१६ चैत्र २०८०, शुक्रबार

पेन्सनको रकमबाट अक्षयकोषको स्थापना



धनगढी । दिपायल सिलगढी नगरपालिका वडा नं. ६ की धनकुमारी जोशीले आफ्ना स्वर्गीय पति गोपालप्रसाद जोशीको स्मृतिमा डोटी बहुमुखी क्याम्पसमा एक लाख पच्चीस हजार रुपयाँको अक्षयकोष स्थापना गरेकी छन् ।

अक्षयकोषको व्याजबाट आउने रकमबाट स्नातक तहको अनिवार्य नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई प्रत्येक वर्ष ‘गोपालप्रसाद स्मृति पुरस्कार’ प्रदान गरिने बताइएको छ । आफूले त्रिभुवन विश्वविद्यालयबाट पाएको पेन्सनबाट केही रकम बचत गरी शिक्षा क्षेत्रमा समर्पित नेपाली भाषा र साहित्यको उन्नयन चाहने आफ्ना पतिको इच्छा पूरा गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको धनकुमारीले बताएकी छिन् । नगरपालिका प्रमुख मञ्जू मलासीको प्रमुख आतिथ्यमा स्थानीय बुद्धिजीवी, समाजसेवी र क्याम्पस परिवारका साथै जोशीका परिवारजनको उपस्थितिमा डोटी क्याम्पसमा आयोजित एक समारोहमा धनकुमारी जोशीद्वारा क्याम्पस प्रमुख कृष्णबहादुर कठायतलाई अक्षयकोषको रकम हस्तान्तरण गरिएको थियो ।
सहायक क्याम्पस प्रमुख अर्जुन देउवाद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा उपस्थित सबैलाई नेपाली विभागका प्रमुख सहप्राध्यापक खेमराज पनेरूले स्वागत गरेका थिए । क्याम्पस प्रमुख कठायतद्वारा अक्षयकोषका संस्थापक धनकुमारी जोशीका साथै उनका परिवारजनलाई फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । धनकुमारी तथा गोपालप्रसाद जोशीकी पुत्री त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पसकी उपप्राध्यापक दिव्येश्वरी जोशीले अक्षयकोष स्थापनाको उद्देश्य प्रष्ट पार्दै अक्षयकोषको व्याजबाट दिइने ‘गोपालप्रसाद स्मृति पुरस्कार’ ले विद्यार्थीमा नेपाली विषयप्रति रुचि जगाउनुका साथै भाषा र साहित्यको उन्नयनमा योगदान पुग्ने बताइन् । उनले आफ्ना पिताप्रतिको श्रद्धाभाव र मातृभूमिप्रतिको स्नेह प्रकट गर्दा समारोह भावुक बनेको थियो ।
स्थानीय समाजसेवी तथा बुद्धिजीवी प्रेमशङ्कर भट्ट र भेषराज जोशीले स्व. जोशीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । सादा जीवन र उच्च विचारका धनी गोपाल गुरुजी धार्मिक आस्था र आध्यात्मिक विचारका शिक्षाप्रेमी र समाजसेवी व्यक्ति थिए । उनले शैलेश्वरीको विकासका लागि महत्त्वपूर्ण योगदान दिएका थिए । उनकै सक्रियतामा गीता पुस्तकालयको स्थापना भएको थियो । डोटी क्याम्पसको स्थापना कालमा उनको योगदान महत्त्वपूर्ण रहेको थियो । उनी डोटी क्षेत्रका एक उज्ज्वल नक्षत्र थिए । संस्कृत भाषाका ज्ञाता जोशीद्वारा अनूदित विभिन्न पुस्तक तथा पत्रपत्रिकामा प्रकाशित लेखहरू ज्ञानार्जनका लागि उपयोगी रहेका छन् । सधैं अध्ययन र अनुशीलनमा तल्लीन रहने र अरूलाई पनि त्यस मार्गमा प्रेरित गर्ने उनको व्यक्तित्व सदैव स्मरणीय र उदाहरणीय रहेको कुरा वक्ताहरूले स्मरण गरेका थिए । दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जू मलासीले गोपाल गुरुजीको सादा जीवन र सरल व्यवहारबाट आफू प्रभावित भएको उल्लेख गर्दै गुरुजी मात्र नभएर शिक्षाको महत्त्व बुझेकी गुरुआमा पनि समाजलाई बाटो देखाउने अभिभावकका रूपमा रहेको बताइन् ।
क्याम्पस प्रमुख कृष्णबहादुर कठायतले २०२० सालदेखि लगभग चार दशकसम्म अनवरत प्राध्यापन सेवा गरेका गुरुको ज्ञान गरिमाले सिञ्चित दक्ष जनशक्ति आज देशका विभिन्न क्षेत्रमा स्थापित भएका छन् भन्दै गुरुजीको विचार र भावनाको कदर गरेर क्याम्पसले उनलाई प्रेरणा स्रोतका रूपमा सदैव स्मरण गरिरहनेछ भने । कठायतले उनको स्मृतिमा अक्षयकोष स्थापना गर्ने उहाँकी धर्मपत्नीमा रहेको पतिप्रतिको श्रद्धाभाव र शिक्षाप्रेमको प्रशंसा गरेका थिए । अन्तमा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्दै समारोहको समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार