१३ बैशाख २०८१, बिहीबार

दोधारामा पिकनिक स्पट बनाइदै



कञ्चनपुर । दोधारा चाँदनीको झोलुंगे पुल नजिक महाकाली नदी किनार नर्सरीमा बन्ने पिकनिक स्पट र उद्यानको जमिन घेरबार गरिएको छ । भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा पिकनिक स्पट र उद्यानको गुरु योजना बनाएको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र झोलुंगे पुल आउने पर्यटकहरूलाई मध्यनजर गरी पिकनिक स्पट र उद्यान बनाउन लागिएको हो । चालु आर्थिक वर्षमा यसका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

फाइल तस्बिर

चार बिगाहा भन्दा बढी जमिन पिकनिक स्पट र उद्यानका लागि तारबार गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र झोलुंगे पुल आउने पर्यटकहरूलाई मध्यनजर गरी पिकनिक स्पट र उद्यान बनाउन लागिएको बताए ।
“पर्यटकहरूलाई सुविधा होस्, आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि यस क्षेत्रमा पिकनिक स्पट र उद्यान बनाउन लागिएको हो” उनले भने, “यस वर्षमा काम सुरु गर्छौ, त्यसका लागि तेस्रो नगर सभाबाट बजेट विनियोजन गरिएको छ ।”
नगर प्रमुख विष्टले झोलुंगे पुल आउने पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा पुगाएर हात्ती र नजिकको जमुनाभाडी पुगाएर चित्तल देखाउने तथा त्यसपछि रानाथारू होमस्टेमा पुगाएर आदिवासी समुदायको संस्कृति अवलोकन गराउने लक्ष्य सहित पिकनिक स्पट र उद्यान निर्माणको योजना अघि सारिएको बताए ।
“अहिले झोलुंगे पुल हेर्न आएर पर्यटक त्यत्तिक्कै फर्केर जान्छन्, उहाँहरूलाई यहाँ ल्याएर हात्तीसार, जमुनाभाडी र रानाथारू होमस्टेमा पुगाउँछौं” नगर प्रमुख विष्टले भने, “यहाँ आउने स्वदेशी विदेश पर्यटक पुलबाट नफर्कोस भनेर यसमा लागेका छौं ।”
झोलुंगे नगर क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा देखिएकाले यसको संरक्षण तथा प्रवद्र्धनका लागि नगरपालिका सक्रिय रूपमा लाग्ने उनले बताए ।
“यो पुल दुई नगरपालिकामा पर्छ, यसको संरक्षण संवद्र्धनका लागि महाकाली नगरपालिकासित पनि समन्वय तथा सहकार्य गर्छौ” उनले भने ।
चालु आर्थिक वर्षमा पिकनिक तथा बाल उद्यान क्षेत्रमा शौचालय, बसपार्क सहितका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
महाकाली नदीमा चार लेन पक्की पुल निर्माण भएपछि झोलुंगे पुलबाट सवारी आवागमन बन्द गरिने नगर प्रमुख विष्टले बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पार्क एण्ड पिपुल प्रोजेक्ट अन्तर्गत यस क्षेत्रमा स्थानीय राम बुढाले नर्सरी बनाएका थिए । निकुञ्जका हात्तीको आक्रमणबाट केही वर्ष अघि बुढाको ज्यान गएको थियो ।
भीमदत्त नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष लालबहादुर शाहीले महाकाली नदीले धार बदलेपछि खाली जमिनमा स्थानीय बुढाले नर्सरी निर्माण गरेको बताए ।
“अहिले नर्सरी सहितको तीन चार बिगाहामा पिकनिक स्पट, उद्यान निर्माण हुन लागेको छ” उनले भने ।
बगरमा पिकनिक स्पट र उद्यान निर्माण हुने भएपछि स्थानीयले गाउँमा रोजगारीका अवसर आउने आशा गरेका छन् । स्थानीय डम्मर देउवाले पर्यटन प्रवद्र्धन भएर स्थानीयलाई फाइदा हुने बताए ।
“यो राम्रो छ, यसले गाउँमा रोजगारका अवसर आउँछन्, पर्यटक आएपछि यहाँका स्थानीयको व्यवसाय चल्छ” उनले भने, “यसबाट आफैं रोजगारी आउने आश राखेका छौं ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार