११ बैशाख २०८१, मंगलवार

अञ्चल अस्पतालको सेवा प्रभावकारी भएन– मानवअधिकार आयोग



धनगढी । राष्ट्रिय मानवअधिकार आयोगले धनगढीस्थित सेती अञ्चल अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको निष्कर्ष निकालेको छ ।
राष्ट्रिय मानवअधिकार आयोग, प्रदेश कार्यालय धनगढी तथा अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) ले बुधबार संयुक्त रूपमा गरेको अनुगमनपछि प्रदेशको एक मात्र रिफरल अञ्चल अस्पतालको सेवा प्रवाह सन्तोषजनक नरहेको ठहर गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकमा समेत सेती अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नहुँदा ठूलो संख्यामा सेवाग्राहीले उपचारका लागि राजधानी, नेपालगञ्ज वा भारतका विभिन्न अस्पतालमा धाउनु परिरहेको उल्लेख छ ।
राष्ट्रिय मानवअधिकार आयोगले बुधबार गरेको अञ्चल अस्पतालको अनुगमनमा मानवअधिकारका दृष्टिकोणबाट समेत अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको ठहर गरेको छ । यसले आम नागरिकको संविधानप्रदत्त अधिकारबाट समेत प्रदेशका बासिन्दाले बञ्चित हुनुपरेको राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालय, धनगढीका प्रमुख झंकरबहादुर रावलले बताए ।
आयोगका प्रदेश कार्यालय प्रमुख रावलले पछिल्लो चार महिनामा मात्रै अञ्चल अस्पतालका बारेमा प्रकाशित, प्रसारित समाचारप्रति चासो राखेर अनुगमन गरिएको बताए ।
इन्सेकका सुदूरपश्चिम प्रदेश प्रमुख खडकराज जोशीले अनुगमनका क्रममा अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नभेटिएकाले सरोकारवाला सबैले यसको स्तरोन्नतीमा चासो दिनपर्ने बताए ।
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर हेमराज पाण्डेले अस्पतालमा थुपै्र समस्या रहे पनि ती समस्या समाधानका लागि कतैबाट ठोस पहल नभएका कारण सेवा प्रवाहमा कठिनाई भइरहेको बताए । उनले दरबन्दीभन्दा निकै कम नर्सिङ स्टाफ तथा विशेषज्ञ डाक्टरका भरमा दैनिक ठूलो संख्यामा विरामीको उपचार गर्नुपर्ने बाध्यता रहेको बताए ।

गलत सन्देश प्रवाह भयो– मेसु पाण्डे
मेडिकल सुपरिटेन्डेन्ट पाण्डेले सेती अञ्चल अस्पतालका बारेमा पछिलला दिनमा गलत सन्देश प्रवाह भइरहेको गुनासो गरे । “अस्पतालले उपलब्ध स्रोत साधनबाटै पनि स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बनाउने प्रयास गरेको छ” उनले भने– “तर, एकतर्फी ढंगले गलत सन्देश तथा समाचार प्रवाह भइरहेकोले अस्पतालका प्रति नकारात्मक धारणा बृद्धि भइरहेको छ ।” उनले अस्पताल तथा स्वास्थ्य सेवाको संवेदनशीलता आत्मसात गरेर तथा सन्तुलित ढंगले समाचार प्रवाह गर्न आग्रह गरे ।
मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पाण्डेले ‘चार महिनामा ६६ नवजात शिशुको मृत्यु भएको’ विषयमा पनि उनले अस्पतालको लापरवाही नरहेको दावी गरे । उनले चार महिनाको अवधिमा दुई हजार आठ सय ५८ प्रसूति भएकोमा २३ नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको बताए । उनले अस्पतालमा प्रसूति गराउन आएका ३९ गर्भवतीको गर्भभित्रै शिशुको मृत्यु भएको तथा जन्मिने क्रममा चार शिशुको मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार