७ बैशाख २०८१, शुक्रबार

अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव हुँदै



धनगढी । अत्तरिया उद्योग वाणिज्य संघले अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७५ गर्ने भएको छ ।
महोत्सवबाट आम्दानी भएको रकम संघको भवनमा बनाउनमा खर्च गर्ने उद्देश्यसहित सो महोत्सव सञ्चालन गरिन लागेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । महोत्सव पुस २७ गतेदेखि माघ ७ गतेसम्म हुने संघका निवर्तमान अध्यक्ष ललित चन्दले जानकारी दिए । उनले यस वर्षको महोत्सवलाई अन्य वर्षको भन्दा फरक बनाउनका लागि दुई महिना अगाडिदेखि नै तयारी थालेको बताए ।‘समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सवका लागि विभिन्न समिति, उपसमितिहरू बनाएर तयारी तीब्र भइरहेको उनले बताए । उनले महोत्सवका माध्यमबाट यस प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिने बताए ।
महोत्सवमा एक सय ५० स्टलहरू रहने बताउँदै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले ‘सो स्टलहरूमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका भेषभुषा, रितिरिवाज, चालचलनलाई समेट्ने गरी स्टलहरू राखिने छ । यसका लागि प्रदेश उद्योग महासंघ र अन्य जिल्ला उद्योग वाणिज्य संघसँग सहकार्य र समन्वय तथा छलफल भइरहेको छ ।’
अत्तरियामा रहेको लामी तालमा डुंगाको व्यवस्था, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति, बृद्धबृद्धा तथा अपांगहरूलाई टिकटमा छुटको व्यवस्था महोत्सवमा रहेको उनले जानकारी दिए ।
महोत्सव अवधिभर साढे तीन लाख दर्शकहरूले अवलोकन गर्ने र अनुमानित साढे तीन करोड रकम बराबरको कारोबार हुनुका साथै ४५ लाख खर्च हुने अध्यक्ष देवकोटाले बताए ।
महोत्सब अत्तरियास्थित लामी ताल परिसरमा हुने छ भने महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ५० र विद्यार्थीहरूका लागि ४० रुपैयाँ टिकट कायम गरिएको छ ।
अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवको यो चौथो संस्करण हो ।
उता, विश्व रामसार सूचीमा सूचीकृत कैलालीको पर्यटकीय क्षेत्र घोडाघोडीको प्रचारप्रसारको लागि महोत्सव आयोजना गरिने भएको छ ।
माघ १४ देखि २३ सम्म कैलालीको सुखडमा घोडाघोडी सहायता केन्द्रले आयोजना गर्न लागेको ‘घोडाघोडी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव २०७५’ को तयारी शुरु गरिएको सोमवार एक कार्यक्रमको आयोजना गरी आयोजकले जानकारी दिएको छ ।
‘स्थानीय कला संस्कृति र व्यापार, घोडाघोडी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महोत्सव’ भन्ने नाराका साथ आयोजना गरिन लागेको महोत्सव मुल आयोजक समितिका संयोजक होम आचार्यले जानकारी दिए ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवले स्थानीय कला संस्कृतिले स्थान पाउनुका साथै व्यापार तथा पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने आचार्यले बताए ।
महोत्सवको मुख्य आर्कषणका रूपमा बाल उद्यान, रमाइलो मेला, थारू गाउँ, मगर गाउँका साथै एक सय भन्दा बढी व्यापारिक स्टल स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारहरूको प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिका सदस्य जनक केसीले बताए ।
महोत्सव अवधि भर करिब एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने तथा दुई करोड भन्दा बढीको कारोबार हुने आयोजकले बताएको छ ।
यस्तै, कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा घोडाघोडी वृहत माघी मिलन, कृषि, पर्यटन, तथा साँस्कृतिक महोत्वस २०७५ हुने भएको छ ।
‘कृषि, पर्यटन, स्वास्थ्य शिक्षा र रोजगार घोडाघोडी नगर विकासको मुल आधार’ भन्ने मुल नाराका साथ पुस ३० गतेदेखि माघ ६ गतेसम्म महोत्वस आयोजना गर्न लागिएको हो । सोमबार सुखडमा भएको एक पत्रकार सम्मेलन मार्फत महोत्वस आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।
घोडाघोडी बहुउद्देश्यीय युवा मञ्चको आयोजनामा हुन लागेको महोत्सवमा स्थानीय एवम् राष्ट्रियस्तरका कलाकारहरूको बेजोड प्रस्तुति, थारू गाउँ, मगर गाउँ, बाल उद्यन, रमाइलो मेला का साथै विभिन्न भेषभूषाका खानाका परिकार महोत्सवको मुख्य आकर्षण रहेको बताइएको छ ।
महोत्सवमा ६० वटा विभिन्न व्यावसायिक स्टलहरू रहने महोत्सव मूल आयोजक समारोह समितिका संयोजक नबिन क्षेत्रीले जानकारी दिए । झण्डै २२ लाख खर्च लाग्ने महोत्सवबाट ३५ लाखको कारोबार गरिने अनुमान गरिएको संयोजक नबिन क्षेत्रीले बताए ।
घोडाघोडी वृहत माघी मिलन, कृषि पर्यटन, तथा साँस्कृतिक महोत्वस २०७५ सुखडको हेलिप्याटमा हुने र १ लाख दर्शक जतिले महोत्वस अवलोक गर्ने अुनमान गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक शनेस शाहीले बताए ।
महोत्वसबाट उठेको आम्दानीको रकमले युवाहरू अहिले रोजगार नपाएर विभिन्न कुलतमा फसेको हुँदा उनीहरूलाई विभिन्न खालको सीपमूलक तालिम लिएर स्वरोजगार बताउने लक्ष्य लिएरको मञ्च व्यवस्थापन समितिका संयोजक शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार