१३ बैशाख २०८१, बिहीबार

आधा बढी स्थानीय तहमा आर्युवेद सेवा पुग्न सकेन



धनगढी । सुदूरपश्चिम प्रदेशमा अझसम्म आधाभन्दा बढी स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा पुग्न सकेको छैन । पछिल्लो समयमा आयुर्वेदिक उपचार पद्धतिप्रति आकर्षण बढे पनि सुदूरपश्चिम प्रदेशमा अझै ५० वटा स्थानीय तहमा आयुर्वेदिक स्वास्थ्य संस्था पुग्न सकेको छैन ।
सुदूरपश्चिम प्रदेशमा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ वटा स्थानीय तह रहेकोमा हाल ३८ वटा स्थानीय तहमा मात्र आयुर्वेदिक स्वास्थ्य सेवा रहेको छ ।
नेपालमा नसर्ने रोगबाट मृत्यु दर बढिरहेको सन्दर्भमा आयुर्वेदिक उपचार पद्धति प्रभावकारी मानिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका आयुर्वेदिक महाशाखा प्रमुख डाक्टर चेतराज जोशीका अनुसार नेपालमा विभिन्न रोगका कारण हुने मृत्युमा नसर्ने रोगबाट हुने मृत्यु दर ६० प्रतिशत रहेको छ । सरकारले हरेक स्थानीय तहमा आयुर्वेदिक स्वास्थ्य सेवा सञ्चालन गर्ने नीति लिएको छ ।
आयुर्वेद स्वास्थ्य संस्थाहरूबाट पूर्वकर्म/पञ्चकर्म, योगसेवा, ओपीडी सेवा तथा जीवनशैली परामर्श सेवा सञ्चालन हुने गरेको छ । आयुर्वेदिक महाशाखा प्रमुख डाक्टर जोशीले भने– “नसर्ने रोगबाट हुने मृत्यु दर रोकथामका लागि आयुर्वेद र योगको प्रयोग विस्तार गर्नु जरुरी भइसकेको छ ।” आयुर्वेद उपचार पद्धतिलाई दीर्घरोग, जीवनशैलीगत रोग र नसर्ने रोगको व्यवस्थापनमा निकै प्रभावकारी मानिदै आएको छ । आयुर्वेद उपचार पद्धतिमा जडिबुटीहरूबाट तयार गरिएका औषधिको प्रयोग हुने भएकोले औषधिको दुष्प्रभाव (साइड इफेक्ट) नहुने, स्थानीय स्तरमा उपलब्ध जडिबुटीबाट उपचार गर्न सकिने हुनाले कम खर्चिलो र बढी प्रभावकारी हुने मानिन्छ ।
डाक्टर जोशीका अनुसार आयुर्वेदिक उपचार पद्धतिमा जडिबुटी र यसबाट तयार भएका औषधि मात्रै प्रयोग हुने हुँदा मानव स्वास्थ्यमा राम्रो प्रभाव पर्ने, वातावरण मैत्री हुने र आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषता मानिने रसायन औषधि प्रयोगले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषताका रूपमा रहेका पूर्वकर्म/पञ्चकर्म (वमन, विरेचन, बस्ति, नस्य, रक्तमोक्षण) आकर्षक शरीर शुद्धिकरण विधि समेत मानिन्छ ।

जनशक्ति अभाव झेल्दै औषधालयहरू
अर्कोतिर, आयुर्वेदिक स्वास्थ्य संस्था सञ्चालनमा रहेका अधिकांस स्थानीय तहमा स्वास्थ्य जनशक्तिको कमी रहेको तथ्यांकले देखाएको छ । हाल सुदूरपश्चिम प्रदेशका ३८ वटा स्थानीय तहमा ४२ वटा आयुर्वेदिक स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् ।
४२ वटा आयुर्वेदिक स्वास्थ्य संस्थामा १४ जना कविराज र पाँच जना वैद्यको दरबन्दी पुरा हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयका अनुसार डडेल्धुराको जोगबुडा आयुर्वेद औषधालय र आलिताल आयुर्वेद औषधालय, बैतडी आयुर्वेद औषधालय, मुस्याचौर आयुर्वेद औषधालय, गाजरी आयुर्वेद औषधालय, व्यासी आयुर्वेद औषधालय, गोकुले आयुर्वेद औषधालय, तोलेनी आयुर्वेद औषधालय, जोरायल आयुर्वेद औषधालय, उर्मा आयुर्वेद औषधालय र विनायक आयुर्वेद औषधालयमा कविराजको दरबन्दी पुरा भएको छैन ।
त्यस्तै, रूपाललामिकाडे आयुर्वेद औषधालय, मणिलेख आयुर्वेद औषधालय र थलारा आयुर्वेद औषधालयमा कविराज र वैद्यको दरबन्दी अझै पुरा भएको छैन । भने दार्चुला जिल्ला आयुर्वेदिक औषधालय स्वास्थ्य केन्द्र र लाटामान्डु आयुर्वेद औषधालयमा अझैं वैद्य पठाइएको छैन ।
आयुर्वेद औषधालयमा स्वास्थ्य जनशक्ति आपूर्ति नहुँदा स्वास्थ्य उपचार सेवा नियमित तथा प्रभावकारी बनाउन नसकिएको डाक्टर जोशीले बताए ।
आयुर्वेदिक उपचार पद्धतीलाई प्रभावकारी बनाउन आयुर्वेद स्वास्थ्य संस्थाहरूमा ल्याव, रेडियो डायग्नोष्टिक सामग्री आदिको अभाव हुनु, संस्थागत रूपमा सबै जिल्लाहरूमा र प्रदेश स्तरमा पञ्चकर्म केन्द्र नहुनु, प्रदेशमा आयुर्वेद औषधि प्रशोधन केन्द्र नहुनु, व्यवसायिक रूपमा जडिबुटी खेति विस्तारको अभवा तथा उपलब्ध जडिबुटीको उचित बजार व्यवस्थापनमा कमी लगायतका समस्या रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिष्ठान तथा केन्द्र स्थापनाका लागि बजेट
मन्त्रालयले हाल आयुर्वेदको विकासको लागि सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान, प्रादेशिक हर्बल गार्डन र प्रादेशिक योग तथा पञ्चकर्म केन्द्र बनाउनको लागि बजेट बिनियोजन गरेको जनाइएको छ ।
मन्त्रालयले कैलालीको धनगढी, राजपुरमा बन्न लागेको आयुर्वेद प्रतिष्ठानका लागि दुई करोड रुपैयाँ विनियोजन गरिसकेको जनाएको छ । प्रतिष्ठानका लागि आवश्यक विधेयक ड्राफट तयार भइसकेको जनाइएको छ ।
त्यस्तै, मन्त्रालयले गौरिगंगा नगरपालिकामा प्रादेशिक हर्वल (जडिबुटी उद्यान) बनाउनका लागि ५० लाख, प्रादेशिक योगकेन्द्रका लागि ५० लाख र पञ्चकर्म केन्द्र (मसाज, बाथले सेक्ने, वस्तीकर्म गर्ने) का लागि ५० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
यससंगै मन्त्रालयले आयुर्वेदिक चिकित्सक, कर्मचारीको क्षमता अभिवृद्धि, जनचेतनामूलक कार्यक्रमहरूका लागि पनि बजेट विनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार