७ बैशाख २०८१, शुक्रबार

जेटीकप क्रिकेट : गुरुकुल, बालबाटिका र जनजागृति विजयी



बौनिया । बौनियामा जारी जेटीकप क्रिकेट प्रतियोगिताको बिहीबारका खेलमा गुरुकुल लम्की, बालबाटिका बौनिया र जनजागृति मावि चौरी विजयी भएका छन् ।
बिहीबारको पहिलो खेलमा गुरुकुलले स्वयम्भुनाथ मावि, लम्कीलाई एक सय ३५ रनले पराजित गर्‍यो ।
टस हारेर पहिले ब्याटिङ गरेको गुरुकुलले निर्धारित १५ ओभरमा दुई विकेट गुमाएर एक सय ५७ रनको विशाल स्कोर बनायो ।
गुरुकुलका रोजन शाहीले ५१ बलमा छ चौका हिर्काउँदै ७८ रनको आकर्षक पारी खेले । भने आयुश बमले ३४ बलमा ५२ रन बनाए । उनीहरूबीच एक सय ५४ रनको साझेदारी भएको थियो । प्रतिउत्तरमा स्वयम्भूनाथलाई लज्जास्पद स्कोरमा खुम्च्याउन प्रमुख भूमिका निर्वाह गरेका गुरुकुलका रोहित चौधरीले तीन ओभरमा नौ रन दिएर पाँच विकेट लिए भने रोजन शाहीले तीन ओभरमा नौ रन खर्चिदै चार विकेट लिए । खेलको म्यान अफ द म्याच रोजन शाही बने ।
बिहीबारको अर्को खेलमा बालबाटिकाले नाता एकेडेमी लम्कीलाई पाँच रनले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको बालबाटिकाले १४.४ बलमा सबै विकेट गुमाएर ९३ रन बनायो ।
बालबाटिकाका नरेन्द्र साउँदले २७ रन बनाए । ९४ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नाता एकाडमीले १५ ओभरमा ८ विकेट क्षतिमा ८८ रन मात्र बनाउन सक्यो । नाताका रविन रावलले ३२ रन बनाए । बलिङतर्फ बालबाटिका मानव बिष्टले तीन विकेट लिए । सो खेलको म्यान अफ द म्याच बालबाटिकाका नरेन्द्र साउँद बने ।
बिहीबारको अन्तिम खेलमा जनजागृति मावि चौरीले सुदू्रपश्चिमलाई ४७ रनले पराजित गर्‍यो ।
टस जितेर पहिले ब्याटिङ गरेको जनजागृतिले १५ ओभरमा तीन विकेट क्षतिमा एक सय २३ रन बनायो । जनजागृतिका जनक ढकालले २८ बलमा तीन चौका र तीन छक्कासहित ४३ रन बनाए भने दीपेन्द्र शाहीले ३० रन बनाए ।
प्रतिउत्तरमा सुदूरपश्चिम १५ ओभरमा नौ विकेटमा ७६ रनमा सीमित भयो । जनजागृतिका तपेन्द्र राठौरले तीन ओभरमा १३ रन खर्चिदै चार विकेट लिए । उनि सो खेलको म्यान अफ द म्याच बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार