१६ चैत्र २०८०, शुक्रबार

नवजीवनको २५ औं साधारण सभा : चार महिनामा डेढ करोड मुनाफा



धनगढी । मुलककै अग्रणी सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेडको शुक्रबार धनगढीमा २५ औं वार्षिक साधारण सभा भएको छ ।
साधारण सभाको एक समारोहबीच प्रतिनिधी सभा सदस्य नारदमुनि रानाले उद्घाटन गरे ।
नवजीवन सहकारीले चालू अर्थिक वर्ष २०७५/२०७६ को पहिलो चार महिनामा एक करोड ४३ लाख दुई हजार रुपैया मुनाफा आर्जन गरेको छ । साधारण सभामा प्रस्तुत प्रगति विवरणमा संस्थाले गत आर्थिक वर्ष २०७४/०७५ मा १२ करोड चार लाख ७५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको उल्ल्ेख छ । नवजीवन सहकारीले नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने अनुमति पाएको छ ।
साधारण सभामा नवजीजन सहकारीले आफ्ना शेयरधनीहरुलाई १८ प्रतिशतको दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । नवजीवनका अध्यक्ष चक्रबहादुर सिंहले २०७४ साल असार मसान्तसम्म शेयर सदस्यता लिएका शेयर धनीहरुलाई १८ प्रतिशतका दरले लाभांश वितरण गरिने बताए ।
अध्यक्ष सिंहका अनुसार गत आर्थिक वर्ष २०७४/२०७५ मा नवजीवनले आर्जन गरेको कुल मुनाफाबाट दुई करोड ६७ लाख २९ हजार रुपैयाँ लाभांशको रुपमा भुक्तानी गरिरहेको छ । नवजीवन सहकारीका १७ हजार नौ सय ९५ जना शेयर सदस्य पुगेका छन् ।

साधारण सभा उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य रानाले संविधानले गरेको व्यवस्था अनुसार सहकारी संस्थाहरुको ग्रेडिङ गरिने बताए । ‘संवैधानिक व्यवस्था अनुसार सहकारी संस्थाहरुलाई स्थानीय तह, प्रदेश तथा संघ तहमा वर्गीकरण गरिने छ’ सा.स्द रानाले भने– घ वर्ग (कुनै एक क्षेत्रमा रहेर काम गर्ने) सहकारी संस्थालाई स्थानीय तहमा सूचीकृत गरिने छ । त्यस्तै, बहुउद्देश्यीय (पर्यटन, कृषि लगायत) सहकारी संस्थालाई प्रदेश तहमा तथा करोडौं रुपैयाको कारोबार गर्ने ठूला सहकारी संस्थालाई संघ तहमा राखिने छ ।
एक अर्को प्रसंगमा सांसद रानाले ‘थारु र पहाडीको नाममा केही तत्व अहिले पनि खेल्ने प्रयास गरिरहेको” चर्चा गरे । उनले भने– यस्ता प्रवृत्तिप्रति हामी सबै सचेत हुन आवश्यक छ । यस्ता जातीय द्वन्द्वले राष्ट्रलाई मात्र नोक्सान हुन्छ ।
साधारण सभा उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले प्रदेश सभाले छिट्टै सहकारी विधेयक ल्याउने तयारी गरेको जानकारी दिए । उनले भने– हामीले सहकारीमैत्री विधेयक ल्याउने प्रयास गरिरहेका छौं । मस्यौदामा भएका केही कुरा सच्याउनु परेमा तपाइहरुको सुझाव आवश्यक रहेको छ ।
उनले राष्ट्रले समृद्धिका लागि तीन खम्बे नीति अवलम्बन गरेको चर्चा गरे । भने– ‘प्रदेशलाई समृद्धतर्फ डोर्‍याउन सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।
कार्यक्रममा शिक्षाविद् प्राध्यापक डाक्टर हेमराज पन्तले सहकारी संस्थाहरुले आफ्नो क्षेत्राधिकार बढाएर सामाजिक कार्यमा योगदान पुऱ्याउनु आवश्यक रहेको बताए ।
कार्यक्रम संस्थाका अध्यक्ष सिंहको अध्यक्षतामा भएको थियो । सो अवसरमा पूर्व सांसद महेश्वर पाठक, धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नवजीवन सहकारी संस्थाको अधिकृत शेयर पूँजी ५० करोड रुपैया रहेको छ । २०७४ साल असार मसान्तको १३ करोड ९४ लाख ५६ हजार पांच सय रुपैया चुक्ता पूँजीमा १४.९२ प्रतिशतले बृद्धि भई २०७५ मसान्तसम्म १६ करोड दुई लाख ५७ हजार पांच सय पुगेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनासम्म १६ करोड ४१ लाख ६० हजार रुपैया पुगेको जनाइएको छ ।
त्यस्तै, २०७४ सालमा दुई अर्ब ४२ करोड ३६ लाख ५२ हजार रुपैया निक्षेप रहेकोमा २०७५ असारसम्म १०.२६ प्रतिशतले बृद्धि भई दुई अर्ब ६७ करोड २२ लाख ८४ हजार रुपैया निक्षेप संकलन गरेको प्रगति विवरणमा उल्ल्ेख छ । नवजीवन सहकारी संस्था २०५० साल मंसिर ३० गते स्थापना भएको हो । हाल सो संस्थाका पांच वटा शाखा रहेका छन् ।
साधारण सभामा अत्तरिया शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ । साधारण सभामा उत्कृष्ट शाखा भएकोमा अत्तरिया शाखाका प्रमुख अमरबहादुर शाहीले ११ हजार रुपैया पुरस्कार प्राप्त गरे ।
त्यस्तै, संस्थाका प्रधान कार्यालयका प्रवन्धक शिवप्रसाद पौडेल, अत्तरियाका सहायक कार्यकारी भरतबहादुर बस्नेत र धनगढीका मेसेन्जर जीतबहादुर श्रेष्ठलाई दीर्घ सेवा पदक प्रदान गरियो ।
त्यस्तै, साधारण सभामा उत्कृष्ट असल कर्जा सदस्यका रुपमा ११ जनालाई सम्मान गरेको छ । सो अवसरमा धनगढीका दिनानाथ भट्ट, कृष्णादेवी भट्ट र प्रेमराज जोशी, टीकापुरका मकरबहादुर खडका र राजन चौधरी, बासगढीका शोभा पाण्डे र साविर अली जागा, अत्तरियाका शारदादेवि लुहार र दीपेन्द्र चौधरी तथा सुखडका गोकर्ण ढकाल र नोमबहादुर रजालीलाई सम्मानपत्र प्रदान गरियो ।
त्यस्तै, संस्थाले नियमित रुपमा प्रदान गर्दै आएको नवजीवन शिक्षा पदकबाट गत वर्षको एसईईतर्फ मनमोहन भट्ट र अस्मिता ओझा, प्रविणता प्रमाणपत्रतर्फ रिशिता शर्मा र स्नातक तहतर्फ बसन्त अवस्थीलाई सम्मान गरियो ।
यसैबीच साधारण सभाका अवसरमा शुक्रबारदेखि एटिएम सेवा शुभारम्भ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार