११ बैशाख २०८१, मंगलवार

जटिल अवस्थामा पुगेकी सुत्केरीको उद्दार



धनगढी । बाजुरामा सुत्केरी व्यथाले छट्पटाइरहेकी १९ वर्षीया गर्भवतीलाई आइतबार बिहान हेलिकोप्टरबाट उद्दार गरिएको छ ।
सुत्केरी व्यथा लागेर चार दिनअघि स्वास्थ्यचौकीमा भर्ना भएकी छेडेदह गाउँपालिका वडा नम्बर १ जारिमतोलाकाँडा की रामकला नेपालीलाई आइतबार उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको जनाइएको छ ।
सुत्केरी व्यथा लागेर चार दिनसम्म स्वास्थ्य चौकीमा छट्पटाइरहेकी रामकलाको अवस्था जटिल देखिएपछि स्वास्थ्यकर्मीहरूले उनलाई सुविधासम्पन्न अस्पताल लैजान रेफर गरेका थिए । “उनको अवस्था जटिल बन्दै गएको थियो । स्वास्थ्य चौकीमा उनको उपचार गर्न सम्भव भइरहेको थिएन । त्यसैले हामीले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान रेफर गरेका थियौं” छेडेदह स्वास्थ्य चौकी इञ्चार्ज रामचन्द्र यादवले भने– “तर, आर्थिक अवस्था निकै कमजोर भएकाले उनको परिवारले उनलाई बाहिर लग्न सकेका थिएनन् ।”
चार दिनदेखि सुत्केरी हुन नसकेर रामकलाको ज्यान जोखिममा पर्दै गएपछि रेडक्रस सोसाइटी तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहको पहलमा सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा उनलाई सिम्रिक एयरको हेलिकोप्टरबाट नेपालगञ्ज पुर्‍याइएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको वार्षिक बजेटमा भौगोलिक रूपमा दुर्गम जिल्लामा जटिल अवस्थाका गर्भवतीसहित बिरामीहरूलाई हेलिकोप्टरबाट उद्दार गर्नका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
यसअघि पनि बाजुरा र बझाङका जटिल अवस्थाका दुई जना सुत्केरीलाई हेलिकाप्टरबाट उद्दार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए । सुत्केरी उद्दारका लागि बाजुरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद लालबहादुर थापाले सिंहदरबारमा गएर गृहमन्त्रालयलाई पहल गर्न दवाव दिएका थिए । गृहमन्त्रालयको समेत आग्रहमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बाजुरामा हेलिकोप्टर पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार