१३ बैशाख २०८१, बिहीबार

फेरि नेपाली भूमि अतिक्रमण (भिडियो सहित)



पुनर्बास । कञ्चनपुरको पुनर्बास भारतीय पक्षले फेरि नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ९ मा रहेको ३२ विघा नेपाली भूमि र प्यारा ताल अतिक्रमण गरेको छ । सो भूमिका वर्षैदेखि नेपालीहरूले भोगचलन गर्दै आएका छन् ।

१९४ नम्बर पिलर नजिक जंगली जनावरबाट बाली जोगाउन विछाउन लागेको विद्युतीय धरापको पोल भारतीय सीमा सुरक्षा बलले भाँचिदिएको अवस्थामा ।

भारतीय सुरक्षाकर्मीले गरेको रोकका कारण स्थानीयले आफ्नो जमीनमा बाली लगाउन पाएका छैनन् भने सरकारले जंगली जनावरबाट बाली जोगाउन बिच्छाएको विद्युतीय धराप समेत विस्तार गर्न पाएको छैन ।
स्थानीय तथा नेपाली कांग्रेस पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडा सभापति जयबहादुर सुनारले भारतीय प्रहरीले स्थानीयलाई १९४ देखि १९७ नम्बर पिलर बीचको जमीन आफ्नो भन्दै स्थानीयलाई भोगचलन गर्न नदिएको बताए । नेता सुनारले १९५ र १९६ नम्बर पिलरलाई भारतीय प्रहरीले नेपाल तिर सार्न खोजेको बताए ।

उनले १९५ नम्बरको पिलर खोलापारी र १९६ नम्बरको पिलर जंगलमा रहे पनि भारतीय सुरक्षाकर्मीले नेपालीले भोगचलन गर्दै आएको जमीन भारतको रहेको दावी गर्दै आएको बताए । उनले बाली जोगाउनका लागि आफूहरुले विद्युतीय धराप १९४ नम्बर पिलरसम्म मात्रै बिच्छाउन पाएको बताए ।
सो विद्युतीय धराप बिच्छाइरहेको बेला भारतीय सीमा सुरक्षा बलले १९४ नम्बर पिलर भन्दा अगाडि गाडेको पोल उखेलेर फान्नुका साथै भत्काएको बताइएको छ । भारतीय प्रहरीले हस्तक्षेप गरेपछि किसानहरुले बाली लगाउन नपाउदा सीमा नजीकको जमीन जोतेर खाली छोडिएको छ ।

नेपाल भारत सीमाको पुनर्वास–९ मा पर्ने सीमाना पिलर नम्बर १९४ ।

पुनर्वास नगरपालिका वडा नम्बर ९ का हरि शर्मा जैशीले २०४५/०४६ सम्म प्याराताल नेपालको एकलौटी भए पनि त्यसपछि भारतीयले हस्तक्षेप गरेर आधा ताल अतिक्रमण गरेको बताए । उनले अहिले आएर भारतीय सीमा सुरक्षा बलले पुरै प्यारा ताल आफ्नो भनि दावी गरिरहेको बताए । उनले भारतीय प्रहरीले नेपालीलाई माछा मार्न समेत नदिने गरेको बताए ।
सरकारले सीमाबारे कुनै चासो नलिएको स्थानीयको गुनासो छ । स्थानीयले सरकारले कुनै चासो नदिए पछि आफूहरुले सीमानाका बारेमा बारम्बार भारतीय प्रहरीसंग लड्ने गरेको बताए ।

भारतीय दुधुवा नेशनल पार्कबाट आउने जंगली जनावर रोक्न पुनर्वास–९ मा विछाएको विद्युतीय धराप ।

पुनर्वास–९ का दलबहादुरले नेपाली सीमा सुरक्षा बल सीमाना नजीक नबसी शहर नजीक बस्ने गर्नाले बारम्बार सीमा समस्या बल्झिने गरेको बताए । उनले सीमाको विषयलाई लिएर भारतीय प्रहरीले आफूहरुलाई निरन्तर दुःख दिइरहेको बताए ।
केहि महिना पहिले भारतीय प्रहरीले नेपाललाई जानकारी नै नदिएर दशगजा क्षेत्रमा नाली खनेको थियो । स्थानीयले विरोध जनाएपछि भारतीय पक्षले नाली खन्ने काम बन्द गरेको थियो । त्यसैगरी, २०७३ फागुनमा पुनर्वास वडा नम्बर ४, आनन्द बजारमा भारतीयले सीमा मिचेको विरोध गरिरहेका स्थानीय मध्ये गोविन्द गौतमलाई भारतीय प्रहरीले गोली हानी हत्या गरेको थियो ।
भारतीय सीमा सुरक्षा बलले सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न गएका नेपालीलाई पनि दुःख दिने गरेको छ । पुनर्वासका बासिन्दाहरु चिनी, नुन, तेल, कपडा लगायतका सामान किन्न नजीकैको भारतीय बजारमा जाने गरेको छन् । सामान किन्न जानेलाई भारतीय प्रहरीले पैसा माग्ने, पिट्ने, मोटरसाइकलको लाइसेन्स लिइ दिने गरेको पुनर्वास–९ दलबहादुरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार