८ बैशाख २०८१, शनिबार

चौथो फारवेष्ट पशुपति कप : उपाधिका लागि फारवेष्ट र पिएफए अत्तरिया भिड्दै



धनगढी । चौथो फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको उपाधिका लागि फारवेष्ट पशुपति युवा क्लव र पिएफए अत्तरियाबीच भिडन्त हुने भएको छ । आज धनगढी क्षेत्रीय रंगशालामा भएको सेमिफाइनल खेलमा जीत हात पार्दै आयोजक फारवेष्ट पशुपति युवा क्लव र पिएफए अत्तरिया फाइनलमा प्रवेश गरेका छन् । उपाधिका लागि फाइनल खेल भोलि (शनिबार) धनगढी रंगशालामा हुने भएको छ ।
यी दुवै टोली उपाधिका लागि दोस्रो पटक एकअर्काको सामने उभिएका छन् । गत वर्ष फारवेष्ट पशुपति युवा क्लवले उपाधि जितेको थियो ।
शुक्रबार भएको पहिलो सेमिफइनल खेलमा नाज ओभरसिज पिएफए अत्तरियाले बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिम–११ स्पोटर््स क्लवलाई २–१ गोल अन्तरले पराजित गर्‍यो ।
निकै प्रतिस्पर्धी तथा रोमाञ्चक खेलमा पिएफ अत्तरियाका आशिष श्रेष्ठले दुई गोल गरेका थिए ।
खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको २७ औं मिनेटमा आशिषले गोल गर्दै टिमलाई १–० ले अग्रता दिलाए । तर, त्यसको आठ मिनेटपछि सुदूरपश्चिम–११ ले गोल फर्काउँदै खेल बराबरीमा ल्यायो । सुदूरपश्चिम–११ का चेत चौधरीले दोस्रो हाफको ३३ औं मिनेटमा गोल गरेका थिए । खेलको दोस्रो हाफको ३५ औं मिनेटमा आशिषले गरेको दोस्रो गोलले पिएफएलाई फाइनलमा पुर्‍यायो । उनी नै खेलको म्यान अफ द म्याच बने ।
शुक्रबार नै भएको दोस्रो सेमिफाईनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लवले प्रतियोगिताको बलियो दावेदार मानिएको सहारा युवा क्लव, पहलमानपुरलाई सून्यका विरुद्ध एक गोलले हरायो । खेलको एक मात्र निर्णायक गोल फारवेष्ट पशुपति कमल देउवाले गरेका थिए । उनी खेलको म्यान अफ द म्याच भए ।
फारवेष्ट पशुपति युवा क्लवद्वारा आयोजित प्रतियोगिता मंसिर २९ गतेबाट सञ्चालन भएको छ । प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
त्यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजले १५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार