१५ चैत्र २०८०, बिहीबार

चौथो फारवेष्ट पशुपति कप : पिएफए अत्तरिया र फारवेष्ट अन्तिम चारमा



धनगढी । धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिता अन्तर्गत सेमिफाईनल समिकरण पुरा भएको छ ।
धनगढी क्षेत्रीय रंगशालामा बिहीबार भएका दुई खेलको नतिजापछि सेमिफाईनल समिकरण पुरा भएको छ । बिहीबारको खेलमा पिएफए अत्तरिया र आयोजक फारवेष्ट पशुपति युवा क्लव अन्तिम चारमा प्रवेश गरेका छन् ।
बिहीबारको पहिलो खेलमा पिएफए अत्तरियाले मनकामना युवा क्लव जुगेडालाई सून्यका विरुद्ध एक गोलले हरायो ।
खेलको पहिलो हाफको १२ औं मिनेटमा पिएफए अत्तरियाका आशिष श्रेष्ठले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । सो खेलको म्यान अफ द म्याच मनकामना युवा क्लवका अञ्जन थापा बने ।
बिहीबार नै भएको दोस्रो खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लवले नमोबुद्ध युवा क्लवलाई ३–२ गोल अन्तरले हरायो ।
खेलको पहिलो हाफको २२ औं मिनेटमा नमोबुद्धका सन्तोष थापाले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । तर, ३२ औं मिनेटमा फारवेष्टका कुवेर सिंहले गोल गर्दै बराबरीमा ल्याए ।
पहिलो हाफ एक–एक गोलको बराबरीमा रहेको अवस्थामा दोस्रो हाफको दोस्रो मिनेटमा नमोबुद्धका जनक बमले गोल गर्दै आफ्नो टिमलाई २–१ ले अग्रता दिलाए ।
दोस्रो हाफको १२ औं मिनेटमा फारवेष्टका चेतन कठायतले गोल गरेर खेल २–२ को बराबरीमा ल्याए । दोस्रो हाफकै २८ औं मिनेटमा महेश चन्दले गोल गर्दै फारवेष्टलाई सेमिफाईनलसम्म पुराए । खेलको म्यान अफ द म्याच भने नमोबुद्धका गोलरक्षक अभि बिसी बने ।
यसअघि सहारा युवा क्लव पहमानपुर र सुदूरपश्चिम–११ सेमिफाईनल पुगिसकेका छन् ।
प्रतियोगिता अन्तर्गत भोलि (शुक्रबार) दुवै सेमिफाईनलका खेल हुने जनाइएको छ ।
भोलिको पहिलो सेमिफाईनल पिएफए अत्तरिया र सुदूरपश्चिम–११ बीच हुने छ भने दोस्रो सेमिफाईनलमा सहारा युवा क्लव पहलमानपुर र आयोजक फारवेष्ट पशुपति युवा क्लव भिड्ने छन् ।
प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार