१५ चैत्र २०८०, बिहीबार

छाउपडी प्रथा उन्मुलन अभियानमा धामीझाँक्री



लम्की । सामाजिक, धार्मिक अगुवाका रूपमा रहेका धामीझाँक्री तथा पण्डित, पुरोहितहरू छाउपडी प्रथा उन्मुलन अभियानमा अग्रसर भएका छन् । शुक्रबार लम्कीचुहा नगरपालिकाले आयोजना गरेको एक अन्तरक्रियामा धामीझा“क्री तथा पण्डित, पुरोहितहरूले छाउपडी प्रथा उन्मुलन गर्ने अभियानको अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अन्तरक्रियामा सहभागी पण्डित मदनराज उपाध्यायले छाउपडी प्रथा उन्मुलन गर्ने अभियानको अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने– “वेद, पुराण, गीता सहितका हिन्दू वेदशास्त्रमा छाउपडी प्रथा मान्नु भनेर उल्ल्ेख छैन । यो हामी आफैंले बनाएको कुप्रथा हो ।”
पण्डित मदनराजले आफ्नो घरमा छाउगोठ नरहेको र अरूलाई पनि यो प्रथाको अन्त्यका लागि आग्रह गरिरहेको बताए ।
अर्का सहभागी लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ५५ वर्षीय पण्डित पूर्णप्रसाद बजगाईंले समाजमा परिवर्तन ल्याउन सबै खालका विभेद विरुद्ध आवाज उठाएर अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले भने– “मैले नै अगुवाई गरेर गत जेठ १५ गते शान्तिटोलमा छाउगोठ भत्काएर छाउगोठमुक्त घोषणा ग¥यौं ।” कार्यक्रममा सहभागी लम्कीचुहा वडा नम्बर ७ खरौलाका ७५ वर्षीय भगत सोलारी दास महन्तले पहाडे समुदायले मान्दै आएको छाउपडी प्रथाबारे सुन्दा नराम्रो लाग्ने गरेको बताए । “यो चलन राम्रो होइन । यही कुप्रथाका कारण महिलाहरूले धेरै समस्या भोग्नु परेको छ” उनले भने– “हामी सबै एउटै मान्छे हौं । हामी थारू समुदायमा यसलाई मान्दैनौं । हामीलाई देउता पनि लागेको छैन, पहाडे समुदायलाई मात्रै देउता लाग्छ भन्ने सत्य हुन सक्दैन ।”
लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का ५२ वर्षीया तुल्सी थापाले रजस्वला भएको बेला सात दिनसम्म बाहिरै बस्नु परेको अनुभव सुनाइन् । “घरको आँगनमा देउताको थान छ । रजस्वला भएको बेला लसपस भए देवता रिसाउने र बिरामी हुने गरेकी छु” उनले पाँच वर्षदेखि ज्योतिष सम्बन्धी काम गरिरहेको र यो अवधिमा पा“च हजार बढी मानिस आएको बताइन् । उनले काम्ने, बर्रबराउने, भूतप्रेत लागेको र देवता लागेको बिरामीलाई उपचार गरी निको भएको दावी गरिन् । तुल्सीले छाउपडी प्रथा उन्मूलन गर्ने अभियान राम्रो भए पनि विस्तारै व्यवहार परिवर्तन हुने चर्चा गरिन् ।
अन्तरक्रियामा लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई र उपप्रमुख टिकादेवी थापाले छाउपडी प्रथा उन्मुलन गर्न धामीझाँक्री ज्योतिष, पण्डित, पुरोहितहरूले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने चर्चा गरे ।
कार्यक्रममा उल्लेख्य संख्यामा धामी, झाँक्री, ज्योतिष, पण्डित, गुरुवा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार