७ बैशाख २०८१, शुक्रबार

जमराको जुसबाट मधुमेह रोग सञ्चो पार्दै



धनगढी । घोडाघोडी नगरपालिका वडा नम्वर ७ का ४० वर्षीय चन्द्रकुमार चौधरीलाई २०७३ सालतिर मधुमेह रोगले सतायो । रोगको उपचार गर्न स्थानीय घोडाघोडी अस्पताल, स्वास्थ्य चौकी र विशेषज्ञ डाक्टरसँग चेकजाँच गराए । उनले नियमित दुई वर्ष चिकित्सकको राय सल्लाह सुझाव अनुसार औषधि सेवन गरे, तर रोग कत्ति पनि कम भएन । उनी २०७५ सालमा काठमाडौं गए । त्यहाँ उनले कोटेश्वरमा जौंको जमराको जुस पिउँदै गरेको मानिसको भिड देखे । जमराको जुसले मधुमेह, रक्तचाप लगायतका विभिन्न रोगहरूबाट जोगाउँछ भन्ने ‘युट्युव’ मा भिडियो हेरेका चन्द्रकुमारले लगातार एक महिना जमराको जुस सेवन गरे । “त्यसपछि मेरो मधुमेह रोग विस्तारै कम हुँदै गयो” उनले सम्झिए ।
उनी भन्छन्– “मधुमेह रोगको उपचारका लागि औषधि खर्च, रगत परीक्षण, डाक्टर शुल्क लगायतको खर्च जमराको जुस सेवन गर्न थालेपछि जोगियो ।” त्यसपछि उनले घरमै जमरा उमारेर खाने सोच बनाउँदै काठमाडौंको नगरकोटमा पाँच हजार रुपैयाँ शुल्क तिरेर जमराबाट जुस बनाउने तीन दिने तालिम लिए ।
प्रति गिलास ५० रुपैयाँमा जुस पिउँदै आएका चन्द्रकुमारले तालिम लिएपछि घरमै जमरा रोपेर लगातार तीन महिना जुस पिए । अहिले उनको मधुमेह रोग ठिक भइसकेको छ । उनी भन्छन्– “अहिले म साथीहरूलाई पनि जमराको जुस पिउन सुझाव दिइरहेको छु ।”
“मसँग कुराकानी गर्ने साथीहरूलाई यो जुसले यस्ता रोगहरू ठिक पार्छ भन्ने जानकारी रहेछ तर, पिउने कहाँ गएर भन्ने समस्या रहेछ” उनी भन्छन्– “अहिले मैले जमराको जुस उत्पादनलाई व्यवसायिक रूपमा अघि बढाएको छु ।” उनले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक यसको उत्पादन शुरु गरेको बताए । चौधरीले घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखड भुखाली चोकबाट एक सय मिटर पश्चिममा अर्गानिक जमराको जुस उत्पादन शुरु गरेका छन् ।
उनले प्रति किलो ५० रुपैयाँमा जौ खरिद गरेर २० वटा ट्रेमा जमरा उत्पादन गरिरहेका छन् । उनले एक ट्ेरबाट १० गिलास जुस हुने बताए । ३० मिलिलिटरको गिलासमा प्रति गिलास २० रुपैयाँका दरले जमराको जुस बिक्री गर्ने उनले बताए । उनले स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै जुस उत्पादन शुरु गरेको बताए । “बिहीबार पसलमात्र उद्घाटन गरेको हुँ । जुसको विक्री आज (शनिबार) बाट शुरु गर्दैछु” उनले भने– “जमरा उत्पादन हुन तीन दिन लाग्छ ।”
जमराको जुसबाट मुटु, रक्तचाप, मधुमेह, थाइराइड, अल्सर, ग्याष्ट्रिक, क्यान्सर रोगका बिरामीलाई फाइदा हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक चापागाइले भने– “कलेजोका रोगीहरूले यो जुस खानु हुँदैन । अन्यका लागि यो फाइदाजनक रहेको छ ।” उनले जुस बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक ऊर्जा प्रदान गर्नुका साथै शरीरमा प्रोटिनको मात्रा बढाउने बताए । यो जुसले क्यान्सरका बिरामीलाई समेत फाइदा गर्ने बताए । उनले भने– “क्यान्सरको उपचार अहिले संसारमै सम्भव छैन, तर यसको न्यूनीकरण गर्न सकिन्छ, यसका लागि अर्गानिक जमराको जुसले निकै फाइदा गर्छ ।” उनका अनुसार यो जुसबाट १४ किसिमको भिटामिन पाइन्छ । “हाम्रो शरीरमा पाइने रगतको ४० प्रतिशत तत्त्व यो जुसमा हुन्छ, यसलाई विभिन्न प्रकारका रोगी र निरोगीले पनि खान सकिन्छ” वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाइले भने ।
चौधरीले अर्गानिक जमराको जुस, चिया र कफीसँगै करिब तीन लाखको लागतमा घोडाघोडी माछा घर खोली विभिन्न प्रजातिका माछाको समेत व्यापार गरिरहेको जनाइएको छ । घोडाघोडी माछा घर नाम गरेको सो पसलमा टर्की, चराको मासु, खरायो, लोकल कुखुराको मासु उपलब्ध रहेको बताए । उनले पसलबाट अर्गानिक चिया र कफी प्रति गिलास १० रुपैयाँका दरले बिक्री गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार