१६ चैत्र २०८०, शुक्रबार

पूर्व मन्त्री चौधरी व्यवसायतर्फ (भिडियोसहित)



जोशीपुर (कैलाली) । कलेजमा पढ्दापढ्दै २०४८ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएर पटकपटक मन्त्री बनिसकेका रामजनम चौधरी अहिले होटल व्यवसायमा होमिएका छन् । प्रजातन्त्र पुनस्र्थापनापछि भएको २०४८ सालको पहिलो आम निर्वाचनमा रामजनम नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर २ बाट पहिलो पटक संसद सदस्य निर्वाचित भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको आम निर्वाचनमा पनि काँग्रेसबाट संसद सदस्यमा निर्वाचित उनी २०५४ सालमा सहायक मन्त्री बनेपछि पटकपटक मन्त्री बने । २०६४ सालमा मधेसी जनअधिकार फोरममा प्रवेश गरेका उनी २०६६ सालमा विजयकुमार गच्छेदार नेतृत्वमा फोरम लोकतान्त्रिक पार्टीमा महासचिव र पछि उपाध्यक्ष बने । २०७४ सालको निर्वाचन अघि फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमा समाहित भएपछि उनी पछिल्लो निर्वाचनमा काँग्रेसकै तर्फबाट कैलाली क्षेत्र नम्बर २ उम्मेदवार बनेकोमा पराजित भएका थिए ।

अहिले रामजनम आफ्नै गाउँ जोशीपुरको झवहीमा ठूलो लगानीमा होटल व्यवसाय सञ्चालनको तरखरमा छन् ।
जोशीपुर गाउँपालिका वडा नम्बर ४, झबहीमा उनले थारू फुडल्याण्ड रिसोर्ट निर्माण गरेका छन् । पूर्वमन्त्री चौधरीका अनुसार आफ्नै साढे तीन कठ्ठा जग्गामा एक करोड ५० लाख रुपैयाँ बढीको लगानीमा रिसोर्टको निर्माण कार्य अन्तिम चरण्मा पुगेको छ ।
उनको थारू फुडल्याण्ड रिसोर्टमा पाँच कोठे आवास गृह र एक आधुनिक सभाहल छ । सँगै माछापालनका लागि ताल निर्माण भइरहेको छ । पूर्वमन्त्री चौधरीले भने– “आगामी माघ महिनाको पहिलो सातादेखि रिसोर्ट सञ्चालनमा ल्याउने तयारीमा छु ।”उनी थारू फुडल्याण्ड रिसोर्टमार्फत ‘थारू समुदायको मौलिक आफ्नो संस्कृति संरक्षण तथा सम्वद्र्धनमा समेत टेवा पुग्ने’ विश्वास गर्छन् । भन्छन्– “यो रिसोर्टमा थारू समुदायको विशेष खानाका परिकार (गंगेटा, घोंघी, माछा, लोकल कुखुरा, ढिक्री, फुलौरी, बरिया, खरियाँ आदि) उपलब्ध हुने छ । त्यस्तै, मौलिक थारू नाच पनि प्रस्तुत गरिने छ ।”
जिल्लाको मध्यभाग तथा राजमार्ग तथा शहरभन्दा टाढा गाउँमा डेढ करोड रुपैयाँ बढीको लगानीमा आधुनिक रिसोर्ट खोल्ने आँट कसरी गर्नुभयो ? पूर्वमन्त्री रामजनमको सहज जवाफ छ– “गाउँको विकासमा पनि ध्यान दिनु पर्छ भनेर यो शुरु गरेको छु । मैले यसमार्फत आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छु ।”उनको अनुभवमा अहिलेसम्म कैलालीमा यति व्यवस्थित र सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छैन । उनले रिसोर्टले शुरुमै ३० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने बताए ।
२७ वर्षदेखि सांसद, मन्त्री, सहित राजनीतिक दलको उपल्लो तहको नेतृत्वमा रहेका नेता रामजनमले होटल व्यवसायसँगै सक्रिय राजनीतिलाई पनि निरन्तरता दिने बताए । “बिहानदेखि साँझसम्म स्थानीय जनता तथा कार्यकर्तासँग भेटघाटका साथै पार्टीका कार्यक्रममा सहभागी बन्छु” उनले भने– “रातिको समय रिसोर्टका लागि खर्च गर्छु ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार