७ बैशाख २०८१, शुक्रबार

फारवेष्ट पशुपति कप सुरु



धनगढी । फारवेष्ट पशुपति कपको चौथो संस्करण आईतबारदेखि धनगढीमा सुरु भएको छ । प्रतियोगिता आगामी १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा जित हात पार्दै नवो बुद्ध युवा क्लब धनगढीले विजयी सुरुवात गरेको छ ।
धनगढी रंगशालामा भएको खेलमा नवो बुद्धले गौरीगंगा नगरपालिको मसुरीया फुटबल एकेडेमीलाई २–१ ले किनारा लगाएको हो । निर्धारित समयमा एक एकको बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा गोल गर्दै नवो बुद्ध दोस्रो चरणमा पुगेको हो । खेल सुरु भएको दुई मिनेटमा नै मसुरीया फुटबल एकेडेमीले खाता खोल्यो । मसुरीयाका लागि दिपेश रुम्बाको गोलबाट मसुरीयाले कायम गरेको अग्रता ६ मिनेट पनि टिक्न सकेन् । नवो बुद्धका लागि पहिलो हाफको ८ औं मिनेटमा पदक नेपालीले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा कुनै गोल नभएप्छि थप गरिएको अतिरिक्त समयको १० औ मिनेटमा नवो बुद्धका लागि सुरज महतोले गोल गर्दै आफ्नो टीमलाई दोस्रो चरणमा पुराए । उनी नै खेलको म्यान अफ द म्याच भए ।
प्रतियोगिता अन्तर्गत सोमबार तीन वटा खेल हुनेछन् । पहिलो खेलमा नवदुर्गा युवा क्लब धनगढी र घोडाघोडी युवा क्लब सुख्खड प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा मनकामना युवा क्लब जुगेडा र वनदेवी युवा क्लब तेघरी भिड्ने छन् । तेस्रो खेलमा गौरीगंगा–११ स्पोर्टस क्लब र सुदुरपश्चिमाञ्चल फुटबल एकेडेमी पुर्नवास बीच खेल हुने आयोजक फारवेष्ट पशुपति युवा क्लबका बरिष्ठ उपाध्यक्ष हरि बोहोराले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद चार र उपविजेताले नगद दुई लाख पाउनेछन् । उत्कृष्ट खेलाडीहरूले पनि नगद पुरस्कार पाउने छन् । प्रतियोगिताका तीन ओटा संस्करण धनगढीमा आयोजना भईसकेका छन् । नगद ७ लाखभन्दा वढी पुरस्कार राशीको प्रतियोगितामा ४६ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको नेकपाका सुदुरपश्चिम अध्यक्ष कर्ण थापाले उद्घाटन गरे । आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले शुभकामना मन्तव्य राखेका थिए । क्लबका सचिव ललित मिश्रले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सीताराम ओझाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार