७ बैशाख २०८१, शुक्रबार

सुशासन र पारदर्शीताले मात्र सबै तहका सरकार सबल हुन्छन्



इमान्दर सरकारी कर्मचारीको खोजी गर्ने विश्वव्यापी अभियान “इन्टेग्रीटी आइडल’ ले बिस्तारै नेपालमा पनि चर्चा पाउन थालेको छ । “अकाउन्टविलिटी ल्याव’ ले श्रीलंका, दक्षिण अफ्रिका, नाइजेरिया, माली, पाकिस्तान, लाइबेरिया र नेपालमा यस्तो आइडलको खोजी गर्दै आएको छ । यसै क्रममा नेपालमा पनि सन् २०१८ का लागि एक हजार बढी राष्ट्रसेवक कर्मचारीबाट पाँच जना छानिएका छन् । यीमध्ये सुदूरपश्चिम प्रदेश, कैलालीको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य पनि एक हुन् ।
२०३८ सालमा सुर्खेतको गर्पन (हाल वीरेन्द्रनगर नगरपालिका–१६) मा जन्मिएका आचार्यले नेपाली र समाजशास्त्र विषयमा स्नात्तकोत्तर तह उत्तीर्ण गरेका छन् । हाल कानूनको अध्ययन गरिरहेका प्रमुख प्रशासकीय अधिकृत आचार्य राष्ट्रसेवक कर्मचारीले आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्दा सेवाग्राही हितलाई पहिलो प्राथमिकता दिनुपर्ने मान्यता राख्दछन् ।
३७ वर्षीय आचार्यले खरिदारबाट सरकारी सेवा आरम्भ गरी हाल उपसचिवका रूपमा काम गरिरहेका छन् । जनताको सेवा गर्ने, मित्रहरू बनाउने र मौका मिले भ्रमण गर्ने रुचि भएका आचार्य सबै तहका सरकार र तिनका सबै अंगहरूमा सुशासन भए मात्रै नागरिकको विश्वास बढने र संघीयता सफल हुने विश्वास गर्छन् । प्रमुख प्रशासकीय अधिकृत आचार्यसँग अनुमोदनका लागि सहकर्मी एकिन्द्र तिमिल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

ध्रुवराज आचार्य
प्रमुख प्रशासकीय अधिकृत
टीकापुर नगरपालिका, कैलाली

इन्टेग्रेटी आइडल नेपालको मुख्य पाँच प्रतिस्पर्धीमा कसरी पुग्नु भयो ?
इन्टिग्रेटी आईडल–२०१८ मा मलाई टीकापुरकै एकजना बहिनीले नोमिनेसन गर्नु भएको रहेछ । त्यसपछि अकाउन्टविलिटी ल्यावबाट मलाई फोन गरी मेरो हालसम्मको कार्य अनुभव विवरण मागियो । सोही आधारमा सो संस्थाबाट मैले काम गरेको सबै संस्थामा सम्बन्धित व्यक्तिबाट मेरो बारेमा बुझ्ने काम भएछ । पछि म उत्कृष्ट एक सय, उत्कृष्ट २५, उत्कृष्ट १० हँुदै उत्कृष्ट पाँचमा परेको जानकारी पाए । यसरी देशभरका एक हजार एक सय जना सरकारी कर्मचारीहरूको नोमिनेसन भएकोमा म मुख्य पाँच जनामा परेको रहेछु ।

तपाईले यसअघि कहाँ कहाँ के के काम गर्नु भयो त ?
मैले २०५९ सालदेखि २०६२ सालसम्म खरिदार र नायवसुब्बा पदमा रही गाविस सचिवका रूपमा काम गरे । २०६३ सालदेखि २०६५ सालसम्म नायव सुब्बा र त्यसपछि २०७१ सालसम्म शाखा अधिकृत पदमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँके, जिविसको कार्यालय सुर्खेत र कान्ति बाल अस्पताल काठमाडौंमा काम गरे । उपसचिव भएपछि राष्ट्रपतिको कार्यालयमा डेढ वर्ष सूचना अधिकारी तथा सहायक प्रवक्ताको रूपमा काम गरें । त्यसपछि गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयमा, दैलेखको दुल्लु नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र २०७४ फागुनदेखि हालसम्म टीकापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा कार्यरत छु ।

तपाई आफूलाई यस प्रतिस्पर्धाको मुख्य दाबेदार हुँ भन्ने कसरी प्रमाणित गर्नुहुन्छ ?
राष्ट्रसेवक कर्मचारी अनुशासित, ईमान्दार, सदाचारी, सिर्जनशील र जिम्मेवारीपूर्वक कार्य गर्ने हुनुपर्दछ । म त्यही मान्यतामा रहेर काम गरिरहेको छु । अहिलेसम्म जहाँ काम गरे त्यहाँका सहकर्मी र आम सेवाग्राहीसँगको सम्बन्धका आधारमा मेरो मूल्यांकन भएको भन्ने सुनेको छु । यो हुनुमा उहाँहरूको माया, विश्वास, सद्भाव, प्रेरणा र सहयोग हो भन्ने ठानेको छु । मैले जहाँ पनि कर्मचारीहरूसँग समन्वय र सहकार्य गर्दै समूह परिचालन गरेर सेवाग्रहीको अधिकतम हित र चित्त बुझाएर कार्य गर्ने गरेको छु ।

कर्मचारीका रूपमा तपाईंले संघीयता कार्यान्वयनमा केकस्ता समस्या पहिल्याउनु भएको छ ?
संघीयता र यसको कार्यान्वयनमा दक्ष जनशक्ति, बुझाईमा एकरूपता, राजनीतिक–सामाजिक सहमति तथा परिवर्तनप्रतिको चाहनाको मुख्य भूमिका रहन्छ । हाम्रोमा सीमित जनशक्ति, न्यून स्रोत साधन, प्रविधिको कम प्रयोग, विविधता तथा संघीयताप्रतिको बुझाइ र धारणामा पृथकता, आपसी बेमेल, राजनीतिक–सामाजिक विमति एवं परिवर्तनप्रति प्रतिरोध तथा कर्मचारी र जनप्रतिनिधिको न्यून क्षमता नै संघीयता कार्यान्वयनका मुख्य चुनौति र समस्या हुन् भन्ने मैले अनुभव गरेको छु ।

अहिलेका स्थानीय सरकारका राम्रा पक्ष वा अभ्यासहरू के के हुन् भन्ने ठान्नुहुन्छ छ ?
स्थानीय सरकारहरू विस्तारै अनुभव र ज्ञान बढाउँदै अगाडि बढिरहेका छन् । नीतिगत र कानूनी संरचना बन्दै जानु, जनशक्ति र कर्मचारीको क्षमता विकासमा प्रयास हुनु, पारदर्शिता र सुशासनप्रति सजगता बढ्दै जानु दातृ निकाय र साझेदार संस्था, स्थानीय सरकारसँग सहकार्य गर्न खोज्नु र जनताको सहभागिता तथा अपनत्व बढ्दै जानु यसका राम्रा पक्ष हुन् ।

संविधानले दिएको जिम्मेवारी अनुसार सबल स्थानीय सरकार बनाउन के गर्नुपर्ला ?
संविधानले प्रदान गरेको र कार्यको अभ्याससहित सवल स्थानीय सरकार बनाउन सर्वप्रथम आवश्यक नीति र कानूनको निर्माण, जनशक्तिको व्यवस्था, कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास, विकासमा जनसहभागिता, पूर्व सहभागितामूलक योजना तर्जुमा पद्दति, संघीयताप्रतिको बुझाइमा एकरूपता आवश्यक हुन्छ । त्यस्तै, संघ, प्रदेश र स्थानीय तहबीच विश्वास सहितको सहकार्य, पारदर्शिता र सुशासनसहितको विकास र सेवा प्रवाह आदिमा ध्यान दिएर स्थानीय सरकारको सवलीकरण गर्न सकिन्छ । हरेक वडा र नगरपालिकामा सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, गुनासोको समयमै सम्वोधन जस्ता कामहरू नियमित गरिनु पर्दछ ।

तपाई इन्टिग्रीटी आइडलमा उत्कृष्ट पाँचभित्र छानिदा तपाईबाट नागरिकले के अपेक्षा गर्ने ?
एक जिम्मेवार राष्ट्रसेवकबाट आम जनताले मुस्कानसहितको सेवा र मानवोचित एवं समान व्यवहारको अपेक्षा गर्दछन् । उत्कृष्ट कर्मचारीबाट जनताले अझ उत्कृष्ट, सिर्जनशील र जनमैत्री कार्यसम्पादन तथा व्यवहारको अपेक्षा गर्दछन् । इन्टिग्रीटी आइडलमा छानिदै गर्दा नागरिकले म बाट सायद एक “रोल मोडेल’ को भूमिकाको अपेक्षा गरेका हुन सक्छन् । म अब जतिमा परे पनि मैले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरी आगामी दिनमा देशका लागि केही गर्न सकू भन्ने चाहना छ । मेरा सेवाग्राही नागरिकको अपेक्षा पनि त्यही होला ।

अन्त्यमा, के भन्नुहुन्छ ?
आम नेपाली जनता समक्ष म के आग्रह गर्दछु भने, हामी राष्ट्रसेवक कर्मचारी देश र जनताको सेवा गर्नकै लागि आएका हौं । अरूले जनताको सेवा गर्दै गर्दा आम जनताबाट माया, विश्वास र सहयोगको अपेक्षा पनि गरेको हुन्छ । म एक राष्ट्रसेवकका रूपमा १६ वर्ष कार्यरत रहँदा आम जनताबाट पाएको माया, सद्भाव र विश्वासबाट उत्कृष्ट पाँचमा पर्न सफल भए ।

उत्कृष्ट कर्मचारी छान्न अहिले मोवाइलबाट एसएमएस र इन्टरनेटबाट भोटिङ शुरु भएको छ । मोवाइलको म्यासेज बक्समा गएर इन्टेग्रीटी आइडल नेपालको छोटो रूप आइआइएन टाइप गरी स्पेश दिएर २ लेखी ३४००१ मा पठाउनु पर्नेछ भने इन्टरनेटबाट भोटिङ गर्न इन्टेग्रीटी आइडल नेपालको वेभसाइटमा गएर ध्रुवराज आचार्यलाई भोट गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार