१३ बैशाख २०८१, बिहीबार

सम्पादकीय : निर्मला हत्याकाण्डका नाटकीय घटनाक्रम



बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरका बालिका निर्मलाको न्यायका लागि चार महिनादेखि देशभरी र विदेशमा समेत आवाज उठिरहेका छन् । घटना भएको चार महिना बढी भइसकेको छ । यस बीचमा प्रहरीले एकपछि घटनामा संलग्न भएको दावी गर्दै एक पछि अर्को गर्दै थुप्रै व्यक्तिलाई नियन्त्रणमा लियो, र छोड्यो । यो घटनाको अनुसन्धानमा चरम लापरवाही भएको आरोपमा सरकारले दुई जना प्रहरी अधिकारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरी सेवाबाटै बर्खास्त गरेको छ । निर्मला बलात्कार तथा हत्या घटनाको सत्यतथ्य छानबिन तथा वास्तविक दोषि पत्ता लगायत माग गर्दै विभिन्न चरणमा आन्दोलन भए र विभिन्न स्वरूपमा अहिले पनि जारी छन् । आन्दोलनका क्रममा प्रहरीको गोलीबाट एक युवकको निधन समेत भइसकेको छ । तर, अहिले पनि घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन । अनुसन्धानका क्रममा प्रहरीले धेरैजनालाई नियन्त्रणमा लिइसकेको छ । तर, वास्तविक दोषि अझैं पत्ता लाग्न सकेको छैन । न त प्रहरी वा सरकारको दावीलाई आम नागरिकले पत्याउन नै सकेका छन् ।
पछिल्लो पटक प्रहरीले प्रदीप र विशाल दुई युवकलाई पक्राउ गरेको छ । यससँगै सरकारका वरिष्ठ मन्त्रीले सार्वजनिक रूपमा नै “निर्मलाको बलात्कार र हत्यामा संलग्न हत्याराको पहिचान भइसकेको र केही दिनभित्रै प्रक्रिया पुर्‍याएर सार्वजनिक गर्ने” घोषणा गरेका छन् । तर, सरकारका मन्त्रीको सो कथनप्रति आम नागरिकले विश्वास गर्न सकेका छैनन् । सरकारका मन्त्रीले सार्वजनिक रूपमा नै निर्मला हत्या घटनाका वास्तविक दोषिको पहिचान भइसकेको र केही दिनभित्रै प्रक्रिया पुर्‍याएर सार्वजनिक गरिने घोषणा गरिरहँदा आम नागरिकले किन पत्याउन सकेका छैनन् ? मननयोग्य सवाल हो । वास्तवमा सरकारका मन्त्री, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतले यस अघि पटकपटक निर्मला हत्याकाण्डबारे थुप्रै पटक विभिन्न अभिव्यक्ति दिएका छन् । तर, अहिलेसम्म कुनै नतिजा आउन सकेको छैन । त्यसै भएर नै अहिले सरकारका वरिष्ठ मन्त्रीले निर्मला हत्या घटनाका दोषिको पहिचान भइसकेको दावी गरिरहँदा आम नागरिकले फेरि पनि सरकारको नियतमाथि नै शंका व्यक्त गरिरहेको अवस्था छ । यो अर्को बिडम्बना हो ।
निर्मलाको न्यायका लागि सडकमा उठिरहेका आवाज तथा विभिन्न स्वरूपका आन्दोलनलाई सरकारले ‘प्रतिगामी’ देखिरहेको छ । त्यसै भएर नै सरकारका मन्त्री तथा सत्तारुढ दलका प्रभावशाली मानिएका नेताहरूले निर्मलाको न्यायका लागि देशका विभिन्न स्थानमा भइरहेको आन्दोलनलाई पटकपटक षड्यन्त्रका रूपमा व्याख्या गरेका छन् । एक बालिकामाथि बलात्कार र हत्या भएको घटनामा यति लामो समयसम्म पनि सत्यतथ्य पत्ता लगाउन नसकेकोमा देशभित्र र बाहिर सरकारको यतिबिघ्न आलोचना हुँदा समेत फेरि पनि सरकारका मन्त्रीहरू तथा सत्तारुढ दलका शीर्ष नेताहरू यो घटनाप्रति गम्भीर हुनुको साटो हल्का टिप्पणी गर्न मै मग्न रहेको देखिनु साँच्चै नै दुर्भाग्य हो । यो घटनामा मानसिक सन्तुलन बिग्रेका दिलिप बिष्टदेखि अहिलेसम्म थुप्रैलाई दोषिका रूपमा प्रस्तुत गरिएको छ । यसका साथै न्यायका लागि उठेका आवाजहरूलाई सरकारले आफूविरुद्धको षड्यन्त्रका रूपमा व्याख्या गरिरहेको छ । त्यसैले यो घटनामा दन्तबजान होइन, विश्वासिलो प्रमाणसहित वास्तविक दोषि पत्ता लगाउने तर्फ सरकार गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार