७ बैशाख २०८१, शुक्रबार

मदरल्याण्ड र फारवेष्ट विजयी



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ अन्तर्गत मंगलबार भएको खेलमा जीत हात पार्दै आयोजक मदरल्याण्ड युवा क्लब ‘ए’ र फारवेष्ट पशुपति युवा क्लब विजयी भएका छन् । दुवै क्वाटरफाईनलमा जीत हात पार्दै दुवै टोली सेमिफाईनल प्रवेश गरेका छन् । आयोजक मदरल्याण्डले उर्मिला पोल्ट्री फर्मलाई र फारवेष्ट पशुपतिले गौरीगंगा–११ लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् ।
पहिलो क्वाटरफाईनलमा फारवेष्ट पशुपति युवा क्लबले गौरीगंगा–११ लाई टाईब्रेकरमा ५–४ ले हराएको हो । निर्धारित समयमा दुबै टीमले एक/एक गोलको बराबरी खेलेपछि टाईब्रेकरबाट नतिजा छिनोफानो गरिएको हो । फारवेष्टका लागि पहिलो हाफको ३५ औं मिनेटमा चेत कठायतले गोल गरेका थिए भने गौरीगंगाका लागि दोस्रो हाफको ११ औं मिनेटमा सुरज महतोले गोल गरेका थिए ।
दोस्रो क्वाटरफाईनलमा आयोजक मदरल्याण्ड युवा क्लब ‘ए’ ले उर्मिला पोल्ट्री फर्मलाई ३–० ले किनारा लगाएको छ । आयोजकलाई सेमिफाईनलमा पुराउनका लागि लागि कप्तान मणीराम चौधरीले दुई गोल गरे । उनले पहिलो हाफको १७ औं मिनेट र २१ औं मिनेटमा गोल गरे । मदरल्याण्डका लागि पहिलो हाफको ३० औं मिनेटमा विक्रमसिंह ठकुरीले एक गोल थपे ।
प्रतियोगिता अन्तर्गत आज (बुधबार)को पहिलो खेलमा पिएफए अत्तरिया र चारपाते युवा क्लब तथा दोस्रो खेलमा सुदूरपश्चिम–११ र नवदुर्गा युवा क्लबबीच प्रतिस्पर्धा हुने आयोजक मदरल्याण्ड युवा क्लबका अध्यक्ष श्रवण चौधरीले जानकारी दिए । मदरल्याण्ड युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार