६ बैशाख २०८१, बिहीबार

विश्वस्तरको पर्यटकीय गन्तव्य बनाउन ठूलो सुधार आवश्यक



सानै उमेरमा पनि सफल व्यवसायीका रूपमा चिनिएका रमेश सिलवालले बेलायतमा एसिसिए पढेका हुन । २६ वर्षकै उमेरमा पनि सफलताको सिढी चढ्न सफल सिलवालले नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारमा ठूलो योगदान गर्दे आएका छन् । उनले अमेरिका, वेलायत र वेलायत बाहेकका युरोपियन मुलुकबाट पर्यटक ल्याउँदै आएका छन् । प्रस्तुत छ सरकारले बनाएका पर्यटन सम्बन्धी योजना र उनले पर्यटन क्षेत्रको प्रवर्द्धनमा गरेको कामबारे पर्यटन व्यवसायी सिलवालसँग गरिएको कुराकानीको सारसंक्षेप ।

रमेश सिलवाल
सञ्चालक
जर्नी प्लानर टूर एण्ड ट्राभल प्रालि,काठमाडौं

सरकारले एक सय वटा पर्यटकीय गन्तव्य छानेको छ । कसरी लिनुभएको छ ?
पर्यटकीय गन्तव्यहरूको पहिचान गरी यसको संरचना, विकास र प्रवद्र्धनको प्रयास स्वाभाविक रूपले स्वागतयोग्य अभियानको रूपमा लिएको छु । यद्यपि, यसको प्रवद्र्धन गर्नठूला संरचनागत समस्या छन् । त्यसैले, यस्ता गन्तव्यहरूको संरक्षणका साथै लगानी भित्राएर पर्यटकहरूलाई चहिने आधारभूत सुविधाहरू (रेस्टुरा, शौचालय, आरामदायी क्षेत्र आदि) को विकास गर्दै लैजानु आवश्यक छ । सरकारले यस्ता साना र ठूला समस्यामा ध्यान दिएर अघि बढ्ने हो भने पर्यटन बर्ष २०२० सफल हुनेछ २० लाख पर्यटक ल्याउन सकिनेछ ।

यो कार्यक्रमले विदेशी पर्यटकलाई भित्राउन कत्तिको सहज हुन्छ भन्ने ठान्नुहुन्छ ?
मुख्य सवाल गन्तव्य भएर मात्र हुँदैन । यहाँ आउनेजाने सुविधा उपलब्ध गराउने कार्यहरूका साथै वास्तविक गन्तव्यभन्दा यसका विशेषता के हुन् भन्ने कुराको प्रवद्र्धन नभएसम्म यत्तिकै पर्यटकहरू आउँदैनन् । नयाँ ठाउँमा जानका लागि यसका विशेषता र महत्त्व बुझाउन केही समय लाग्ने भएकाले बढी समस्या आउने गर्दछन् ।

तपाईलाई विश्वभरी नेपाललाई चिनाउने कुन कुन गन्तव्य हुन् जस्तो लाग्छ ?
नेपाललाई संसारमा चिनाउने विशेष गन्तव्यभन्दा पनि यहाँ उपलब्ध सानो ठाउँको विविधता बढी उपयुक्त हो भन्ने ठान्दछु । विशेषगरी हाम्रा अग्ला हिमाल, पौराणिक सभ्यता, बुद्धको जन्मस्थल र हाम्रो देशको प्राकृतिक सौन्दर्य नै मिलेर नेपाल विश्वभरी चिनिएको छ । यसभित्रको पनि विशेष गन्तव्य भन्नुहुन्छ भने, पहुँचको दृष्टिले काठमाडौं उपत्यकामा भएका विश्व सम्पदाहरूको भूमिका उल्लेख्य छ । त्यसपछि सगरमाथा, लुम्बिनी, पोखरा आदि हुन् । अव हामीले कर्णाली र सुदूरपश्चिम प्रदेशका चोखा पर्यटकीय क्षेत्रलाई पनि महत्त्व दिनुपर्छ ।

तपाईको कम्पनीले विदेशी पर्यटकहरू भित्राउन केकस्ता पहल गरेको छ ?
हामीले विभिन्न देशमा रहेका पर्यटक प्राविधिक (टूर अपरेटर) पार्टनरहरूलाई हाम्रो प्रोग्रामहरू पठाउने गर्छौ । साथै, अहिले छाएको राजनीतिक स्थिरता र उपलब्ध नयाँनयाँ कार्यक्रमहरू उनीहरूमार्फत सम्बन्धित देशमा प्रचारप्रसार गराउनु र बढीभन्दा बढी पर्यटक पठाउने वातावरण सिर्जना गर्नमा हाम्रो उल्लेख्य भूमिका रहन्छ । साथै, विभिन्न देशमा हुने पर्यटकीय महोत्सवहरूमा सहभागी गराउँदै हाम्रो मुलुकको पर्यटन प्रवद्र्धन गर्नु हाम्रोप्रयास हो ।

तपाइहर्रूमार्फत भित्रिने विदेशी पर्यटकहरूले सरकार र नेपाली समुदायसँग कस्तो अपेक्षा गरेका हुन्छन् ?
अहिले हामी कहाँ आउने पर्यटकहरू विश्वका प्राय: देशमा घुमिसकेका हुन्छन् । ती पर्यटकहरूका विशेष अपेक्षा हुन्छन् । मेरो अनुभवमा पर्यटनका क्षेत्रमा हाम्रो देशमा पूर्वाधारसम्बन्धी समस्या छन् । उदाहरणका लागि हाम्रो विमानस्थलहरू, सडक, सार्वजनिक शौचालयदेखि सरसफाईमा विदेशी पर्यटकहरूको चासो हुने गर्दछ । यी सबै सरकारी स्तरबाटै सुधार गर्नुपर्ने हुन्छ । नेपाली जनताको दृष्टिबाट खासै समस्या छैनन् । अतिथिप्रति नेपाली समाजको व्यवहार निकै मैत्रीपूर्ण हुने गरेको छ । विदेशी पर्यटकहरू नेपालीको आतिथ्यबाट निकै सन्तुष्ट हुने गरेको मैले अनुभव गरेको छु ।

पर्यटन विकासका लागि सरकारका प्रयास कत्तिको प्रभावकारी भएको ठान्नुहुन्छ ?
सरकारका केही प्रयास, कार्यक्रम सकारात्मक मान्नुपर्छ । तर, पनि नेपालको पर्यटन क्षेत्रको विकास कमजोर अवस्थामा नै रहेको देखिन्छ । यदि नेपाललाई विश्वस्तरको गतिलो पर्यटकीय गन्तव्य बनाउने हो भने यहाँठूलो सुधारको आवश्यकता छ,र यो सरकारी तहबाट मात्रै सम्भव छ ।
हामीले अहिलेसम्म २०/३० वर्ष अघिका कार्यहरूलाई नै निरन्तरता दिइरहेका छौं । नयाँ उद्देश्य तथा कार्यक्रम दिन सकेका छैनौं । नेपालमा थुप्रै  स्थानमा पर्यटकका लागि लोभ लाग्दा रिसोर्ट, हिल स्टेशन बनाउन सकिन्छ । र, नजिकका मुलुकका पर्यटकहरूलाई भित्राउन सकिन्छ । यो सबै साकार भएमा हाम्रो राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान हुनेछ । विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरू (एनआरएन) एक जनाले एकजना विदेशी पर्यटकलाई नेपाल भ्रमणका निम्ति आग्रह गराएमा मात्रै पनि ठूलो सहयोग हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार