७ बैशाख २०८१, शुक्रबार

सम्पादकीय : राम्रो अभ्यास



स्थानीय स्तरमा सञ्चालन हुने विकास आयोजनाहरूमा पारदर्शीको कमी, गुणस्तरमा कमी तथा लाभान्वित समूहले स्वामित्व ग्रहण नगर्ने अवस्थाको अन्त्य गर्न धनगढी उपमहानगरपालिकाले वस्तीमै समुदायलाई सहभागी बनाएर उपभोक्ता समितिहरूसँग विकास निर्माण योजनाको सम्झौता गर्ने कार्यको थालनी गरेको छ । सोमबारदेखि उपमहानगरपालिकाका विभिन्न वडा तथा वस्तीमा जनप्रतिनिधि र प्राविधिकसहितका कर्मचारीहरू पुगेर उपभोक्ता समितिहरूसँग विकास आयोजना निर्माण सम्बन्धी सम्झौता गर्ने कार्य अघि बढाइएपछि विकास आयोजनामा सम्बन्धित ठाउँका बासिन्दाको स्वामित्वमात्रै बृद्धि हुने छैन जननिगरानी पनि बढ्ने अपेक्षा गर्न सकिन्छ । यद्यपि अहिले पनि उपभोक्ता समितिमार्फत सञ्चालन वा निर्माण हुने विकास आयोजनामा जनश्रमदानको पाटो निकै कमजोर छ । उपभोक्ता समितिमार्फत गरिने अधिकांस विकास आयोजना ठेकेदारबाट नै हुने गरेको अवस्था छ, तर वस्तीस्तरमै सम्बन्धित उपभोक्ताहरूको प्रत्येक्ष सहभागितामा आयोजनाको सम्झौता गर्दा निश्चय पनि योजनाप्रति जनताको लगाव बढ्ने र निगरानीको पाटो पनि प्रभावकारी हुने विश्वास गर्न सकिन्छ ।
विकास आयोजनाहरू अमानत, उपभोक्ता समिति अथवा ठेक्कापट्टा कुन प्रक्रियाबाट निर्माण गर्दा बढि उपलब्धिमूलक हुन्छन् भन्ने अहिले पनि बहस छ, विवाद छ । खासगरी विकास आयोजनाको दीगोपन तथा गुणस्तरको सवालमा कुन प्रक्रिया बढी प्रभावकारी हुन्छन् भन्ने जहिले पनि सवाल उठ्ने गर्दछ । तर, स्थानीय स्तरमा सञ्चालन हुने साना तथा मझौला खालका विकास आयोजना उपभोक्ताहरूको प्रत्यक्ष रेखदेखमा निर्माण वा सञ्चालन गरिदा निश्चय पनि स्वामित्वमा बृद्धि हुन्छ र स्वामित्व बृद्धिले यसको गुणस्तरमा पनि सुधार हुन्छ । हो, उपभोक्ता समितिमार्फत विकास आयोजना निर्माण वा सञ्चालन कार्यलाई अझ बढी प्रभावकारी बनाउन उपभोक्ताको आर्थिक वा श्रम साझेदारीको पक्षलाई बलियो बनाउन जरुरी हुन्छ । यसका लागि उपभोक्ता समितिमार्फत विकास आयोजना निर्माणको सैद्धान्तिक तथा नीतिगत पक्षमा बढी ध्यान दिन आवश्यक हुन्छ ।
उपभोक्ताहरूको सहभागितामा उपभोक्ता समितिहरूसँग वस्तीस्तरमै विकास आयोजनाको निर्माणसम्बन्धी सम्झौता गर्ने अभ्यास वास्तवमै उपलब्धिमूलक हुने छ । स्थानीय तहबाट स्थानीयस्तरमा पारदर्शी ढंगले विकास आयोजना सञ्चालन वा निर्माण गर्नका लागि आम उपभोक्ताको प्रत्यक्ष सहभागिता जरुरी हुन्छ नै । त्यस्तै, उपभोक्ताबाट नियमित रूपमा विकास आयोजनाको निगरानी, रेखदेख तथा मूल्यांकन पनि उत्तिकै आवश्यक हुन्छ । त्यसैले धनगढी उपमहानगरपालिकाले वस्तीमै गएर उपभोक्ताहरूमाझ उपभोक्ता समितिहरूसँग विकास आयोजनाको सम्झौता गर्ने अभ्यासलाई सस्तो लोकप्रियता आर्जन गर्ने एउटा प्रयास मात्रै नबनाएर विकास आयोजनाको निर्माणदेखि मर्मतसम्भार तथा रेखदेखसम्मको दायित्व उपभोक्ता स्वयंले बहन गर्ने ढंगले अगाडि बढाउनेतर्फ ध्यान दिनु पर्दछ । त्यस्तै, उपभोक्ता समितिमार्फत निर्माण भएका विकास आयोजनाको गुणस्तरमाथि उठ्ने गरेका प्रश्न पनि दोहोरिन नपाउन् भनेर तेस्रो पक्ष अनुगमन प्रणालीलाई पनि प्रभावकारी रूपमा लागू गरिनु आवश्यक हुन्छ । त्यसरी नै उपभोक्ता समिति गठनदेखि विकास आयोजना निर्माण प्रक्रियासम्बन्धी कार्यविधि कडाईका साथ पालना गर्ने गराउनेतर्फ पनि ध्यान दिनु पर्दछ । स्थानीयस्तरमा सञ्चालन वा निर्माण हुने विकास आयोजनाप्रति आम उपभोक्ताको स्वामित्व वा लगाव तथा निगरानी बृद्धि गर्न तथा विकास आयोजना निर्माण गर्दा सिर्जना हुने कुनै पनि किसिमका विवाद वा द्वन्द्वको जनस्तरमै निरुपण गर्न र विकास आयोजना निर्माण अथवा सञ्चालन सहज बनाउन यो अभ्यास सहयोगी हुनेमा विमति छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार