१५ चैत्र २०८०, बिहीबार

खप्तड गोल्डकप : मुख्य प्रायोजकको टुंगो लाग्यो



धनगढी । मोफसलको सर्वाधिक धनराशि पुरस्कार रहेको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजकको टुंगो लागेको छ ।तेस्रो खप्तड गोल्डकपको सिजी ब्रुअरीको नेपाल आइसले नै मुख्य प्रायोजन गर्ने छ । खप्तड गोल्डकपका यसअघिका दुई वटै संस्करणको पनि नेपाल आइसले नै मुख्य प्रायोजन गरेको थियो ।
शनिबार धनगढीमा एक संक्षिप्त कार्यक्रमबीच खप्तड गोल्डकपको आयोजक सुदूरपश्चिम–११ स्पोट्स क्लव र नेपाल आइसबीच मुख्य प्रायोजकको सम्झौता भएको छ । अब प्रतियोगिताको नाम नेपाल आइस तेस्र्रो सुदूरपश्चिम खप्तड गोल्डकप रहने जनाइएको छ । सम्झौतापत्रमा आयोजक क्लवका अध्यक्ष सुरेश हमाल र सिजी ब्रुअरीको सिनियर जनरल म्यानेजर प्रदीप पुडासैनीले हस्ताक्षर गरे ।
अध्यक्ष हमालका अनुसार प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । तेस्रो खप्तड गोल्डकपमा रुस्लान थ्री स्टार क्लव, नेपाल पुलिस क्लव, सिएमजी क्लव, संकटा, काँकडभित्ता ट्रेनिङ सेन्टर झापा, एपिएफ क्लव, च्यासल युथ क्लव र सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवले भाग लिने छन् । त्यस्तै, तेस्रो खप्तड गोल्डकपमा भारतको दिल्ली युनाइटेड पनि सहभागी बन्नेछ ।
आयोजक क्लवका महासचिव प्रकाश शाहीले मनाङमस्र्याङ्गदीको सहभागिता केही दिनमा नै टुंगो लाग्ने बताए ।
तेस्रो खप्तड गोल्डकपमा विजेताले २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ भने उपविजेताले १० लाख रुपैयाँ पाउने छ ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पुरस्कार पाउनेछन् । भने हरेक विधामा उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनमा एक करोड ४० लाख रुपैयाँ खर्च हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार