१६ चैत्र २०८०, शुक्रबार

सरकारसँग दम्भ मात्रै छ, नविन योजना छैनन्– महामन्त्री कोइराला



कञ्चनपुर । नेपाली काँग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले केपी शर्माओली नेतृत्वको वर्तमान सरकारसँग दुई तिहाईको दम्भ मात्रै रहेको टिप्पणी गरेका छन् । उनले सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको पनि टिप्पणी गरे । “वर्तमान सरकारले जनता र राष्ट्रको हितमा केही पनि उल्लेख्य काम गर्न सकेको छैन” कञ्चनपुरको बेलौरीमा शुक्रबार आयोजित नेपाली काँंग्रेसको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै महामन्त्री डाक्टर कोइरालाले भने– “यो सरकारमा दुई तिहाईको दम्भ मात्रै छ, जनता र राष्ट्रको समृद्धिका लागि कुनै नविन तथा ठोस योजना छैनन् ।” महामन्त्री कोइरालाले अहिले सञ्चालनमा रहेका विकास आयोजनाहरू पूर्ववर्ती काँग्रेस सरकारले नै सञ्चालन गरेको दावी गरे ।
महामन्त्री कोइरालाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषिहरूलाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाए । उनले भने– “बालिका निर्मलाका हत्यारालाई अहिलेसम्म पक्राउ नगर्नुुले नै वर्तमान सरकार नै हत्याराको संरक्षणमा लागेको पुष्टि हुन्छ ।”
“यो सरकार नै अपराधीलाई छेकिरहेको छ । यसैबाट सरकार नै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यो घटनाका दोषिलाई संरक्षण गरिरहेको पुष्टि हुन्छ” उनले भने । महामन्त्री कोइरालाले नेता र कार्यकर्ताहरूबीच एकता भएमा काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताए । भने– “काँग्रेस एकतावद्ध भएमा कुनै पनि शक्तिले पराजित गर्न सक्दैन । त्यसैले काँग्रेसका हरेक कार्यकर्तामाथि पार्टीलाई एकतावद्ध बनाउन अग्रसर हुनु आवश्यक छ ।”
उनले कार्यकर्ताहरूसँग आह्वान गरे– “हामी सबै एकतावद्ध भएरे नै हाम्रो गन्तव्यमा पुग्नेछौं । त्यसका लागि तपाईंहरूले नै पार्टीलाई एकढिक्का र बलियो बनाउन मलजल गर्नुपर्दछ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार