१६ चैत्र २०८०, शुक्रबार

जेटीकप क्रिकेट : उज्यालो, कालिका र पानसदीप विजयी



बौनिया । कैलालीको सडकपुर बौनियामा जारी अक्सब्रिज पब्लिकेशन चौथो जेटि कप क्रिकेट प्रतियोगिताको बुधबार भएका खेलमा उज्यालो शिक्षा सदन लम्की, कालीका माध्यामिक विद्यालय नौनिया र पानसदीप स्कुल लम्की विजयी भएका छन् ।
बुधबारको पहिलो खेलमा उज्यालो शिक्षा सदनले ब्राईट फ्युचर लम्कीलाई छ बिकेटले पराजित गर्‍यो ।
त्यस्तै, अर्को खेलमा कालिका माविले सर्वोदय विद्यामन्दिर गुलरालाई ३१ रनले हरायो भने तेस्रो खेलमा पानसदीपले टीकापुरको आरएमई स्कुललाई २४ रनले पराजित गर्‍यो ।
टस जितेर पहिले ब्याटिङ गरेको ब्राईट फ्युचरले निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनायो । ब्राइटका रमेश बुढाले १७ बलमा दुई चौका र दुई छक्कासहित २५ रन बनाए । उज्यालोका सुरेश सुनारले तीन ओभरमा १५ रन खर्चेर पाँच विकेट लिएपछि ब्राइट फ्युचर सामान्य रनस्कोरमा समेटिएको थियो ।
प्रतिओभर ४.५३ रनको सजिलो विजयी लक्ष्य पाएको उज्यालो शिक्षा सदनले १३ दशमलव पाँच ओभरमा चार विकेट क्षतीमा पुरा गर्‍यो । उज्यालोका क्याप्टेन कमल मुखियाले अविजित २५ रन बनाए । सो खेलमा उज्यालोका सुरेश म्यान अफ द म्याच बने ।
बुधबारको अर्को खेलमा सर्वोदयले टस जितेर कालिका माविलाई ब्याटिङका लागि निम्त्यायो ।
कालिकाले निर्धारित १५ ओभरमा सात विकेट क्षतीमा एक सय सात रनको सम्मानजनक स्कोर खडा गर्‍यो । कालिकाका प्रवेश साउँदले २३ बलमा चार चौका र एक छक्का हिर्काउदै २६ रन बनाए भने सुमन भट्टले १५ बलमा १८ रन जोडे ।
बलिङतर्फ सर्वोदयका भूपाल खत्रीले तीन विकेट लिए ।
एक सय आठ रनको रनको विजयी लक्ष्यसहित ब्याटिङ गर्न ओर्लिएको सर्वोदय १५ ओभरमा आठ बिकेट क्षतीमा ७५ रनमा समेटियो । सर्वोदयका भूपाल खत्रीले मात्र केही बेर टिकेर २२ रन बनाएका थिए ।
सर्वोदयमाथि ३२ रनको जित हासिल गर्ने क्रममा कालिकाका सुमन भट्ट तथा विवेक बोहराले दुई विकेट लिए । सो खेलमा कालिकाका प्रवेस म्यान अफ द म्याच घोषित भए ।
बुधबारको तेश्रो खेलमा पानसदीपले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा नौ विकेट गुमाएर ८० रन बनायो । पानसदीपका दीपक खत्रीले १९ तथा भुपेश बस्नेतले १३ बनाए ।
बलिङमा आरएमई टीकापुरका आदेश परियारले तीन तथा विवेक शाहीले दुई विकेट लिए ।
प्रतिउत्तरमा आरएमई टिकापुर ११ औं ओभरमा ५६ रनमा अलआउट भयो । आरएमईका विवेक न्यौपानेले १९ रन बनाए पनि अन्य खेलाडी सस्तैमा आउट भएका थिए ।
पानसदीपलाई जिताउने क्रममा नविन बमले चार विकेट लिए । उनी नै खेलको म्यान अफ द म्याच बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार