१३ बैशाख २०८१, बिहीबार

स्थानीय परिकार प्रवर्द्धनमा ध्यान दिनु आवश्यक



धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावलले स्थानीय परिकारको प्रवर्द्धनमा ध्यान दिनु आवश्यक रहेको बताएका छन् ।“प्रदेशमा बाह्य पर्यटनलाई आकर्षित गर्न स्थानीय परिकारको प्रवर्द्धनमा ध्यान दिनु आवश्यक रहेको छ” शुक्रबार खप्तड खाजा घर पुगेका राज्यमन्त्री रावलले भने– “हामी पर्यटक आउँदा चाउचाउ, चाउमिन, मम, सेकुवा लगायतका परिकार खुवाउन खोज्छौं । यसले पर्यटकहरू सन्तुष्ट हुँदैनन् ।” उनले प्रदेशमा कोदो, फापर, आलु लगायतबाट विभिन्न परिकारहरू बन्ने भए पनि मानिसले नजान्दा त्यसको प्रवर्द्धन हुन नसकेको बताए ।
उनले खाजा घरले कोदो र आलुका विभिन्न परिकारलाई प्रवर्द्धन गरेर राम्रो गरेको बताए । उनले यसबाट अरुले पनि पाठ सिक्नु पर्ने बताए । उनले सुदूरपश्चिममा पर्यटकीय स्थलको सम्भावना रहे पनि पुर्वाधार नहुँदा पर्यटन भित्र्याउन नसकिएको बताए । “खप्तड एक चोटी गएका मानिस पुन: जान चाहदैनन् । कारण त्यहा खाने र बस्ने सुविधा छैन्” उनले भने– “खप्तडमा खाने र बस्ने व्यवस्था सहितको सुविधासम्पन्न होटल सञ्चालनमा ल्याउन सके पर्यटक भित्र्याउन सकिने छ ।” उनले प्रदेश सरकारले यस क्षेत्रका पर्यटकीय स्थलमा पर्यटकलाई सहज वातावरण बनाउन पहल गरिरहेको बताए ।
बझाङका किशोर खडकाले सञ्चालनमा ल्याएको खप्तड खाजा घरमा कोदो र आलुको अर्गानिक खाना उपलब्ध रहेका छन् । खाजाघर सञ्चालक खडकाले भने– “स्थानीय परिकारको प्रवर्द्धन गर्न धनगढीमै होटल सञ्चालनमा ल्याएको छु ।” उनका अनुसार अहिले दैनिक २५ देखि ३० जना कोदोको रोटी खाना आउने गरेका छन् । उनको खाजाघरमा प्रदेशका सभामुख अर्जुनबहादुर थापा, प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू पनि कोदोको रोटी खान पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार