११ बैशाख २०८१, मंगलवार

मौरीपालनबाट करोडौं आम्दानी



लम्की । २८ वर्षदेखि मौरीपालन व्यवसायमा संलग्न लम्कीचुहा नगरपालिका वडा नम्बर ६, स्याउलेबजारका ४५ वर्षीय हरिराम भारती आम किसानमाझ उदाहरण बनेका छन् । हरिराम कास्कीमा जन्मिएका हुन् । १७ वर्षको उमेरमा २०४७ सालमा मजदूरी गर्न पहिलो पटक भारतको सिमला गएका हरिरामले त्यही नै मौरीपालन तालिम लिएका हुन् । “तीन महिने मौरीपालन तालिम लिएपछि आठ वर्षसम्म भारतको हरियाणामा एक मौरीपालन फार्ममा मासिक दुई सय रुपैयाँ ज्यालामा काम गरे” उनले भने– “पछि त्यही नै आफ्नै मौरीपालन व्यवसाय शुरु गरे ।” शुरुमा आठ हजार रुपैयाँ लगानीमा सात वटा मौरीका बाकस (घार) किनेर आफैंले मौरीपालन व्यवसाय शुरु गरेको थिए । “पछि काम गर्दै जाँदा एक हजार एक सय घार पुगे” उनले भने ।
उनले भारतमा मौरीपालन व्यवसायबाट करिब आठ करोड रुपैयाँको कारोबार भएको बताए । उनले भारतमै जग्गा किनेर घर बनाएका थिए । उनले भने– “राम्रो आम्दानी थियो । दुई छोरा आफ्नै कारमा स्कूल जान्थे । अहिले कान्छो छोरा भारतमै बिएस्सी तहमा अध्ययन गरिरहेको छ । जेठो छोरा लम्कीमै कम्प्युटर विषय अध्यापन गरिरहेको छ ।”
उनले २०७२ सालमा हरियाणाको घर जग्गा र मौरी फार्म एक करोड ५० लाख नेपाली रुपैयाँमा बिक्री गरेका थिए । “नेपाल फर्केपछि पर्वत बजारमा दुई करोड रुपैयाँमा चार घडेरी खरिद गरे” उनले सम्झिए– “आफ्नै देशमा मौरीपालनका लागि उपयुक्त ठाउँ खोज्दै जाँदा कैलालीको लम्कीचुहा नगरपालिका बढी उपयुक्त लाग्यो । अनि मैले २०७२ सालबाट लम्कीचुहा नगरपालिका वडा नम्बर ६, स्याउले बजारमा मौरीपालन शुरु गरे ।”स्याउलेमा ३० घारबाट मौरीपालन व्यवसाय शुरु गरेका हरिरामको फार्ममा अहिले एक सय ५० घार पुगेका छन् । “तीन वर्षको अवधिमा ७० लाख रुपैयाँको कारोबार भएको छ” उनले भने– “पर्वतमा किनेको जग्गाको ५० लाख रुपैयाँ बुझाएँ । अहिले लम्कीचुहा नगरपालिका वडा नम्बर ६ स्याउलेबजारमा १६ लाख रुपैयाँमा छ कठ्ठा जग्गा किनेर घर लगाउन थालेको छु ।”
उनको मौरीपालन फार्ममा महका साथै मौरीको कुट, चोप पनि उत्पादन भइरहेको छ । “शाही खुराक उत्पादन गर्ने तयारी गरिरहेको छु” उनका अनुसार शाही खुराक प्रति किलो ४० हजार रुपैयाँ पर्छ । उनले शाही खुराक उत्पादनका लागि आवश्यक पर्ने मेसिनको मूल्य २० लाख रुपैयाँ रहेको बताए ।
मौरीपालनको लागि कात्तिक, मंसिर, फागुन र चैत्र महिना राम्रो मानिन्छ ।
लम्कीचुहामै मौरीपालन व्यवसाय गरिरहेका दाङ तुल्सीपुरका ४८ वर्षीय हरिबहादुर डाँगी पनि सफल मौरीपालक किसान हुन् ।
उनले २०५७ सालमा आठ हजार रुपैयाँको लगानीमा दुई घारबाट मौरीपालन व्यवसाय शुरु गरेका थिए । अहिले उनको मौरीपालन फार्ममा दुई सय ५० घार रहेका छन् । उनले शिक्षक पेसा छोडेर मौरीपालन व्यवसाय शुरु गरेका थिए । उनी भन्छन्– “मौरीपालन व्यवसाय शुरु गरेको १८ वर्ष भयो । वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुने गर्छ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार