११ बैशाख २०८१, मंगलवार

गाँउपालिकाको भ्रमण टोलीलाई तमैलमा स्वागत



बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले झण्डै दुई साता लामो अवलोकन भ्रमणपछि आज (मंगलबार) टोली गाउँपालिका पुगेको छ । नेपाल तथा भारतको सिक्कीम र दार्जिलिगंका विभिन्न कृषि, पर्यटन, उर्जा तथा विकास सम्बन्धी भु–भागहरूको स्थलगत अवलोकन गरी टोली गाउँपालिका पुगेको हो । भ्रमण टोली गाउँ पुगेसँगै टोलीलाई स्थानीय तमैल बजारमा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार पोखरेल लगायत गाउँपालिकाका कर्मचारीहरूले स्वागत गरेका छन् । गाउँपालिकाको कृषि, पर्यटन, उर्जा तथा विकास निर्माणको अवस्थाको बारेमा नेपाल तथा भारतका विभिन्न भु–भागहरूमा अवलोकन भ्रमण गरी गाउँपालिकाको विकासमा थप टेवा पुग्ने उद्देश्यले मंसिर १२ गते भ्रमण सुरु गरेको थियो । दुई साता भ्रमणमा टोलीले विश्व सम्पदा सूचीमा परेको लुम्बिनीको विकास, कास्की जिल्लाको लुम्लेमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा कृषि वैज्ञानिकहरूसँग परामर्श, पोखराको फेवा ताल, डेविटफल्स, गुप्तेश्वर गुफाको पर्यटकीय अवस्थाको अवलोकन, काठमाडौंमा रहेको ऐतिहासिक तथा पुरातत्विक सम्पदा तथा त्यस क्षेत्रमा भएको विकास तथा सभ्यताको अवलोकन, एशिया कै अर्गानिक बाली फलाउने एक मात्र राज्यका रूपमा प्रख्यात भारतको सिक्कीमका गान्तोक र दार्जिलिङको चियावासी, म्यूजियम, पार्कहरूको लगायत बौद्ध गुम्बाहरूको समेत टोलीले अवलोकन गरेको थियो । त्यसैगरी, टोलीले ईलामको चियावारी लगायत यस क्षेत्रमा भइरहेको पर्यटकीय गतिविधिका बारेमा समेत जानकारी लिएको छ । नेपाल कै प्रख्यात गाईपालका लागि प्रसिद्ध मानिने चितवनको राष्ट्रिय गाई अनुसन्धान केन्द्रको भ्रमण र पशुविज्ञसँग परामर्श र व्यवसायिक मौरीपालनको समेत स्थलगत अनुगमन गरेको हो । टोलीले कैलालीको धनगडीमा रहेको माछापालन अनुसन्धान केन्द्रको समेत अवलोकन गरेको थियो । गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले भने, “भ्रमण उपलब्धिमूलक भएको छ र त्यहाँका विकासक्रम, कृषि, पर्यटन, उर्जा लगायत पुरातत्विक सम्पदाको संरक्षण र संवद्र्धनबाट भइरहेका आर्थिक गतिविधिहरूले गरिबी निवारणमा पु¥याएको टेवाले गर्दा आफूले पनि अब गाउँपालिकामा लागू गर्न ठूलो प्रेरणा मिलेको छ ।” उनले थपे, “राम्रो काम गर्नेलाई सबैले राम्रो भन्नु पर्दछ भ्रमणको विषयलाई लिएर सामाजिक सञ्जालमा भ्रम सिर्जना गरिएको प्रति दुःख व्यक्त गरे । अध्यक्ष रोकायाले भने, “भ्रमण कृषिमा मात्र केन्द्रित होइन यो त पर्यटन, उर्जा, विकासक्रमको जानकारी, कला सस्कृतिलगायत सबै क्षेकको अनुभव लिएर आफ्नो गाँउमा लागू गर्ने कार्य हो” ।यसै आर्थिक वर्ष ०७५/०७६ को गाउँ सभाबाट कृषि, पर्यटन, उर्जा र अन्य विकासक्रमको जानकारी तथा अनुभव लिनका लागि अवलोकन भ्रमणका लागि दश लाख रुपयाँ विनियोजन गरिएको थियो । खप्तड छान्ना गाँउपालिका २ का वडा अध्यक्ष डबलबहादुर सिंहका अनुसर भ्रमणले गाउँपालिकाको विकासमा सकारात्मक परिवर्तन ल्याउने आफू विश्वस्त भएको बताए । उनले भने, “हामीले हाम्रो उद्देश्यका अनुसार काम गरेका छौं ।” भ्रमणका विषयमा सामाजिक सञ्जालमा भ्रम र गलत सूचना सम्प्रेसण भएको भन्दै गाँउपालिकाले आपत्ती समेत जनाएको छ । गाँउपालिका उपाध्यक्ष पाउसरा थापाले स्थानीय सरकारको आफू पनि प्रतिपक्ष भएको बताए । “गाउँपालिकाको विकास र समृद्धिका लागि हामीहरूले पक्षविपक्ष नभनिकन लागि रहेका छौं,” थापाले भने ।
पछिल्लो समयमा स्थानीय सरकारहरूले विकास, समृद्धि र विभिन्न विषयको जानकारी तथा ज्ञान लिनका लागि अवलोकन भ्रमण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार