१२ बैशाख २०८१, बुधबार

पहाडी जिल्लामा मेडिकल कलेज बन्नुपर्छ– डाक्टर केसी



धनगढी । प्राध्यापक डाक्टर गोविन्द केसीले सुदूरपश्चिमका पहाडी जिल्लालाई लक्षित गरि मेडिकल कलेज स्थापना गर्न माग गरेका छन् ।
‘सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था तुलनात्मक रुपमा दयनीय छ’ आइतबार धनगढीमा पत्रकारहरुसंग कुराकानी गर्दै प्राध्यापक डाक्टर केसीले भने– अहिले कैलालीमा एक मेडिकल कलेज बनिरहेको छ, तर पहाडी जिल्लाहरुलाई लक्षित गरेर अर्को मेडिकल कलेज बन्नु आवश्यक छ । डाक्टर केसीले सुदूरपश्चिम प्रदेशको डोटी वा डडेल्धुरामा मेडिकल कलेज खुल्नुपर्ने बताए । उनले भने– डोटी वा डडेल्धुरामा मेडिकल कलेज खुलेमा अछाम, बझाङ, दार्चुला र बैतडीका बासिन्दाले सहज ढंगले स्तरीय स्वास्थ्य सेवा प्राप्त सहज हुने बताए । उनले विगतमा सरकारहरुसंग यसबारे सम्झौता गरिएको भए पनि अहिलेसम्म कार्यान्वयनमा कसैले ध्यान नदिएको बताए ।
प्राध्यापक डाक्टर केसीले सुदूरपश्चिम र कर्णाली प्रदेश सधैं राज्यबाट उपेक्षित रहेकाले सर्वसाधारणले स्वास्थ्य सेवा लिन अन्यत्र जान बाध्य भइरहेको चर्चा गरे । उनले भने– आर्थिक अवस्था बलियो भएका मानिस काठमाडौं वा नेपालगञ्ज अथवा भारतका विभिन्न स्थानमा पुगेर स्वास्थ्य सेवा लिइरहेका छन्, तर विपन्न व्यक्तिहरु उपचारका लागि कही पनि जान सक्दैनन् ।
प्राध्यापक डाक्टर केसीले गेटामा निर्माणाधीन मेडिकल कलेज दुई वर्षभित्र सञ्चालनमा आइसक्ने अपेक्षा गरे ।
एक अर्को प्रसंगमा प्राध्यापक डाक्टर केसीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्तको घटनामा राज्य पक्षबाटै प्रमाण मेटाउने काम भएको आरोप लगाए । निर्मलाको न्यायका लागि कञ्चनपुरमा जारी धर्नामा ऐक्यवद्धता जनाएका डाक्टर केसीले ‘तीन करोड नेपालीलाई नै लज्जित बनाएको यो घटनामा संलग्न अपराधीलाई सरकारले अहिलेसम्म पत्ता लगाउनु नसक्नु दूर्भाग्य” भएको बताए ।
डाक्टर केसीले निर्मला हत्या घटनामा प्रमाण मेटाउन संलग्न भएका व्यक्तिहरुलाई फौजदारी अपराध अन्तर्गत मुद्दा लगाउन माग गरे । ‘यत्रो जघन्य अपराधको घटनामा प्रमाण मेटाउनु उत्तिकै ठूलो अपराध हो” उनले भने– त्यसैले कसैलाई निलम्बन गरेर मात्रै पुग्दैन । उनीहरुमाथि मुद्दा चलाउनु पर्छ । त्यसो भएपछि मात्रै उनीहरुबाटै घटनाको सत्यतथ्य बाहिर आउने छ ।
एकअर्को प्रसंगमा डाक्टर केसीले सरकारले आफूसँग गरेको सम्झौता अनुसारका काम आगामी पुस २ गतेसम्म पुरा नभए पुन: अनसनमा बस्ने अल्टिमेटम दिइसकेको बताए । डाक्टर केसीले १५ औं पटकको अनशनका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन नगरिए पुस २ गतेबाट १६ औं पटकको अनसनमा बस्ने घोषणा गरिसकेका छन् ।
उनले सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन संशोधन गरेर संसदबाट अविलम्ब पारित गर्नुपर्ने, सरकारको निर्णय उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनु पर्ने, सो घटनामा प्रमाण नष्ट गर्ने तथा झूठा प्रमाण बनाउने, बेकसुर व्यक्तिलाई यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या गर्नेहरुमाथि तत्काल फौजदारी मुद्दा चलाउन माग दोहोर्‍याए ।
१५ औं पटकको अनसन जुम्लामा शुरु गरेका डाक्टर केसीले १६ औं अनसन कुन ठाउँबाट सञ्चालन गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनलेभ ने– अहिले नै स्थानबारे भन्न सक्दैन, अनसन बसेपछि थाहा पाइहाल्नु हुनेछ ।
डाक्टर केसीले स्वास्थ्य क्षेत्र सुधारका लागि सबै क्षेत्रको साथ र सहयोगले सफल हुन लागेको बताए । भने– ‘अब सानो खुडकिलो मात्र बाकी छ ।’ उनले संशोधित चिकित्सा शिक्षा ऐन पारित भए धनाढय मात्र होइन सबै वर्गका विद्यार्थीहरुको पहुँच बृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार