लेते खोला र त्यो ‘इङ्गलिस बाइबल’

  • सरोज पोखरेल
प्रकाशित मिति :

मुस्ताङको यात्रामा म सँग खास भिन्न अनुभूतिहरू सायदै केही थिए, जसमा लेख्ने जाँगर चलोस् र पाठकको आँखा र मन तानोस् । तर ३० वर्ष देखि मनमा गडेको ‘लेते खोला’सँगै अर्को एक विषय पनि थपियो मुक्तिनाथ पुग्दा र लेख्ने निधो गरें । यी दुईकुरा नभएको भए मलाई मुस्ताङ यात्राका बारेमा लेख्ने जाँगर चल्ने थिएन- भूपिको ‘लेते खोला’ र त्यो टेवलमा देखिएको ‘ईङलिस बाइबल’!

शुरूवात लेते खोलाको प्रसंगबाट नै गरौं।

… र मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला छ —‘लेते खोला’
तिमीजस्तै शान्त र दुब्लो
तर जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठूल्ठूला चट्टानहरुको पनि पाइला डग्मगाउँछ
र बाढी थामिएपछि
त्यसलाई छेक्न खोजेका घमण्डी पहराहरुले
आफुलाई भत्केको, भास्सिएको र चोइटिएको पाउँछन्।

यिनै हरफहरू नै मेरो मस्तिष्कमा थिए, जब म गत हप्ता लेते पुगें । हाम्रो युगलाई आफ्ना शक्तिशाली कविताहरूबाट सर्वाधिक प्रभावित गरेका भूपि शेरचनको हो-चि-मिन्हलाई चिठ्ठी भन्ने कवितांश हो यो । करिव ३० वर्ष पहिले, पहिलो पटक पढेको ‘घुम्ने मेचमाथी अन्धो मान्छे’भन्ने किताव भित्र यो कविता पनि थियो । यो पुस्तकका धेरैजसो कविताहरूमलार्इ त्यतिवेलै कण्ठस्थ थिए र आज पनि धेरै कविताहरू मेरो स्मरणमा ताजा छन् । मेरो किशोर मनलाई त्यतिखेर देखि नै लेते खोलाको विंम्बले कौतुहलता उत्पन्न गरेको थियो । जब लेते पुगें, आँखाले लेतेखोला खोज्न थाल्यो, त्यही भूपिको लेते खोला ।

त्यसो त केही पहिल्यै मुस्ताङ यात्रा गरिसकेका साथीभाई र ‘ट्रिप एडभाइजरका’ सूचनाहरू मलाई खासै काम नलागेको महसुस भएको थियो । त्यसैले तल्लो मुस्ताङको यात्राका बारेमा केही जानकारी दिंदा यात्राको लागि मन बनाइरहेका पाठकका लागि केही उपयोगी हुन्थ्यो होला । यसै त हामी कहाँ कम खर्चमा राम्रो यात्राको ‘ट्रिप एडभाइजरीको’ पनि अभाव छ । उदाउँदो मध्यम बर्गको देशमाजहाँ आन्तरिक यात्रा ह्वात्तै बढिरहेकोछ, यस्ता सूचना खोजिन्छन् र पढिन्छन् पनि । यो यात्रासँग सम्बन्धित तर फरक आलेखमा यस बारेमा पनि केही उल्लेख हुनुपर्छ भन्ने चेत पनि लेख्न बस्दा पलाएको छ । म यत्ति भन्न सक्छु, यहाँ उल्लेखित केही न केही कुराहरू उपयोगी हुने छन्, त्यसतर्फ यात्रा गर्ने सोंच बनाएकाहरूका लागि ।

अरू कुरा लेख्न भन्दा पहिला लेते कै थप कुरागर्न मलाई प्रिय लागिरहेको छ । भूपिमुस्ताङमा जन्मिएका हुन् भन्ने मलाई उनको कविता पढेको १० वर्ष पछि मात्र थाहा भएको हो । र लेते खोला त्यहीँकै बिम्ब हो भन्ने पनि धेरै पछि चाल पाएको हुँ ।

हिमालको काखमा थुपुक्क बसेको लेते गाउँ साँच्चै मनमोहक छ । अलिपर कालिगण्डकीको कलकल, नजिकैका झरना अनि घना र हरियो जंगल यहाँ बाहेक लेते देखि उत्तरको मुस्ताङ तिर खासै देख्न पाइदैन । लेते छोडर उत्तर तिर उक्लेपछि त हिँउले चपाएर अलपत्र छोडेका नाङ्गा पहाडहरू मै मजा लिनुपर्नेहुन्छ । पानीको कलकल जताततै भेटिए पनि आँखा अडिने हरियाली देखिंदैन । डाँडामाथीका चुचुरामा फलेको हिँउ हेरेपछि मात्र आँखाले केही सन्तोष मान्छ ।

तर लेते भने त्यस्तो निरस छैन । प्रकृतिले लेतेको काखलाई हरतरहले सिंगारेको छ । अचेल थुप्रै होटलहरू पनि बनेका रहेछन् लेते गाउँमा । घुम्न जानेले समय विताउनु पर्ने ठामहो यो । तर आफूलाई एक रात पनि बस्ने मेसो मिलेन त्यहाँ, त्यस्तै पर्यो । मनमा अतृप्त प्यास बाँकी रहेकै छ, खै कहिले मेटिने हो यो प्यास!

लेते गाउँ पुग्दा प्रकृतिको कालिगढीले त तान्ने नै भयो,तर मेरा आँखाले ‘लेते खोला’ खोजिरहे। वरपर खोल्साहरू देखिए, तिनै खोल्साहरूलाई मैले‘लेते खोला’ठानें । भूपि अन्तरध्यान भएको दशकौं भइसकेको वेला कस्लाई सोध्नु ? कसैलाई सोध्न मन लागेन । खोल्सो त जसले पनि देखाइदेला तर त्यो बिंम्व सम्झाउन सक्ने कस्ले ? त्यसैले, आफ्नै मनले सोध्यो र आफै मनले जवाफ दियो, बस् ।

लेते पुगेको अघिल्लो रात बास बस्न काठमाडौं देखि म्याग्दीको बेनी पुगेका थियौ हामी। सायद यात्राका लागि यो सही निर्णय थियो, जसले गर्दा अर्को दिनको जोमसोम तर्फको यात्रा त्यति बोझिलो नबनोस् । तर  बेनी बजारमा बस्ने होटल खोज्न नै करीब २ घण्टा लाग्यो । ‘बेनीको बजार, जता माया उतै छ नजर’ भन्ने गीत गुन्गुनाउँदै बास खोज्न दर्जनौं होटल चहारियो । अन्तमा जसोतसो बास पाइँदा रातको साढे नौं  बजिसकेको थियो । मुक्तिनाथका लागि यात्रुहरूको घुइँचो सँधैको भन्दा अलि बढि नै थियो सायद । र त बेनीको मायाको अंगालोमा अटाइरहेका थिएनन् मानिसहरू !

बेनीबाट विहानीको मिठासपूर्ण किरण सँगै बसमा चढ्दा पनि एक प्रकारको द्वीविधा थियो मनमा । बसमा जाने कि जिपमा जाने भन्ने । अलि खल्ति मोटो भएका र हतार हतार फर्कन चाहने यात्रुहरू जिप तिर लागे । विन्दास यात्रा रोज्नेहरू बस तिर । आफ्नो रोजार्इ बस नै थियो, त्यो पनि आम मान्छेहरूको भिडमा हराउने रहर । किनभने पोखरा सम्म हरियो प्लेटको बसमा यात्रा गर्दा मजा आएको थिएन । बर्ग उत्थानको गन्ध आउने मान्छे विच रहँदा अलि सकस नै हुँदो रहेछ । मान्छे कम र उपभोक्ता ज्यादा । आम मान्छेहरू विच, सिटको अभाव र खोसाखोस विच अनि त्यहाँ पाइने माया र सहयोगका विच जुन सत्य देख्न र भोग्न पाइन्छ त्यो ’ग्रीन प्लेटको’ बसमा थिएन । कथित आराम त थियो, मजा थिएन ।आराम त आफ्नै घरको कोठामा थियो, तर मजा खोज्न पो निस्किनु परेको थियो यात्रामा बाहिर ।

दाना भन्ने ठाममा खाना खान पुग्दा दिउँसो अवेर भैसकेको थियो । ’एडभेन्चर’ यात्रामा रमाउनेहरूले त ठिकै ठान्लान तर आम मान्छेको मुटुले ठाउँ छोड्ने खालको बाटो, त्यसमाथी पनि लामै ब्याक गरेर विपरित दिशाबाट आइरहेको गाडीलाई बाटो दिनुपर्ने । खासमा भगवान नै थिए ती बस चालकहरू ।

अँ, दानामा खाना खाएर पुगेको लेतेलाई बाइबाई गरेर अघि बढ्दा पनि आँखा र मनभरी लेते नै आइरह्यो । धवलागिरी र त्यसपछि निलगिरी हिमाललाई हेर्दै जब टुकुचेमा पाउडर दुधको चिया खाने मेसो मिल्यो अनि बल्ल केही तसल्ली भयो शरीर र मनलाई । निलगिरीलाई क्यामरामा कैद गर्न यात्रुहरू मोबाइल क्यामरा फर्काइरहेका थिए । त्यतिकैमा स्याउ बारीको दृष्य पनि आँखामा ठोक्किन थालिसकेका थिए । मार्फा पुग्दा भूईमा रातै खसेका स्याउ देखेर मनमा लोभ लाग्यो र मार्फा ब्राण्डीको रहस्य पनि उद्घाटन भयो । कसैले सम्झाउनै परेन, ती भूईका स्याउहरूले नै कथा भने । ती स्याउ भूईमा नखस्ने भए, कसरी बन्थ्यो होला र मार्फा ब्राण्डी, है !?

मार्फा कटेर जोमसोम पुग्दा बेलुका भइसकेको थियो तरजोमसोमको हावाको जोड सेलाइसकेको थिएन । हाम्रो टोलीले त्यहाँ बास नबसी मुक्तिनाथ पुग्ने निधो गर्यो । र पछि चाल पाइयो, यो निर्णय सही निर्णय थिएन भन्नेकुरा । मुक्तिनाथ पुग्दा अँध्यारोले छोपिसकेको थियो । त्यहाँ पनि बास खोज्न सास्ती नै भयो । मोटर साइकल र जिपमा गएकाहरूले होटलका सबै कोठामा पहिले नै कब्जा जमाइसकेका थिए । होटल त थुप्रै देखिए त्यहाँ, तर खाली कोठा थिएनन् । कोठा छ हजुर भनेर सोध्दै जाँदा एकजना थकाली दार्इले हाँस्दै भनि पनि हाले ‘कोठा त छ, खाली छैन’ ।

जसोतसो एकजना न्यानो मन भएकी आमैले पीँढी मै बास दिइन् । बेलुकाको खाना खाइसके पछि खाना खाने ठाउँमै विस्तारा लाग्यो र ज्याकेट पनि नखोली सिरक खप्याएर सुत्यौं । विहान उठ्दा धारामा पानी थिएन । अत्यधिक चिसोले पानी जमेछ । तरूनी साउनीले भनिन् “हिँजो सम्म त धारामा राम्ररी पानी झरेको थियो, आज चिसो अलि बढेछ ।“

मुक्तिनाथ मन्दिर र गुम्वा क्षेत्र घुमेर हिमाल र फुस्रा डाँडामा आँखा पसार्दै बसपार्क नजिक पुग्दा मध्यान्न हुन लागिसकेको थियो । जोमसोममा रात बस्ने सोंच भएकाले त्यति हतार पनि थिएन र चिया नास्ता गर्ने विचारले बसपार्क माथीको रेष्टुरेण्टमा पस्यौं । त्यहाँ पनि चिया नास्ताको अडर दिने धेरै यात्रु थिए । नास्ताका लागि कुर्ने जाँगर चलेन र चियाको लाइनमा बसियो । त्यति बेला अर्को एउटा अजव दृष्य सँग साक्षात्कार हुने मौका मिल्यो ।

रेष्टुरेण्टभित्र दुई सुकिला मान्छेहरू देखिए । एउटाले साउनीलाई साइनो लगाउँदै भन्यो, “भाउजु तपाई व्यस्त हुनुहुन्छ, हामी जाँन्छौं अहिले । नानुको ‘ईङलिस इम्प्रुभ’ हुन्छ भनेर एउटा किताव ल्याइदिएको छु, किताब टेबलमा छ, पढ्न भन्नु होला है ।“

ती सुकिला दुई मनुवा बाहिरिएपछि उनले छाडेर गएको ‘ईङलिस इम्प्रुभ’गर्ने कितावमा आँखा गयो । त्यो बाइबल रहेछ, गतिलो खाले प्लाष्टिकको ट्रान्सपेरेन्ट कभर भएको । मेरो मनमाएकसाथ धेरै प्रश्न उब्जिए र सेलाए । सोझै धर्मको किताव किन नभनेको होला ? ती भाउजुलाई हेरे, निधारमा रातो टिका थियो । त्यसो त टिका बाइबल मान्नेले पनि लगाउन पाउँछन्, गीतामान्नेहरूको विर्ता त निश्चित नै होइन- रातो टिका ! तर पनि ‘ईङलिस इम्प्रुभ’गर्ने किताव भनेर त्यो घरमा छिरेको ‘ईङलिस बाइबलमा’ धर्मान्तरण गर्ने नियतको गन्ध मेरो नाकले सुघ्यो र अनायास नाक खुम्चियो ।

मेरा लागि कृष्ण र क्राइष्ट उस्तै लाग्छन् । बुद्ध अलि हृदयको नजिक भएझैं लाग्छन् मलाई । खासमा म ‘रिलिजियस’ मान्छे होइन । पृथ्वीमा पाइला टेकेका ती महामानवहरूले समकालिन युगमा चलन चल्तिको प्रवृत्ति विरूद्ध विद्रोहको नेतृत्व गरे र युगलाई अगाडी बढाए । उनीहरूले जीवनमा खुब सास्ती पाए समकालिन धर्मभीरूहरूबाट तर अन्त्यमा युगलाई सिकाइ छाडे । पछि तिनै महामानवका अनुयायीहरूले उनको बाटोलाई कुरूप बनाए र मान्छे मान्छे वीच भेदको कृत्रिम पहाड ठड्याए ।अरूलार्इ कमसल र आफ्नो अनुसरणलाई सही सावित गर्न के कुरा नै बाँकी राखे र ? मैले पाउडरवाला दुधको चियाको घुट्को सँगै भर्खरैको तीतो दृष्यलाई पनि निल्ने असफल प्रयास गरें ।

व्यक्तिगत आस्था र विश्वास माथीको धेरै खाले अतिक्रमणका भद्दा रूपहरू देखिएको थियो यस अघि । कलिलो दिमागमा ‘ईङलिस इम्प्रुभमेण्ट’ का नाममा हुने अतिक्रमण पनि देख्न पाइयो मुक्तिनाथमा । अभिभावकको ईङलिस मोहलाई धर्मान्तरणको औजार बनाएको देख्दा मनमा सकस त लाग्यो नै, उनीहरूको यो ‘इन्नोभेसन’देखेर चकित पनि खाएँ ।

त्यसको एक घण्टा पछि जोमसोम पुग्दा, त्यहाँ घण्टौं घुम्दा, स्याउ बारीमा फोटो खिंचाउँदा र तिब्र बेगको हावा सँगै झुलुङ्गे पुलमा कपाल उडाउँदा समेत त्यो टेवलमा रहेको ‘ईङलिस बाइबल’ झल्झल्ती आँखामा नाचिरह्यो । र, नाचिरह्यो ती नानीको अनुहार ।

होस्, कति सिरियस कुरा मात्रै लेख्नु । अँ, तपाई जोमसोममा बास बस्ने भए, होमस्टेमा बस्नुस् है । हाम्रो मुस्ताङ यात्राकादौरानमा सबैभन्दा आरामदायी बसाई थियो त्यो । हँसिलो अनुहार भएकी आमैले स्थानीय परिकार पस्केको र परिवारको हालचाल सोध्दै न्यानो आतिथ्य दिएको बसाई थियो, दाम्म्म्मी क्या !

कस्सम, यी दुईकुरा नभएको भए मलाई मुस्ताङ यात्राका बारेमा लेख्ने जाँगर चल्ने थिएन-भूपिको ‘लेते खोला’ र त्यो टेवलमा देखिएको ‘ईङलिस बाइबल’!

 

    Comment Here!