६ बैशाख २०८१, बिहीबार

चिडिया ताल ओझेलमा



सुखड । कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानीमा रहेको चिडिया ताल संरक्षण संवद्र्धनको अभावमा ओझेलमा परेको छ ।
पूर्वपश्चिम राजमार्गदेखि करिब ५ सय मिटर उत्तरमा रहेको चिडिया तालको संरक्षण गरेर प्रचारप्रसार गर्न सके राम्रो पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयहरूले बताएका छन् ।
करिब ३५ विघा क्षेत्रफलमा फैलिएको ताल विभिन्न आकृतिमा रहेका छन् । वर्षातको समयमा तालमा पानी भरिएपछि मनमोहक देखिने गरेको छ । सम्भावना भएर पनि प्रचारप्रसार हुन नसक्नु दु:खद् विषय रहेको स्थानिय सुरज ढकाले बताए ।
विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल नजिकै रहेको चिडिया तालको संरक्षण गर्न सकेमा यस क्षेत्रको पर्यटकीय विकास हुने र आर्थिक विकास हुने आशा रहेको स्थानिय पुष्पा सुवेदीले बताईन् ।
ताल क्षेत्रमा विभिन्न प्रजातिका वनस्पति, जंगली जनावर, अजिंगर, चराचुरुंगी पाइन्छन् भने तालमा माछा, कछुवा विशेष आकर्षण रहेको छ ।
ताल क्षेत्रको संरक्षण सम्वर्द्धन हुन सके वनभोज खान आउने तथा घुम्ने आउनेको संख्यामा पनि वृद्धि हुने बताइएको छ ।
स्थानीयहरूले सम्भावना बोकेको चिडिया तालको संरक्षणमा राज्यको ध्यान पुग्न नसकेको आराप लगाएका छन् । चिडिया तालको संरक्षण गरेर भौतिक पूर्वाधार पनि निर्माण गरिनु पर्ने उनीहरूको माग छ ।

हात्ती संरक्षण केन्द्रको सम्भाव्यता अध्ययन
हात्ती संरक्षण केन्द्र स्थापना भए चिडिया तालको मुहार फेरिने स्थानियहरूले बताएका छन् ।
घोडाघोडी नगरपालिकाको पहलमा हात्ती संरक्षण केन्द्र स्थापनाका लागि अध्ययन थालिएको छ । एसियामा हात्तीको संख्या घट्दै गएकाले हात्तीको संख्या वृद्धिका लागि हात्ती प्रजनन् केन्द्रको अध्ययन थालिएको हो ।
लाओसमा रहेको हात्ती प्रजनन् केन्द्रले चिडियाताल क्षेत्रमा हात्ती प्रजनन् केन्द्र खोल्न अध्ययन गरिरहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले बताए । हात्तीका लागि आवश्यक खानपान र बासस्थानको भौगोलिक अवलोकन लाओसमा रहेको हात्ती प्रजनन् केन्द्रका विज्ञको टोलीले गरिसकेको र यहाँका नदी र तालको पानी परीक्षणका लागि उनीहरूले लगेको नगर प्रमुख चौधरीले बताए ।
नेपालका अन्य जिल्लाको तुलनामा अझै प्रशस्त जंगल रहेकाले हात्ती प्रजनन् केन्द्रका लागि यो ठाउँ छानिएको जनाइएको छ । हात्ती प्रजनन् केन्द्र खुलेमा पर्यटकका लागि थप आकर्षण हुनेछ । घोडाघोडी ताल क्षेत्रमा रहेका विभिन्न थरी चरा, वनस्पति र प्राकृतिक सौन्दर्यका साथै हात्ती प्रजनन केन्द्र पनि अवलोकन गर्न पर्यटकले पाउनेछन् । नगरपालिकामा रहेका ताल संरक्षण व्यवस्थापन र पर्यटन विकासका लागि बनाउन थालिएको गुरु योजनाअन्तर्गत हात्ती प्रजनन केन्द्रको पनि योजना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार