७ बैशाख २०८१, शुक्रबार

गाउँपालिकामा आर्थिक अनियमिता बढ्यो– जनप्रतिनिधिहरू



धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका उपाध्यक्ष लगायतका केही जनप्रतिनिधिले सो गाउँपालिकामा आर्थिक अनियमितता बढ्दै गएको बताएका छन् ।
मोहन्याल गाउँपालिका उपाध्यक्ष पूजादेवी बुढामगर, कार्यपालिका सदस्य विशाल पहराई लगायतले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै गाउँपालिका नेतृत्वले विधि तथा प्रक्रिया मिचेर काम गरिरहेको आरोप लगाए ।
“संवैधानिक विधि अनुसार गाउँपालिकाले बजेट निर्माण गर्दा वा खर्च गर्दा बजेटको विवरण सार्वजनिक सुनुवाइमार्फत सार्वजनिक गर्नुपर्छ” गाउँपालिका उपाध्यक्ष बुढामगरले भनिन्– “तर, गाउँपालिकाले आर्थिक वर्ष ०७४/०७५ मा विनियोजित बजेटको अहिलेसम्म सार्वजनिक सुनुवाई समेत गरेको छैन ।”
उनले गाउँपालिका नेतृत्वले आर्थिक अनुशासनप्रति चासो नदिएको आरोप लगाइन् । उनले कार्यपालिका सदस्यहरूले ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएको गुनासो गरिन् ।
उनका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा विनियोजित बजेटबाट छनौट भएका योजनाहरूको अनुगमनसमेत गर्न दिइएको छैन । “एक पटक केही सडकको अनुगमन गर्न गएकी थिए” उनले भनिन्, “बाँकी योजनाहरूको अनुगमन गर्छु भन्दा नेतृत्वबाट आलटाल गरियो । उपाध्यक्ष बुढामगरका अनुसार गाउँपालिकाले अनुगमनका नाममा ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा २० लाख खर्च भएको देखाएको बताइन् ।” “एक पटक मात्र अनुगमन गर्दा यति ठुलो रकम कसरी खर्च भयो ?” उनले प्रश्न गरिन् ।
उनले गाउँपालिका अध्यक्ष नवलसिंह रावल, प्रशासकीय अधिकृत गणेशदत्त ओझा र केही वडा अध्यक्षहरूको मिलेमतोमा गाउँपालिकाका योजनाहरूमा अनियमितता भइरहेको आरोप लगाइन् । उनले वडाध्यक्षले उपभोक्ता समिति बनाएको, तर भुक्तानी गर्दा फर्जी विलहरू पेस गरेको पनि पाइएको दावी गरिन् ।
कार्यपालिका सदस्य पहराइका अनुसार सामुदायिक सिंचाई आयोजना अन्तर्गत सञ्चालन भएको योजनामा उपभोक्ता समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडाध्यक्षले मजदूरलाई भुक्तानी नगरेको, स्वयम्सेविकालाई सञ्चार खर्चमध्ये ६० हजार रुपैयाँको योजनामा १२ वटा एक हजार आठ सय रुपैयाँ मूल्यका मोबाइल वितरण गरी आर्थिक अनियमितता गरेको, चेलीबेटी तथा बृद्धवृद्धा न्यानो कार्यक्रममा ५० हजार रुपैयाँको शल वितरण गरी ११ हजार रुपैयाँ हिनामिना गरेको, शान्तिपुर गाउँघर क्लिनिक नगराएरै रकम निकासा गरिएको छ ।

अहिलेसम्म गाउँपालिकामा कार्यालय छैन
मोहन्याल गाउँपालिकाको कार्यालय खिमडीमा राख्ने निर्णय भएकोमा अहिलेसम्म कार्यालय स्थापना हुन नसकेको उपाध्यक्ष बुढामगरले बताइन् ।
“कार्यालय प्रमुखलाई पटक–पटक गाउँपालिका मै बस्न अनुरोध गरेका थियौ, तर उनले आलटाल गर्दै अहिलेसम्म गुपचुप रूपमा धनगढीमै कार्यालय राखेका छन्” उनले भनिन्– “कार्यालय नहुँदा काम गर्न समस्या भएको छ ।”
उपाध्यक्ष बुढामगरका अनुसार खिमडीमा चार कोठे भवन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार