१६ चैत्र २०८०, शुक्रबार

निष्ट एलपिएल : सिद्धार्थ र लिटिल फ्लावर सेमीफाईनलमा



धनगढी । धनगढीमा जारी निस्ट लिटिल फ्लावर प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा सिद्धार्थ शिशु सदन र लिटल फ्लावर स्कुल विजयी भएका छन् ।
शनिबारको पहिलो खेलमा सिद्धार्थ शिशु सदनले सरस्वती मावि गेटालाई ३२ रनले पराजित गर्‍यो ।
सिद्धार्थले जितको लागि दिएको १ सय ८८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५६ रनमा सीमित भयो ।
सरस्वतीको लागि हिक्मत सेठीले अविजित ६२, हृदय बिठारीले ४४, कप्तान आयुब चन्दले १३ रन बनाए । बलिङतर्फ सिद्धार्थका प्रतिस जिसीले २ र गजेन्द्र बोहराले १ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिद्धार्थ शिशु सदनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । पहिलो विकेट २ रनमा गुमाएको सिद्धार्थ शिशु सदनको लागि दोस्रो विकेटको रूपमा खडक बोहरा र सुरेन्द्र साउँदले ऐतिहासिक १ सय २३ रनको साझेदारी गरेका थिए । सिद्धार्थ शिशु सदनको लागि ब्याटिङमा खड्क बोहराले अविजित १ सय ३, सुरेन्द्र साउँदले ३७ र कप्तान प्रतिस जिसिले ३२ रनको महत्त्वपूर्ण योगदान दिए ।
आजै सम्पन्न दोस्रो खेलमा लिटल फ्लावर स्कुल धनगढीले क्यास्पियन एकेडेमी धनगढीमाथि १७ रनको जित निकालेको छ । जीतसँगै लिटिल फ्लावर स्कुल धनगढी सेमिफाइनल प्रवेश गरेको छ भने पराजित भएको क्यास्पियन एकेडेमी धनगढी प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावर स्कुल धनगढीले जीतको लागि दिएको १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको क्यास्पियन एकेडेमी धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय २७ रन बनाउन सक्यो । क्यास्पियन एकेडेमी धनगढीको लागि दिनेश अधिकारीले ७२, रोशन अधिकारीले ३० रनको योगदान दिए । बलिङतर्फ लिटिल फ्लावर स्कुलका बिक्रम ठगुन्ना र सागर भण्डारीले समान २/२ तथा शेर मल्ल र सुरज तिरुवाले समान १/१ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावर स्कुलले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रन बनायो । लिटिल फ्लावर स्कुलको लागि ब्याटिङमा शेर मल्लले ३४ तथा कप्तान बिपिन रावलले २२ रनको योगदान दिए । बलिङतर्फ क्यास्पियनको रोशन अधिकारि र निरज रावलले समान ३/३, आकाश चन्दले २ तथा दिनेश अधिकारिले १ विकेट लिएका थिए । शेर मल्ल खेलको म्यान अफ द म्याच भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार