७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम महोत्सवमा विवाद



धनगढी । कैलालीको धनगढीमा महोत्सव सञ्चालनबारे विवाद शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीमा ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ सञ्चालन गर्ने तयारी गरेपछि व्यवसायीविच विवाद देखिएको हो । कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि सञ्चालन गर्दै आएको सुदूरपश्चिम महोत्सव यस वर्ष सदस्यता विवादले नयाँ नेतृत्व चयन गर्न ढिलाइ भएपछि संघले महोत्सव सञ्चालन गर्न सकेको थिएन् ।
सोही मौका छोपी नेपाल चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेशले धनगढीमै ‘सुन्दर सुदूरपश्चिम महोत्सव’ आयोजना गर्ने भनेपछि विवाद देखिएको हो । नेपाल चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेशले ‘समृद्ध सुदूरपश्चि प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ पौष २० गते देखि माघ २ गतेसम्म प्रथम ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ को आयोजना गर्ने तयारी थालेको छ ।
तर कैलाली उद्योग वाणिज्य संघको निर्वाचनपछि सुदूरपश्चिम महोत्सव गर्ने तयारी गरेको अवस्थामा अर्को कुनै सस्थाले महोत्सव गर्दा व्यवासायीविच विवाद बढ्ने भन्दै त्यसप्रति ध्यानाकर्षण गरिएको छ । कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमाल र नेपाल चेम्बर अफ कमर्स कैलालीका अध्यक्ष मोहन शर्माले ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ को आयोजना भए व्यवसायिक एकता भंग हुने भन्दै विज्ञप्ती मार्फत आफनो ध्यानाकर्षण भएको जनाएका छन् । अहिले अर्को संस्थाले महोत्सव आयोजना गरे व्यवसायिक हितका लागि स्थापना भएका सस्थाले नै व्यवसायी व्यवसायी विच विवाद श्रृजना हुने जारी विज्ञप्तीमा भनिएको छ ।
यस्तै विज्ञप्तीमा उद्योग वाणिज्य संघ कैलालीको निर्वाचन तत्काल सम्पन्न गरि सुदूरपश्चिम महोत्सवको मिती घोषणा गर्न माग पनि गरिएको छ । कृषि, पर्यटन उद्योग, व्यापार प्रवद्र्धन तथा विभिन्न विकास निर्माणका कार्यमा राज्यलाई दवाव दिने उद्देश्यका साथ २०६३ सालदेखि ंकैलाली उद्योग वाणिज्य संघले महोत्सव गर्न सुरु गरेको थियो ।
कैलाली उद्योग वाणिज्य संघले पनि सोही विषयमा पत्रकार सम्मेलन गर्दै चेम्बर अफ कमर्शलाई तत्काल महोत्सव नगर्न आग्रह गरेको छ ।
संघका अध्यक्ष शंकर बोगटीले भने ‘महोत्सव कैलाली उद्योग वाणिज्य संघको गरिमासंग जोडिएको विषय भएको र विभिन्न विवादका कारण नयाँ नेतृत्व चयन गर्न नसक्दा समस्या भएको छ ।’ उनले मतदाताका अन्तिम सूचि आज निस्कने र त्यसको केही दिनमा निर्वाचन मिति र महोत्सवको मिति तोक्ने बताए । उनले महोत्सव मनोरञ्जनमात्र नभइ प्रदेशको समृद्धिसंग जोडिएको बताए ।
उनले कमर्शले महोत्सव लगाए सोही दिन संघ पनि निर्वाचन मिति सारेर महोत्सव सञ्चालन गर्न पछाडि नहट्ने बताए ।
नेपाल चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेश समितिले महोत्सवको बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा छलफल पछि मात्रै महोत्सव बारे टुङगो लाग्ने जनाएको छ । प्रदेश समितिका अध्यक्ष प्रकाश साउदले सवै सरोकारवालासंगको छलफलपछि मात्रै महोत्सव बारे टुङगो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार