१३ बैशाख २०८१, बिहीबार

तेस्रो रुस्लान डिपिएल : विनोद बने प्रतियोगिताका निर्देशक



धनगढी । रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)को तेस्रो संस्करणको प्रतियोगिता निर्देशकमा यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दास नियुक्त भएका छन् । प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत विनोदलाई प्रतियोगिता निर्देशकका रूपमा नियुक्त गरेको जानकारी दिएको छ ।
तेस्रो रुस्लान डीपीएल आगामी माघ १९ देखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने डिसिएले जनाएको छ । आयोजकले निर्देशकका रूपमा दासको अनुभव र निर्देशनले प्रतियोगिताले थप उचाई लिने विश्वास व्यक्त गरेको छ ।
प्रतियोगितामा देशभरका छ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहने छ । तेस्रो रुस्लान डिपिएलमा टिम चौराह धनगढी, सीवाईसी अत्तरिया, रूपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स टोलीलाई प्राथमिकता दिइने जनाइएको छ ।
डीपीएलका प्रत्येक टिममा १५ जना खेलाडी हुने र प्रत्येक टिममा दुई जना विदेशी खेलाडी तथा धनगढीमा आयोजना हुने ट्यालेन्ट हन्टबाट छनोट हुने सुदूरपश्चिमका एक खेलाडी अनिवार्य रूपमा समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइने जनाइएको छ ।
प्रतियोगितामा कुल १९ खेल हुनेछन् । प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले अरू टिमसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्ने छ ।
यसैबीच, डिपिएलको गत संस्करणको मुख्य प्रायोजक रुस्लान रहने छ । आगामी तीन वर्षका लागि रुस्लानले डीसिएसँग मुख्य प्रायोजन सम्झौता गरेको छ । सम्झौता अनुसार प्रत्येक वर्ष सम्झौता रकममा बृद्धि हुनेछ ।
गत शुक्रबार विजय डिस्टिलरी र डीसिएबीच मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । विजय डिस्टिलरीका मुख्य फाइनान्स अधिकृत सतीस कर्ण र डीसिएका अध्यक्ष सुवास शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार मुख्य प्रायोजक विजय डिस्टलरीले तेस्रो संस्करणका लागि नगद र जिन्सी गरी एक करोड १० लाख रुपैयाँ प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार