७ बैशाख २०८१, शुक्रबार

खप्तड गोल्डकपको तयारी शुरु



धनगढी । खप्तड गोल्डकप फुटबल प्रतियोगिता पुसको अन्तिम सातादेखि धनगढीमा आयोजना हुने भएको छ । खप्तड गोल्डकपको यो तेस्रो संस्करण हो । यो कप मुलुककै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो ।
सुदूररपश्चिम–११, स्पोर्टस क्लवको आयोजनामा सञ्चालन हुने यो प्रतियोगिता पुस २४ गतेदेखि माघ ५ गतेसम्म चल्ने बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।यसअघि पुस २१ गतेदेखि प्रतियोगिता शुरु हुने जनाइएको थियो । आयोजक क्लवका अनुसार काठमाडौंमा जारी ‘ए’ डिभिजन लीगका कारण सुदूरपश्चिम खप्तड गोल्डकप तीन दिनपछि मात्रै शुरु हुने छ ।
त्यस्तै, ‘ए’ डिभिजन लीग जारी रहेकोले खप्तड गोल्डकपमा सहभागी बन्ने टिमको टुंगो लाग्न पनि केही ढिलाई हुने भएको छ । खप्तड गोल्डकपमा नेपालका ‘ए’ डिभिजन क्लवहरू सहभागी हुने भएका छन् ।
क्वलका अध्यक्ष सुरेश हमालका अनुसार ‘ए’ डिभिजन लीगको फाइनल खेल पुस २१ गते हुने भएकोले नेपाल फुटवल संघ (एन्फा) ले खप्तड गोल्डकपलाई पुस २४ गतेदेखि प्रतियोगिता शुरु गर्न आग्रह गरेको छ ।
क्लवका अध्यक्ष हमालले प्रतियोगिताका लागि टीम छनौट र प्राविधिक व्यवस्थापनका लागि एन्फासँग समन्वय भइरहेको बताए ।
एन्फाले खप्तड गोल्डकपलाई ‘क’ वर्गमा राखेको हुनाले प्रतियोगितामा कम्तिमा छ वटा ‘ए’ डिभिजनका टीम सहभागी हुनुपर्ने प्रावधान छ । नेपालमा जम्मा १४ वटा डिभिजन टीम रहेका छन् ।
आयोजक क्लवले प्रतियोगिताको तयारी शुरु गरिएको जनाएको छ । धनगढी रंगशालामा आयोजना हुने खप्तड गोल्डकप प्रतियोगितामा नेपालको ‘ए’ डिभिजन क्लव, विदेशी टिम तथा तथा मोफसलका चर्चित क्लवहरूले भाग लिने जनाइएको छ ।
आयोजक सुदूरपश्चिम–११ क्लवका महासचिव प्रकाश शाहीका अनुसार प्रतियोगितामा एक विदेशी टिम सहित १२ टिमको सहभागिता रहने छन् ।
खप्तड गोल्डकपको तेस्रो संस्करणमा विजेताले २१ लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
क्लवका महासचिव शाहीका अनुसार प्रतियोगिताको म्यान अफ द सिरिज (उत्कृष्ट खेलाडी) लाई मोटरसाइकल पुरस्कार प्रदान गरिने छ । त्यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ र प्रत्येक खेलका म्यान अफ द म्याचलाई दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
आयोजकका अनुसार प्रतियोगितामा एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महासचिव शाहीले प्रतियोगितामा प्रत्येक खेलमा कम्तिमा सात हजार दर्शकले प्रत्यक्ष रूपमा खेल हेर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार