१५ चैत्र २०८०, बिहीबार

आधुनिक आरन पेसामा जम्दै



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका टीकापुर जाने सडकको बायाँ किनारामा खुला आरन सञ्चालनमा छ । १० बज्दानबज्दै पुस्कर विश्वकर्मा (५२) त्यहाँ आइपुग्छन् । र, दिनभरी कोइला, आगो र फलामसँग खेलेर साँझ घर फर्किन्छन् । कैलालीको नारायणपुर सत्तीमा जन्मिएका पुस्करले १२ वर्षको कलिलो उमेरमै बुवासँगै आरान पेसामा लागेका थिए । “त्यतिबेला खलो प्रथा अनुसार आरन चलाएर मौसमअनुसार अन्न लिने गर्दथ्यौ” उनले सम्झिए– “लामो समयसम्म यसरी नै आरन चलाएपछि खलो प्रथाका कारण श्रम शोषण भइरहेको महसुुस भएपछि त्यहाँबाट लम्की बजारमा आयौं र आधुनिक आरन पेसा अगाडि बढायौं ।”
उनको अनुभवमा “लम्कीमा आरन पेसा शुरु गरेपछि काम गर्न सजिलो भएको छ । खलो प्रथा अनुसार काम गर्दा गाउँगाउँ चहारेर आँसी, कुटो, कोदालो, फरुवा, बञ्चरो लगायतका सामान संकलन गर्नु पथ्र्यो र कारेर घरघर पुर्‍याउनु पर्दथ्यो । तर, अहिले ती सबै झन्झटबाट छुट्कारा मिलेको छ ।”
अहिले उनको आरनमा ग्राहक स्वयं आफ्ना सामान ल्याएर आउने गर्दछन् । “अहिले कतै धाउनु परेको छैन” उनले भने– “काम अनुसारको दाम पाइएको छ । कोहीकसैसँग हात थाप्नु परेको छैन । दैनिक सरदर दुई हजार रुपैयाँ कमाई भइरहेको छ । घर व्यवहार राम्रैसँग चलिरहेको छ ।” पुस्करले आरनमा काम गर्ने चार जनालाई दैनिक पाँच सय रुपैयाँ पारिश्रमिकमा रोजगरी दिएका छन् । उनका तीनवटा आरन सञ्चालनमा छन् । उनले मासिक सात हजार रुपैयाँ तिरेर जमिन भाडामा लिएर खुला आकासमुनि आरन सञ्चालन गरिरहेका छन् ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय टिकाराम सुनार पनि अहिले आधुनिक आरन पेसामा लागेका छन् । दश वर्षको कलिलो उमेरदेखि पुर्खौली आरन पेसा सञ्चालन गरेका टीकारामले भने– “बुवाले गाउँमै खलो प्रथामा आरन चलाउथें । म पनि बुवासँगै काम गर्थे । मैले नै खलो प्रथाको अन्त्य गर्न लम्कीमा आधुनिक आरन पेसा शुरु गरे ।”
उनको आरनमा चार जना दैनिक पाँच सय रुपैयाँ ज्यालामा काम गरिरहेका छन् । “मेरो आरनमा एक सय ३० रुपैयाँ देखि दुई हजार पाँच सय रुपैयाँ मूल्यका सामान बिक्री हुने गरेका छन्” टीकारामले १० वर्षदेखि लम्कीमा आधुनिक आरन सञ्चालन गरिरहेका छन् ।
उनले साढे छ लाख रुपैयाँमा फलाम पिट्ने विद्युतीय मेसिन खरिद गरेर जडान गरेका छन् । “यो पेसा जोखिमपूर्ण छ । आगो र फलामसँग काम गर्नुपर्छ । खुला ठाउँमा काम गर्नु परेकोले धुलो र धुवा सहनु परिरहेको छ” उनले भने– “नगरपालिकाले आरन पेसाका लागि उपयुक्त ठाउँको व्यवस्था गरिदिएको भए सहज हुन्थ्यो ।”
त्यस्तै, लम्कीमा सवारी चालकको काम गर्दै आएका लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का सन्तोष विक पनि अहिले आरन पेसामा होमिएका छन् । “१५ वर्ष ड्राइभर भएर काम गरे” उनले भने– “आरन पेसा नै स्वतन्त्र लाग्यो । अहिले स्वतन्त्र रूपमा आफ्नो काम गरिरहेको छु ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार