१२ बैशाख २०८१, बुधबार

पतञ्जली योग साधना केन्द्र विस्तार



टीकापुर । कैलालीको टीकापुरमा पतञ्जली योग साधना केन्द्र विस्तार गरिएको छ । पतञ्जली योग नगर समिति टीकापुरका योग प्रशिक्षकहरूले नियमित रूपमा प्रशिक्षण दिने गरी योग साधना केन्द्र विस्तार गरिएको पतञ्जली योग नगर समिति टीकापुरका महामन्त्रि छबिलाल जैशीले बताए ।
टीकापुर नगरपालिका वडा नम्बर १ व्लक नम्बर ३३ मा कैलाली होटल व्यावसायी संघले निर्माण गरिरहेको पर्यटन सूचना केन्द्र भवनको हलमा साधना केन्द्र विधिवत रूपमा सञ्चालनमा आएको छ ।
योग साधना केन्द्रलाई व्यवस्थित गर्नको लागि कल्पना जैशीको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । समितिका सदस्यहरूमा नृपराज भण्डारी र निर्मला धमाला रहेका छन् ।
मातृभूमि सेवा जागरण समाज र कैलाली होटल व्यावसायी संघको समेत सहयोग रहने गरी साधना केन्द्र स्थापना गरिएको पतञ्जली योग नगर समिति टीकापुरका अध्यक्ष वाशुदेव बजगाईले बताए ।
पतञ्जली योग साधना केन्द्रहरू टीकापुरका अन्य विभिन्न स्थानमा समेत नियमित रूपमा सञ्चालनमा रहेका छन् ।
योग साधना केन्द्र स्थापना भएपछि सो क्षेत्रका स्थानीयहरूलाई सहज भएको कैलाली होटल व्यावसायी संघका निवर्तमान अध्यक्ष वीरमञ्जन बटालाले बताए ।
केन्द्रमा हाल २५/३० जना योग साधकहरूले हरेक दिन बिहान ५ देखि साढे ६ बजेसम्म नियमित रूपमा योग साधना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार