११ बैशाख २०८१, मंगलवार

नर्स नहुदा स्वास्थ्य सेवा प्रभावित



बैतडी । एक महिनादेखि नर्स नहुँदा जिल्ला अस्पतालमा सेवा प्रभावित हुँदै आएको छ । चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल अहिले नर्सविहीन छ । नर्स नहुँदा सबैभन्दा बढी प्रसूति सेवा प्रभावित भएको छ ।
अस्पतालमा नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा जगदीशचन्द्र विष्टले बताए । जटिल खालको प्रसूति सेवा दिन तालिमप्राप्त स्टाफ नर्सको आवश्यकता पर्छ ।
जिल्ला अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा नर्सको अभावमा प्रभावित भएको उनले बताए । ‘शल्यक्रिया गर्न चिकित्सकलाई सहयोगीका रूपमा स्टाफ नर्सको आवश्यकता पर्छ,’ उनले भने । यसका साथै गर्भवतीको अल्ट्रासाउण्ड सेवासमेत ठप्प भएको उनले बताए ।
अल्ट्रासाउण्ड गर्ने तालीमप्राप्त नर्सको सरुवा भएपछि सेवा प्रभावित भएको हो । जिल्ला अस्पतालमा तीन चिकित्सकको दरबन्दी छ । हाल एक जना मात्र कार्यरत छन् । अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा लिनका लागि छिमेकी जिल्ला दार्चुलाका विभिन्न ठाउँका सेवाग्राहीसमेत आउने गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पाटन र मेलौलीमा समेत स्टाफ नर्सको दरबन्दी रिक्त छ ।
चिकित्सक र नर्सको अभावमा यहााका बिरामी उपचारका लागि डडेल्धुरा, धनगढी तथा सीमावर्ती भारतीय शहर पिथौरागढ जानुपर्ने बाध्यता छ । स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरेपछि झन् समस्या भएको छ । जताततै कर्मचारी अभाव छ ।
‘सामान्य बिरामीले पनि उपचार गर्न भारत जानु परिरहेको छ,’ दोगडाकेदार–३ श्रीकोटका राम विष्टले भने, ‘स्थानीस्तरमा भएका स्वास्थ्य चौकीको स्तरोन्नति गरी दरबन्दीअनुसारका चिकित्सक र नर्स पूर्ति गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार