११ बैशाख २०८१, मंगलवार

स्टाफ नर्सहरूको सरुवा : स्वास्थ्य सेवा प्रवाह प्रभावित



धनगढी । स्वास्थ्यकर्मीहरूको कमीको समस्या कायमै रहेकोबेला स्वास्थ्य सेवा विभागले सुदूरपश्चिमका विभिन्न जिल्लाबाट १६ जना स्टाफ नर्सहरूलाई अन्य प्रदेशमा सरुवा गरेको छ । एकैचोटी १६ जना स्टाफ नर्सहरूको अन्यत्र सरुवा हुँदा सम्बन्धित जिल्ला वा स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा प्रवाह प्रभावित हुने देखिएको छ ।
स्वास्थ्य सेवा विभागले सोमबार जारी गरेको स्टाफ नर्स सरुवा सूचीमा सुदूरपश्चिम प्रदेशबाट अन्य प्रदेशमा १६ जना स्टाफ नर्सको सरुवा भएको उल्लेख छ । भने अन्य प्रदेशबाट सुदूरपश्चिम प्रदेशमा छ जना स्टाफ नर्सको सरुवा भएको छ । सरुवा गरिएका २० जना स्टाफ नर्समध्ये चार जना सुदूरपश्चिमकै अन्य जिल्लामा सरुवा भएका छन् ।
स्वास्थ्य सेवा विभागले गरेको स्टाफ नर्स सरुवाले सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला स्टाफ नर्सबिहीन बनेको छ । बैतडीमा दुई जना स्टाफ नर्स कार्यरत रहेकोमा दुवै जनाको सरुवा भएको प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
चिकित्सकहरूका अनुसार बिरामी उपचारमा स्टाफ नर्सको भूमिका अहं हुने गर्दछ । “डाक्टरहरूले बिरामीलाई दिनमा एक दुई पटक हेरे पनि बाँकी समय औषधि खान दिने, बिरामीको बेला–बेलामा अवस्था परीक्षण गर्ने लगायतका काम स्टाफ नर्सले गर्ने गर्दछन्” महाकाली अञ्चल अस्पतालका डाक्टर हरि श्रेष्ठले अनुमोदनसँग भने– “तर विभागले आवश्यकताअनुसार स्टाफ नर्सको दरबन्दी आपूर्ति गर्नुको साटो घटाउने काम गरेको छ । यसले गर्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ ।”
त्यस्तै, प्रदेशको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा हाल छ जना मात्र स्टाफ नर्स कार्यरत छन् । उपक्षेत्रीय अस्पतालमा १८ जना स्टाफ नर्सको दरबन्दी रहेको छ । अस्पतालमा कार्यरत छ जना स्टाफ नर्स अध्ययन बिदामा रहेको र थप छ जनाको सरुवा हुँदा सेवा प्रभावमा समस्यामा हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।
“देशभरीनै दरबन्दी अनुसारको सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा कर्मचारीको उपस्थिती छैन्” निर्देशक डाक्टर अवस्थीले भने– “त्यसैमा हचुवाको भरमा सरवा गर्दा सेवा प्रवाहमा समस्या सिर्जना भएको छ ।”
“अहिले स्वास्थ्य सेवा विभागले स्टाफ नर्सको सरुवा गर्दा प्रदेशका विकट जिल्लामा समस्या भएको छ” उनले भने– “कोही जिल्ला स्टाफ नर्सबिहिन बनेका छन् भने कोही जिल्लामा स्टाफ नर्सको संख्या न्युन छ ।” उनले मन्त्रालयले केही समय अघि प्रदेशमा आवश्यकता अनुसार कर्मचारीको पूर्ति गर्ने सम्झौता गरेको स्मरण गर्दै भने– “मन्त्रालयले यस प्रदेशका स्वास्थ्यका कर्मचारीहरू सरुवा नगर्ने र यस प्रदेशमा आउन चाहनेलाई यथाशिघ्र पठाउने छौं भनि सम्झौता गरेको थियो । तर, सहमति उल्लंघन भयो ।”
“यस प्रदेशको स्वास्थ्य सेवामा सुधार ल्याउने प्रयास मन्त्रालयको रहेको छ तर, यसरी स्वास्थ्य संस्थामा कर्मचारी संख्या घटाउँदै जाने हो भने कसरी सम्भव छ” उनले भने– “प्रदेश र स्थानीय तहलाई करारमा कर्मचारी राख्ने अधिकार पनि दिएको छैन ।” उनले एक कर्मचारी खाली हुने वित्तिकै त्यसको ठाउँमा अर्को कर्मचारी राख्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार