७ बैशाख २०८१, शुक्रबार

हरेक व्यक्तिलाई योगाभ्यास गर्न प्रेरणा दिनु आवश्यक– मन्त्री सुवेदी



धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले हरेक मान्छेलाई योगाभ्यास गर्न प्रेरणा दिनुपर्ने बताएका छन् ।
“सामान्य टाउको वा पेट दुख्यो भने पनि मान्छेले औषधि सेवन गर्ने गर्दछन्” बिहीबार सामाजिक विकास मन्त्रालयको आयोजनामा धनगढीमा सञ्चालन भएको आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योग सम्बन्धी तालिम प्याकेज तथा सञ्चालन कार्यक्रमको समापनमा सामाजिक विकास मन्त्री सुवेदीले भने– “यी सामान्य रोग योग गरेमा ठिक हुन्छ भन्ने जनचेतना फैलाउन जरुरी भइसकेको छ ।”उनले आफूले पहिलो पटक योग गर्दा आनन्द मिलेको अनुभव सुनाउँदै भने– “योगले मेरो बानी, व्यवहारमा परिवर्तन ल्याएको छ ।”
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले मन्त्रालयमा एउटा ध्यान केन्द्र स्थापना गर्ने योजना रहेको बताए । उनले प्रदेशका नागरिकलाई योग गर्ने बानीको विकास गरेर स्वास्थ्य क्षेत्रमा नमुना प्रदेश बनाउने योजनाका साथ काम भइरहेको चर्चा गरे ।
मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कडेलको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योगपिठका गुरु लवदेव मिश्र, धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक खगेन्द्र बम, मन्त्रालयका आयुर्वेद महाशाखा प्रमुख डाक्टर चेतराज जोशी, ब्रहमदेव आयुर्वेद औषधालयका प्रमुख मोहनसिंह सुनार लगायतले आयुर्वेदिक औषधि तथा योगको महत्त्वबारे जानकारी गराएका थिए ।
सोमबारदेखि शुरु भएको तालिममा प्रदेशका आयुर्वेदिक औषधालयमा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार