण्ड अनुसार बनाउन लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार