१६ चैत्र २०८०, शुक्रबार

जेटीकप क्रिकेट : जगततारा र उज्यालो विजयी, नाता र नमुनाबीचको खेल बराबरीमा टुंगियो



बौनिया । कैलालीको सडकपुर बौनियामा जारी जेटीकप क्रिकेट प्रतियोगिताको शुक्रबार भएका खेलमा आयोजक जगततारा र उज्यालो विद्यालय, लम्की विजयी भएका छन् । शुक्रबार नै भएको अर्को खेल नमुना र नाता विद्यालयबीच बराबरीमा टुंगिएको छ ।
शुक्रबारको पहिलो खेलमा जगततारा विद्यालयले पानसदीप, लम्कीलाई पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको पानसदीप १४ दशमलव दुई ओभरमा ७० रनमा अलआउट भयो । पानसदीपका गौरभ विसीले सर्वाधिक १९ रन बनाए ।
पानसदीपलाई सामान्य स्कोरमा सीमित गर्ने क्रममा जगतताराका बृजेश ढुंगानाले तीन ओभरमा एक मेडन राख्दै जम्मा दुई रन खर्चेर तीन विकेट लिए । त्यस्तै, अगस्तराज जोशी र शौनक मल्लले दुई/दुई विकेट लिए ।
७१ रनको विजय लक्ष्य जगतताराले ११ औं ओभरमा आठ विकेट गुमाएर पुरा गर्‍यो । खेलको म्यान अफद म्याच जगतताराका अगस्त जोशी बने ।
शुक्रबार नै भएको अर्को खेल नाता र नमुना विद्यालय लम्कीबीच बराबरीमा टुंगिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले १४.१ ओभरमा ८४ रन बनाएको थियो । नमुनाका रेवन्त शाहले २९ बलमा चार चौका सहित ३३ रन बनाए ।
८५ रनको लक्ष्यसहित ब्याटिङ गर्न ओर्लिएको नाता एकेडेमी लम्की १४.४ ओभरमा ८४ रनमा अलआउट भयो । नाताका रविन रावलले २९ रन बनाए । उनी नै खेलको म्यान अफ द म्याच बने ।
त्यस्तै, शुक्रबारको अन्तिम खेलमा उज्यालो विद्यालय लम्कीले स्वयम्भुनाथलाई १० विकेटले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको स्वयम्भुनाथ आठौं ओभरमा ३१ रनमा अलआउट भयो । स्वयम्भुनाथलाई सस्तैमा रोक्ने क्रममा उज्यालोका बद्री भण्डारीले २.३ ओभरमा छ रन खर्चेर पाँच विकेट लिए ।
प्रतिउत्तरमा उज्यालो लम्कीले ४.३ ओभरमा कुनै विकेट नगुमाई विजयी लक्ष्य प्राप्त गर्‍यो । खेलको म्यान अफ द म्याच बद्री भण्डारी बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार