४ बैशाख २०८१, मंगलवार

टीकापुर अस्पतालको विकासमा सुदूपश्चिम प्रदेश सरकारले पूरा सहयोग गर्ने : मन्त्री सुवेदी



टीकापुर । सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले टीकापुर अस्पतालको स्तरोन्नति र विकासका लागि प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।आज टीकापुर अस्पतालले आयोजना गरेको कार्यक्रममा टीकापुर अस्पतालका लागि प्रदेश सरकारले बजेट छुट्याइ सकेको र सकेसम्म थप गर्ने प्रयास रहने बताए । उनले डाक्टरहरू सुदूरपश्चिममा आउनै नचाहाने अवस्थाको अन्त्य गर्न प्रदेश सरकार थप सुविधा दिने तयारीमा रहेको बताए । उनले टीकापुर अस्पतालका भवन र वार्डहरूको अवलोकन गरेका थिए भने एनआइसीयू कक्षको ढोका खोलेर सिरवन काटेका थिए ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुर अस्पतालले कोइकाले सहयोग गरेर बनाएका पूर्वाधार चलाउन पनि नसकेको अपस्थामा बालरोग विशेषज्ञसँग सम्झौता गरी नगरपालिकाको २६ लाख सहयोगमा अस्पतालमा रहेको एनआइसीयू सञ्चालनमा ल्याउन लागिएको बताए ।टीकापुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नरेन्द्र खनालले भदौदेखि टीकापुर अस्पतालमा अर्थोपेडिक सर्जन आएपनि उपकरण अभावमा शल्यक्रिया गर्नुपर्ने उपचार हुन नसकेको र ओपीडी जाँच मात्रै गरिरहेको बताउँदै दक्ष जनशक्ति, उपकरण र औषधि खर्च प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने बताए ।
अस्पताल विकास समितिका अध्यक्ष रतनबहादुर खड्काले अस्पतालका लागि आवश्यक पर्ने सहयोग तत्कालीन, अल्पकालीन, दीर्घकालीन योजनाका रूपमा मागपत्र बनाई सामाजिक विकास मन्त्रीलाई मागपत्र बुझाएको बताए । कार्यक्रमको सञ्चालन बासुदेव बजगाईले गरेका थिए ।वर्षमा ५० हजार भन्दा बढी बिरामीको उपचार गराउने टीकापुर अस्पताल सुदूरपश्चिम प्रदेशमा सेती अंचल अस्पतालपछिको दोस्रो ठूलो अस्पताल भएपनि २ जना विषेशज्ञ डाक्टर मात्रै छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार