१५ चैत्र २०८०, बिहीबार

पञ्चकर्म आयुर्वेद चिकित्सा प्रभावकारी बन्दै



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० मा रहेको झलारी आयुर्वेद औषधालयले सञ्चालन गरेको नि:शुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी बन्दै गएको छ ।
बाथ, नसा, हाडजोर्नी दुखाई, अनिद्रा, टाउको दुखाई, कम्मर दुखाई, मानसिक समस्या र डिप्रेसनका बिरामीका लागि दृष्टिगत गरी औषधालयले सञ्चालन गरेको पञ्चकर्म आयुर्वेदिक चिकित्सा लिने बिरामीको संख्या बढ्न थालेको छ ।
पञ्चकर्म सेवा सञ्चालन गरेयता एक वर्षको अवधिमा तीन हजार दुई सय ६३ जना लेसेवा लिएको औषधालयका कविराज तारादत्त पाण्डेयले बताए । तीमध्ये दुई हजार एक सय ११ जना महिला सेवाग्राही रहेका थिए । चालु आर्थिक वर्षको हालसम्म महिला र पुरुष गरी पञ्चकर्म सेवा लिने बिरामीको संख्या एक हजार सात सय पुगेको छ ।
“पञ्चकर्म सेवा नहुँदा मुश्किलले वर्षमा सयजना बिरामी पनि औषधालयमा पुग्दैनथे” उनले पञ्चकर्म सेवा सञ्चालनपछि बिरामीको चाप निकै बढेको बताए ।
पञ्चकर्म चिकित्सामा रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले मालिस गरी शरीलाई पीडाबाटमुक्ति दिलाइ शरीरलाई स्फुर्ति गराइने वैद्य दिवाकर जोशीले बताए ।
“रोगीको अवस्थाका आधारमा तेलको छनोट गरी दैनिक एक घण्टाका दरले सात देखि १४ दिनसम्म उपचार गरिन्छ,” उनले भने, “स्नेहनपछि रोगीलाई नाडी स्वेदन अन्तर्गत नलीको रबर पाइपको प्रयोग गरी औषधिको द्रव्ययुक्त बाष्पलाई शरीरका विभिन्न आवश्यक अंगमा पुर्‍याइन्छ ।” औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निष्कने बाष्प स्वेदन यन्त्र (बाष्प बाकस) मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त बाष्प प्रवेश गराई उपचार गरिने व्यवस्था गरिएको उनले बताए ।
यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षघात, दम, खोकी, मुख बाग्रिने, गर्धन कडा हुने, ढाडको दुखाइ, शारीरिक तथा मानसिक थकान कम गर्न सहायक हुने बताइएको छ । पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालनका लागि र आवश्यक सामग्री खरीद गर्न नगरपालिकाको वडा कार्यालयले एक लाख ५० हजार रकम उपलब्ध गराएको छ ।
औषधालयले बाष्प बाकस र अन्य सामग्री खरीद गरेको छ । औषालयले शिरोधारा सेवासमेत सञ्चालन गर्न लागेको छ । बिरामीलाई प्राकृतिक रूपमा उपचार गर्ने सेवा औषधालयले सञ्चालन गरे पनि भौतिक पूर्वाधारको अभाव रहेको छ । कोठा अभावमा एउटै कोठामा पञ्चकर्म र औषधि वितरण गर्ने कक्ष राख्नुपरेको छ ।
पञ्चकर्म सेवा सञ्चालन गर्न र योगा गराउनका लागि ११ लाख रुपैयाँको लागत अनुमान तयार गरी आयुर्वेदिक विभागमा पठाए पनि हालसम्म यसबारे सुनवाइ हुन नसकेको वैद्य जोशीले जानकारी दिए । औषधालयको अवस्था बारे प्रदेशसभा सदस्य लालबहादुर खड्काले निरीक्षण गरेर आवश्यक बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
औषधालय व्यवस्थापन समितिका पदाधिकारीले भत्ताको रकम जोगाएर औषधालयका लागि २० हजार मूल्य पर्ने अक्सिजन ब्लड सर्कुलेट्रि यन्त्र र १० हजार मूल्य पर्ने इलेक्ट्रिक म्याट खरीद गरेर बिरामीलाई सेवा दिएका छन् । औषधालयले बाथ, अनिन्द्रा, ग्याष्ट्रिक, दम खोकी, लिकोरिया, जोर्नी दुख्ने, कमलपित्त र छालाको समस्या लिएर आउने बिरामीको रोग यकिन गरी नि:शुल्क उपचार गर्दै आएको छ ।
चूर्ण १२ प्रकारको, बटी १७ प्रकारको र एक प्रकारको तेल औषधालयबाट बिरामीलाई नि:शुल्क दिइन्छ । सुत्केरी आमाका लागि दुग्धवद्र्धक सतावरी चूर्ण र सुत्केरी पछि मालिस गर्ने तेल समेत उपलव्ध गराइन्छ । वृद्धवृद्धाका लागि थकान कमगर्ने अश्वगन्धा नि:शुल्क प्रदान गरिने व्यवस्थाले महिला र वृद्धबृद्धाको आकर्षण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार