७ बैशाख २०८१, शुक्रबार

शिखरको नगर बस सेवा शुरु



डोटी । डोटीको शिखर नगरपालिकाले नगर बस सेवा शुरु गरेको छ । नगरपालिकाले आईतबारबाट शुरु भएको बस सेवाको नगर प्रमूख सीताराम जोशीले उद्घाटन गरे । नगरपालिकाले तत्काल दुईवटा बसबाट सेवा शुरु गरेको छ ।
नगर प्रमूख जोशीले नगरबासीबाट सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सास्ती भोग्नुपरेको तीब्र गुनासो आएकाले बस सेवा शुरु गरिएको बताए । उनले भने– सार्वजनिक यातायातले स्थानीयलाई राम्रो सेवा दिन नसकेको जनगुनासो बढेको छ । त्यसैले नगर सभाका सदस्यहरूको सरसल्लाहमा नगर सेवा शुरु गरेका छौं ।
शिखर नगरपालिकादेखि जिल्ला सदरमुकामसम्म बस सेवा सञ्चालन हुने जनाइएको छ । नगर बसले अहिले डोटी र डडेल्धुराको सीमाना कोरालखोलादेखि डोटी जिल्ला सदरमुकाम सिलगढीसम्म यातायात सेवा दिने जनाएको छ । “हाल राजमार्ग एरियामै नगर बस चल्छन्” नगरपालिका उपमेयर धौलीदेवी रावलले भनिन्– “केही समय मै अरु शाखा सडकहरुको स्तरोन्नती भएपछि त्यहाँ पनि चलाउने गरी योजना बनाएका छौं ।”
नगरवस सेवाको भाडा पनि सार्वजनिक यातायातभन्दा सस्तो बनाईने नगर प्रमूख जोशीले बताए । उनले नगर बस सञ्चालन कार्यबिधि बनाएर सावजनिक यातायातको भन्दा २० देखि ३० प्रतिशत कम भाडा सहुलियतमा सेवा सञ्चालन गरिने बताए ।
बस सेवाबाट उठ्ने राजस्वलाई चुस्त राख्न दैनिक हिसाबकिताब राख्ने प्रणाली पनि बनाइएको नगर प्रमूख जोशीले बताए । नियमित अनुगमन हुन्छ । बिना टिकट कोही यात्रु यात्रा गर्ने छैनन् । दैनिक आम्दानी नगरपालिकाको लेखा सहायकले लिनेछन । जसलाई नगरबसको छुट्टै खातामा जम्मा गरिने छ उनले भने ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडीले पहाडी रुटमा चल्न उपयुक्त मोडेलका बस सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार २८ लाख ३० हजार रुपैयाँका दरले ५६ लाख ६० हजार रुपैयाँमा दुई वटा बस खरिद गरिएको छ ।
यसअघि डोटीकै दिपायल सिलगढी नगरपालिकाले पनि नगर बस सेवा शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार