१५ चैत्र २०८०, बिहीबार

लेखक फनिश्याम थारूको निधन



काठमाडौं । बर्जु नगरपालिका–५, सुनसरीका थारू लेखक फनिश्याम थारूको ५७ वर्षको उमेरमा मंसिर २५ गते आफ्नै निवास विराटनगरमा निधन भएको छ ।
उनका ज्वाइ राधाकृष्ण चौधरीका अनुसार मृर्गौला र सुगरले पीडित उनी पछिल्लो पटक नेपाल मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका थिए । उपचारमा संग्लग्न चिकित्सकहरूले बचाउन नसकिने भनेपछि डिस्चार्ज गरी घरमै ल्याइएको थियो । उनका ३ छोरी, १ छोरा र श्रीमती रहेका छन् । अर्थशास्त्र र नेपालीमा एमए उनी निधन अघि एनएमबि माइक्रोफाइनान्स संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । त्यसअघि मेरो माइक्रोफाइनान्स संस्थाको प्रमुख कार्यकारी अधिकृत, प्लान नेपाल, यूएनडीपीमा अधिकृतको जिम्मेवारीमा थिए । उनको वास्तविक नाम फनिलाल चौधरी भए पनि उनी साहित्यमा फनिश्याम थारू लेख्थे ।
कृष्णराज सर्वहारीको थारू साहित्यको इतिहास (२०७३) पुस्तकमा उनीबारे लेखिएको छ, ‘थारू साहित्यको उत्थानको दोस्रो चरण (२०४७–२०६०) मा ई.स. १९६१ जून ५ मा अमाही बेल्हा–२, सुनसरीमा जन्मिएका फनिश्याम थारू सशक्त कवि तथा थारू भाषा साहित्यको अनुसन्धानकर्मीको रूपमा देखा परे । विराटनगरमा थारू विकास समन्वय परिषद गठन गरी त्यस मार्फत् थारू साहित्य श्रृंखलाको अगुवाई गरे । यसमा वाचित रचनाहरू डलयेती (२०४७) पत्रिकामा प्रकाशित भए, जसको सम्पादन फनिश्याम थारूले गरे । उनको जानकारीमा यसको करीब ५ अंक प्रकाशन भएको छ । २०४८ मा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा थारू लोक संस्कृति र चाडबाड विषयमा शोधपत्र बुझाए पनि बुझाएको दुई दशकपछि २०६९ सालमा मात्रै प्रकाशित हुन सक्यो । उनले २०४६ सालकै आसपासमा बुद्ध नय युद्ध जन्माउ (थारू कविता साग्रह), केतेक असल हमर गाम (थारू नाटक), केदलीके फूल (लोक कथा साग्रह) लगायत पाण्डुलिपि तयार गरेका छन् । तर यो हालसम्म प्रकाशोन्मुख छ ।’
यसरी उनका थारू लोकसंस्कृति र चाडबाड (२०६९) र थारू लोकसांहित्य: एक अध्ययन (२०७०) गरी दुई अनुसन्धानमूलक कृति प्रकाशित छन् । उनी डलयेती थारू पत्रिकाको पनि प्रधान सम्पादक हुन ।
खोज अनुसन्धान गरी पुस्तक प्रकाशनको लागि बुझाएको २० वर्षपछि प्रकाशनमा आएको थारू लोकसंस्कृति र चाडबाड पुस्तकलाई ४ अध्यायमा बाँडिएको छ । पहिलो अध्याय अनुसन्धान पद्धतिमा केन्द्रित छ भने दोस्रोमा थारू जातिको नालीवेली दिइएको छ । तेस्रोमा थारू लोकगीत र चौथोमा गीतको विभिन्न आयामको विवेचना गरिएको छ । पूर्वाञ्चल क्षेत्रको कोचिला, राजघरिया, सप्तरिया, मोरङगीमा, भटगमिया, खवास, खरहर, खोट्टा, हेलझेलिया, रौतार आदि उपथरहरूमा यो पुस्तक विशेष केन्द्रित रहेको छ । यसमा थारू लोकगीतको विकासक्रम, महत्त्व, विशेषता, वर्गीकरणदेखि लोकनृत्य, चाडबाडका लोकगीतको व्याख्यासहित वर्णन छ । त्यस्तै, थारू लोकगीतमा पाइने सामाजिक यथार्थ, लोकजीवन, खानपीन सम्बन्धी वर्णन, राजनैतिक, ऐतिहासिक चित्रण, आर्थिक जीवन, नारी जीवन, प्रकृति चित्रण, धर्म दर्शनको अभिव्यक्तिबारे पनि सांगोपांगो रूपमा चिरफार गरिएको छ । यसबाहेक थारू लोकगीतको विम्बविधान, काव्यत्मकता, भाव एवं रस अलंकार, साधरीकरण विषयमा पनि चर्चा गरिएको छ । ४४० पृष्ठको पुस्तकको मोल रु.४७५ रहेको छ ।
त्यस्तै, अर्को पुस्तक थारू लोकसांहित्य: एक अध्ययन (२०७०) नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशित गरेको हो । थारू लोकसंस्कृति र चाडबाड (२०६९) पुस्तकका लोकगीतबारेका केही अध्याय यसमा दोहरिएका छन् । यसबाहेक यसमा थारू लोकनाच, थारू लोकगाथा, थारू लोककथा, थारू कहबी, अरझा परझा, फकडादेखि पिहानीसम्म विषयवस्तु समेटिएको छ । ४४० पृष्ठको पुस्तकको मोल रु.४०० रहेको छ । थारू लोकसाहित्यको बारेमा अध्ययन गर्न चाहनेलाई प्रस्तुत दुबै पुस्तक कोशेढुंगा हो भन्दा फरक नपर्ला ।
फनिश्याम थारूको राजनीतिक व्यक्तित्व पनि थियो । उनी सुनसरीबाट एमालेको तर्फबाट सांसदको उम्मेद्वारदेखि पछिल्लो स्थानीय चुनावमा बर्जु नगरपालिकाको मेयरमा उठ्नु भएको थियो । तर दुबै चुनावमा उनीलाई भाग्यले साथ दिएन । र, बैंकिङ करियर अगाडि बढाउनु भएको थियो ।
लेखक फनिश्याम थारूको निधनप्रति थारू लेखक संघले गहिरो समवेदना प्रकट गरेको छ । संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ, फनिश्याम पूर्वी क्षेत्रका थारू भाषा, लोकसाहित्यका क्षेत्रमा सबैभन्दा अध्ययनशील व्यक्तित्व हुन । उनको निधनले थारू भाषा, लोकसाहित्यमा अपुरणीय क्षति भएको छ ।
यसैगरी अर्का थारू लेखक दाङदेउखुरी पिपरीका शत्रुघन चौधरीको ममतामयी आमाको पनि सोही दिन ७७ वर्षको उमेरमा निधन भएकोमा थारू लेखक संघले गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार