७ बैशाख २०८१, शुक्रबार

स्टेम उत्सवमा सिकाई र सीप प्रदर्शनी (फोटो फिचर र भिडियोसहित)



धनगढी । मर्सिकोर नेपाल र बेस कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको ‘स्टेम उत्सव’मा बालबालिकाहरुले आफ्ना सिकाई र सीपको प्रदर्शनी गरेका छन् ।
सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग (स्टेम) परियोजनाको ‘छोरी पढाऊँ, गरीवि हटाऊँ’ अभियान अन्तरगतको उत्सवमा लक्षित वर्ग र सरोकारवालाहरुले सिकाई स्थानान्तरण र जीविकोपार्जन गतिविधि प्रदर्शनीसहित उत्सव मनाएका हुन् । विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका बालबालिका तथा शिक्षक, अभिभावक र सरोकारवालाहरुले आफ्नो अनुभव बाँड्नुका साथै प्रविधि र सिकाईहरु प्रदर्शन गरेका थिए ।

धनगढी उपमहानगरपालिका वडा नं. ८ को धनगढी नमुनामा माविका छात्राहरुले धनगढी ग्रिन स्मार्ट सिटीको परिकल्पना गरी नमुना शहर प्रस्तुत गरेका थिए । उनीहरुले धनगढीमा रिफ्रेसर पार्क, चौडा र सफा सडक, सडक किनारमा बोटविरुवा, तारबिहीन बत्ति बल्ने पोल, शहरमा ट्राफिक समस्या नभएको सुन्दर शहर काटुर्नमा बनाएका थिए । सो नमुना धनगढी बनाउने समूहकी एक जना छात्रा कृष्णा नेपालीले चर्चामा रहेको धनगढी स्मार्ट सिटी यस्तै हुनुपर्छ भनेर बनाएको बताइन् । जनप्रतिनिधिहरुको धनगढीलाई स्मार्ट सिटी बनाउने भाषण मात्रै गरेर हिड्ने प्रवृत्तिलाई यसले ठूलो झड्का दिएको छ ।

त्यसैगरी, कैलारी गाउँपालिकाको जनता माविका छात्रहरुले जेसिवि, वाटर पम्प, विजुलीको पावर हाउस लगायतका प्रविधिहरु बनाएर प्रदर्शन गरेका थिए । धनगढीको त्रिनगर माविका विद्यार्थीहरुले चित्र, कार्टुनको घर लगायतका सामग्री बनाएर प्रदर्शन गरेका थिए ।
विद्यालय तहमै कक्षा छोड्न बाध्य भएका युवतिहरुले आफैले उत्पादन गरेको विभिन्न खालका तयारी पोषाकहरु प्रदर्शनीमा राखेका थिए । उनीहरुले स्थानीय खानाका परिकारहरु समेत प्रदर्शनीमा राखेका थिए ।

स्टेम उत्सवमा छोरीलाई समेत स्कूल पढाउनु पर्छ भन्ने सन्देश भएका नाटकहरु र खेलकुद पनि प्रर्दशन गरिएको थियो । विभिन्न सरोकारवालाहरु तथा गैरसरकार संस्थाहरुले पनि आफ्नो सिकाई उपलब्धीहरु स्टलमा प्रदर्शनीका लागि राखेका थिए ।

प्रदर्शनी स्थलका स्टलहरुमा कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगंगा, घोडाघोडी र टीकापुर नगरपालिका तथा बर्दगोरिया र कैलारी गाउँपालिकाका ३० वटा विद्यालयका विद्यार्थीहरुले आफ्ना सिकाईहरु चित्र, प्रविधि, कार्टुन, कथा बनाएर प्रदर्शन गरेका थिए । विद्यालय छोडेका बालिकाहरुले स्टेमको सहयोगमा जीविकोपार्जनमा लागेर उत्पादन गरेको होजियारी सामाग्रीहरु (लहंगा, चोली, गाउन लगायत), खानाका परिकारहरु समेत प्रदर्शनीमा राखिएका थिए ।

पढ्ने इच्छा हुँदा हुँदै पनि कमलरी बस्न परेको र १७ वर्षको उमेरमा मुक्त भएर पढाई शुरु गरी ल्यारिट फ्रिडम फ्रोम फियर अडार्व २०१८ जित्न सफल उर्मीला चौधरीले आफ्नो अनुभव बाडेकी थिइन् । यसले गर्दा पढाई छोडेका बालबालिकालाई पुनः विद्यालय भर्ना हुन हौसला जागेको मर्सिकोर नेपालका कार्यक्रम म्यानेजर नविन लामिछानेले बताए ।
उत्सवमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले स्टेम परियोजनाले बालबालिकाहरुलाई पुनः पढ्ने र जीविकोपार्जनमा सहयोग गरिरहेको बताए । उनले परियोजनाको क्रियाकलापलाई मन्त्रालय सहयोग गर्न तयार रहेको बताए । उनले मर्सिकोरले यो परियोजना सबै विद्यालयमा विस्तार गर्नुपर्ने पनि बताए ।

स्थानीय तहका प्रमुखहरुको प्रतिनिधित्व गर्दै धनगढीका मेयर नृप वडले स्थानीय सरकारले गर्नुपर्ने काम परियोजनाले गरिरहेको बताए । उनले आफूहरुले गर्न नसकेको काममा परियोजनाले सहयोग गरिरहेको भन्दै जिल्लाका सबै स्थानीय तहको सबै विद्यालयमा कार्यक्रम लागू गर्न अनुरोध गरे ।
मर्सिकोर नेपाल राष्ट्रिय निर्देशक सञ्जय कार्कीको अध्यक्षतामा आयोजित स्टेम उत्सवमा बालिका शिक्षा तथा जीविकोपार्जनमा योगदान गरेकोमा सुदूरपश्चिम सहकारी, उद्यमी लालमति राना, धनगढी–५ तारानगरको राष्ट्रिय मावि र पूर्वकमलहरी उर्मिला चौधरीलाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार