८ बैशाख २०८१, शनिबार

धनगढी विमानस्थल आठ दिनका लागि बन्द हुने



धनगढी । सुदूरपश्चिम प्रदेशका सबैभन्दा ठूलो र व्यस्त धनगढी विमानस्थल आठ दिनका लागि बन्द हुँदै छ । विमानस्थलको धावनमार्ग मर्मतका लागि आठ दिनसम्म विमानस्थल बन्द हुने जनाइएको छ ।

फाइल तस्बिर

धनगढी विमानस्थल राजधानी काठमाडौंसँग सुदूरपश्चिम प्रदेशलाई हवाई यातायातमार्फत जोड्ने प्रमुख विमानस्थल हो ।
धनगढी नागरिक उड्डयन कार्यालयका प्रमुख तेजबहादुर बुढथापाका अनुसार विमानस्थलको कुल लम्बाईको दुई सय ५० मिटर धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले आठ दिनसम्म बन्द हुने छ ।
नागरिक उड्डयन कार्यालय प्रमुख बुढथापाले पुस १० गतेदेखि १७ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विमानस्थल बन्द गरेर धावनमार्ग मर्मत गरिने जानकारी दिए ।
धनगढीमा काठमाडौंबाट बुद्ध र श्री एयरलाइन्सले बिहान र साँझ गरेर दैनिक दुई/दुई वटा र नेपाल एयरलाइन्सले दैनिक एक उडान भर्दै आएका छन् ।
काठमाडौं–धनगढी–काठमाडौं रुटको हवाई उडानबाट दैकि करिब सात सय जनाले सेवा पाइरहेका छन् । बुद्ध एयरले भने हरेक दिन साँझ ६:३० बजे धनगढीबाट काठमाडौं उडान भर्ने योजना बनाएको छ । बुद्ध एयरका धनगढी शाखा प्रमुख बुधराम माझीले हरेक दिन साँझ उडान भर्ने पुष्टी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार