१५ चैत्र २०८०, बिहीबार

मोतीबिन्दुका तीन सय बढी बिरामीको नि:शुल्क शल्यक्रिया



धनगढी । गेटा आँखा अस्पतालले भजनीका मोतीबिन्दुका तीन सय बढी बिरामीहरूको नि:शुल्क शल्यक्रिया गरेको छ ।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा फ्रेड हलोज फाउन्डेशनको सहयोगमा गत मंसिर २६ गतेदेखि २९ गतेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित बृहत् आँखा शिविरमा तीन सय ५६ जनाको नि:शुल्क शल्यक्रिया गरिएको जनाइएको छ ।
नेत्रज्योति संघका अनुसार मोतिबिन्दूका बिरामीमा लेन्स प्रत्यारोपणद्वारा पुन: दृष्टि प्रदान गर्नुका साथै चार जना ट्रकोमाका रोगीहरूको समेत शल्यक्रिया गरि आँखाको ज्योति गुम्नबाट जोगाईएको छ ।
नि:शुल्क आँखा शिविरमा एक हजार दुई सय ७७ जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा नौ सय १९ जना आँखाका रोगीहरूको नि:शुल्क औषधि उपचार गरिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए ।
शिविरमा सेवा लिनेमध्ये केही आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकेका मोतीबिन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरिरहेको उनले बताए ।
गेटा आँखा अस्पतालका निर्देशक एवं वरिष्ट नेत्र विशेषज्ञ डाक्टर सुरेशराज पन्तको नेतृत्वमा सञ्चालित शिविरमा वरिष्ट नेत्र अधिकृत एवं वाह्य कार्यक्रम व्यवस्थापक भट्ट लगायत १५ जना प्राविधिकहरूको टोलीले सेवा प्रदान गरेका थिए ।
उक्त शिविर सञ्चालनमा स्थानीय आयोजकको रूपमा नेपाल रेडक्रस सोसाईटी भजनी उपशाखा तथा प्राथमिक स्वास्थ्य केन्द्र भजनीले सहयोग पुर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार